arrow

क्षमता ३५ को बसाई १४८ को 

logo
प्रकाशित २०७६ पुष ८ मंगलबार
Tanahu-hamrakura.jpg.jpeg

तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला कारागार परिसरमा निर्माण गरिएको बन्दीगृह बजेट अभावका कारण हस्तान्तरणमा ढिलाइ भएको छ । उक्त भवनको जिम्मा ऋषि शक्ति बिल्र्डस एण्ड इञ्जिनीर्यस प्रालि डुम्रेले सम्झौताअनुरुप मङ्सिर १५ गते निर्माण सम्पन्न गरे पनि भुक्तानी हुन नसकेका कारण भवन हस्तान्तरण गर्न नसकिएको हो । 

हस्तान्तरण नहुँदा ३५ क्षमताको कारागारमा हाल १४८ जना कैदीबन्दी बस्न बाध्य रहेका छन् । उनीहरुलाई सुत्न र शौचालय जान समस्या भएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए । उक्त भवनको कारागार व्यवस्था विभागबाट समेत अनुगमन भइसकेको छ । उनले भने, “भुक्तानी प्रक्रिया लम्बिएका कारण बन्दीगृह सञ्चालनमा ढिलाइ भएको हो ।”

कार्यालय भवन, सुरक्षा ब्यारेक र महिला बन्दीगृह गरी तीन भवन मूल्य अभिवृद्धि कर बाहेक रु छ करोड ४४ लाख लागतमा निर्माण गरिएको हो । असी जना क्षमताको उक्त बन्दीगृह सुविधासम्पन्न रहेको छ । दुई तलाको उक्त भवनमा पुस्तकालय, भान्छाघर, डाइनिङहल, सोलारको व्यवस्था, एक गोलघर, चिसोतातो पानीले नुहाउने व्यवस्था, तीन सुरक्षाचौकीलगायका व्यवस्था रहेका छन् ।  भवन आउँदो माघ १ गतेबाट सञ्चालन गर्ने गरी तयारी भइरहेको सूचना अधिकारीले जानकारी दिए ।
 
सम्झौताअनुरुपको बजेट व्यवस्थापन हुन नसक्दा भवन निर्माणकार्य सम्पन्न भए पनि हस्तान्तरणमा ढिलाइ भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) गोरखाकी डिभिजन इञ्जिनीयर सुनिता श्रेष्ठले जानकारी दिइन् । निर्माण व्यवसायीलाई एक हप्ताभित्र भुक्तानी गर्ने भनिए पनि विभागबाट बजेट आउन ढिलाइ भएका कारण समस्या भएको उनले बताए ।

कैदीबन्दी हिडेर अस्पताल जान बाध्य 

कारागारमा स्वास्थ्य दरबन्दी रिक्त हुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत अहेब सक्षम घिमिरेको समायोजना भई म्याग्दे गाउँपालिका सरुवा भएपछि असोजदेखि कैदीबन्दीको उपचारमा समस्या भएको हो । 

स्वास्थ्य दरबन्दी रिक्त हुँदा सामान्य बिरामीलाई पनि दमौली अस्पतालमा लैजानुपर्ने अवस्था रहेको छ । कारागारका सूचना अधिकारी अधिकारी उनले भने, “कार्यालयमा गाडीको सुविधा नहुँदा कैदीबन्दीलाई हिँडाएर हत्कडी लगाएर सुरक्षाकर्मीको साथमा पठाउनुपरेको छ ।” 

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी रहेकाले (प्यासेज) गल्ली–गल्लीमा कैदीबन्दीलाई सुताउनुपरेको कारागारका चौकीदार बिष्णुहरि घिमिरेले बताए । निर्माण सम्पन्न बन्दीगृह छिटो हस्तान्तरण भए कैदीबन्दीलाई सुत्न सहज हुने थियो । उनले भने, “चिसो मौसममा उनीहरुले कठिनाइ भोग्नुपरेको छ ।” 

सीपमूलक तालीमको अपेक्षा
 
जिल्ला कारागारमा १४८ कैदीबन्दीमध्ये करीब ७०÷७५ ले मेहेनतका साथ मुढा बुन्नेलगायतका काम गरी राम्रो आम्दानी गर्दै आएका छन् । मुढा बुनेर मासिक रु सात–आठ हजारसम्म घर खर्च पठाउने गरेको उनले जानकारी दिए । उनले भने, “अन्य तालीमको व्यवस्था भइदिए अझ राम्रो कमाइ गर्न सकिने थियो ।” चाडपर्वको समयमा पनि सोचेअनुरुपको मुढा बिक्री नभएको उनले गुनासो पोखे । निर्माण गरिएका करीब २०० मुढा अझै मौजाद छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ