arrow

विशेष अप्रेशन गर्न चीनका सय प्रहरी काठमाडौंमा

गृहको ग्रीन सिग्नलपछि नेपाल झरेका थिए चिनियाँ प्रहरी

logo
प्रकाशित २०७६ पुष ८ मंगलबार
china-haker-nepal.jpg

काठमाडौं। केन्द्रीय अनुसन्धान व्युरो सिआइबीको नेतृत्वमा अपराध अनुसन्धान महाशाखा, महानगरिय प्रहरी परिसर काठमाडौँले काठमाडौका ३ ठाउँबाट १२२ जना चिनियाँ नागरिकलाई आपराधिक गतिविधिमा संलग्न भएको आशङ्कामा सोमबार पक्राउ गरेपछि तरङ्ग पैदा भएको छ।प्रहरीलाई आएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरले जानकारी गराए पनि उनीहरुलाई चिनियाँ प्रहरीले नै सबै सहयोग गरेको उच्च स्रोतले बताएको छ।

उनीहरु ‘एटिएम ह्याकिङ’ लगायतका आपराधिक गतिविधिमा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनीहरुमध्ये कतिपयसँग भिसा समेत नभएको पाइएको छ। उनीहरुको साथबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरु नेेपालबाटै चीनमा अनलाइन जुवा खेलाउने, अनलाइनमार्फत युवतीहरुका अस्लिल भिडियो देखाउने र विभिन्न बैंकबाट एकाउन्ट ह्याक गरेर पैसा निकाल्ने लगायतका आपराधिक गतिविधिमा संलग्न रहँदै आएको बुझिएको छ । 

चीनको युआन प्रान्तलाई मुख्य कार्य क्षेत्र बनाएर चिनियाँ अर्थतन्त्रलाई धरासायी बनाउन चीन बाहिर रहेका चिनियाँहरु सक्रिय रहेको अनुसन्धानबाट खुलेपछि चीन सरकार आक्रामक कार्वाहीमा उत्रिएको हो । 

त्यसअघि फिलिपिन्समा ६०१ चिनियाँ नागरिक पक्राउ परेयता नेपालमा यस्तो गतिविधिमा पक्राउ परेको यो दोस्रो ठूलो घटना हो । 

नेपालमा भने एकैपटक यतिधेरै समूहमा चिनियाँहरु पक्राउ परेको पहिलो पटक भएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । 

यो अप्रेशनको नेतृत्व भने केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख डीआईजी निरजबहादुर शाहीले गरेका थिए । 

शाहीकै कार्यकक्षमा चीनबाट आएका डीआइजी तहकै प्रहरी, दुई एसएसपीसहितका उच्चअधिकारीहरुले समेत केही दिनदेखि नियमित छलफल गरेका थिए । 

चिनियाँ प्रहरीको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरोले सम्पूर्ण सूचना संकलन गरेपछि ब्युरोले अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसरलाई संलग्न गराई विशेष अप्रेशन संचालन गरेको थियो । 

तीन टोली बनाई गरिएको प्रत्येक अप्रेशनमा सिभिलमा रहेका एक चिनियाँ समेत सहभागी थिए । विशेष अप्रेशन गर्न चीनका सय प्रहरी काठमाडौंमा रहेको नेपाल प्रहरीको उच्च स्रोतले बताएको छ ।    

सुरुआतमा चिनियाँ दूतावासका कर्मचारीको सहभागीता रहेको भनिए पनि चीनबाटै चिनियाँ प्रहरी आएर अप्रेशन गरिएको हो । यसमा आईटी विभागका प्रहरीहरु बढी थिए प्रहरी स्रोतले बतायो ।

चिनियाँ नागरिकबाटै आफ्नो अर्थतन्त्रलाई कमजोर बनाउने विश्लेषण भएपछि चीन सरकारले अन्य छिमेकी राष्ट्रहरु फिलिपिन्स, मलेसिया, कम्बोडिया, लाओस, इन्डोनेसिया लगायतमा देशमा समेत यस्तै किसिमको अप्रेशन गर्न त्यहाको सरकारलाई आग्रह गरेेको चिनियाँ अधिकारीहरुसंग संलग्न नेपाल प्रहरी निकट स्रोतले बताएको छ । 

ती देशका सरकारलाई समेत उनीहरुका आपराधिक गतिविधि नियन्त्रण गर्न चीन सरकारले आग्रह गरिएको बताइएको छ । नेपालमा समेत चीन सरकारले आफ्नो दूतावास मार्फत सहयोगका लागि गृह मन्त्रालयलाई आग्रह गरेको थियो । 

गृहमन्त्रालयले सो आग्रहलाई स्वीकार्दै सहयोग गर्ने बचन दिएपछि यो विशेष अप्रेशनका लागि चीनबाट सयको संख्यामा प्रहरी अधिकारीहरु काठमाडौं झरेका थिए । 

नेपालमा ठूलो संख्यामा चिनियाँ आपराधिक गतिविधिममा संलग्न व्यक्तिहरु विभिन्न लगानीको वातावरण बनाउने भन्दै आएर नेटवर्कजन्य ठगी तथा आपराधिक काममा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

यिनीहरु जुन देशमा जान्छन् त्यो देशलाई मात्र हैन चीनलाई समेत खतरा रहेकाले पनि कार्वाही गर्नका लागि चिनियाँ प्रहरीले नेपालमा खोजवीन थालेको हो । 

यसअघि बैंकका एटिएम ह्याक गरी ठूलो परिमाणमा चिनियाँ ह्याकरहरुले नेपालबाट रकम हिनामिना पारेका थिए । ती समूहका केही ह्याकरहरुले अझै पनि नेपाल नछाडेको प्रहरी स्रोत बताउँछ। अर्को एक स्रोतका अनुसार काठमाडौं बाहिरी शहरलाई समेत उनीहरुले निशाना बनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ