arrow

फुर्सदमा केरा र सुन्तला

logo
प्रकाशित २०७६ पुष ८ मंगलबार
kera-kheti.jpg

गलकोट । अधिकांश विद्यालयका विद्यार्थीले कक्षामा पढाइ नहुँदा समय कसरी बिताउँछन् होला ? सायद धेरै सामुदायिक विद्यालयका विद्यार्थीले साथीभाइसँग खेलेर वा आपसमा रमाइलो गर्दै समय काट्छन् होला । तर, बागलुङको नगरपालिकास्थित सिगाना माध्यमिक विद्यालय तित्याङका छात्र–छात्रा खेलेर होइन, व्यवहारिक सीप सिक्न व्यस्त छन् ।  विद्यालयले एक वर्षदेखि विद्यार्थीको फुर्सदको समयलाई व्यवहारिक अभ्यासमा परिचालन गराएको छ । 

उनीहरु कक्षामा शिक्षक अनुपस्थित हुँदा र  खाजा खाने समयलाई सदुपयोग गर्दै विद्यालय वरपर केरा र सुन्तला खेती गर्न थालेका छन् । विद्यार्थी हिजोआज फुर्सद हुने बित्तिकै काममा व्यस्त हुने  र  खाली जग्गामा सामूहिक रूपमा केरा र सुन्तला खेती गर्ने गरेको विद्यालयले जनाएको छ ।  

विद्यार्थी आपसमा मिलेर फलफूल खेतीमा जुटेपछि शिक्षक र उनीहरूका अभिभावकसमेत दङ्ग परेका छन् । फलफूल खेतीको नेतृत्व विद्यालयमा गठित सूर्योदय बाल क्लबले लिएको छ । विद्यालयको पाँच रोपनी जग्गामा ४०० बोट केरा र ४० बोट सुन्तला लगाएको सूर्योदय बाल क्लबकी अध्यक्ष अनुष्का केसीले जानकारी दिइन् । 

“हामीले धान, मकैलगायतका खाद्य बालीको अभ्यास र सिकाइ त घरमा पनि गरेको थियौँ”,उनले भनिन्, “नगदेबालीका रुपमा रहेको सुन्तला र केरा खेती कसरी गर्ने भन्ने सिकाइ र यसको व्यावसायिकताबारे राम्रो ज्ञान र सिकाइ प्राप्त भएको छ ।”

विसं २०६७ मा  आर्थिक स्रोत जुटाउनका विद्यालयले लगाएको धनधान्याञ्चल महायज्ञमा शिक्षाप्रेमीले आसपासको २३ रोपनी जग्गा  निः शुल्क दान गरेका थिए ।  जग्गाको सदुपयोगसहित व्यवहारिक शिक्षाको अभ्यास थालिएको विद्यालयका प्राचार्य गोपालकुमार शर्माले जानकारी दिए ।

जग्गादाताले उर्वर मानिने खेत र बारी विद्यालयलाई प्रदान गरेपछि विद्यालयले जग्गा सदुपयोग गर्दै व्यवहारिक शिक्षासमेत अभ्यास गराउन थालेको हो । विगतमा त्यत्तिकै खेर गएको विद्यालयको जग्गा अहिले केरा र सुन्तला खेतीका कारण हरियाली बनेको छ । 

एक वर्षअघिदेखि विद्यालय परिसरमा रहेको तीन रोपनी जग्गामा केरा खेती र सिगानाको सातमुरेस्थित दुई रोपनी बारीमा सुन्तला खेती गरिएको उनले जानकारी दिए । उनले भने “परीक्षणका लागि पाँच रोपनी जग्गामा केरा र सुन्तला खेती गर्न थालेका छौ। विगतका वर्षमा तरकारी खेती पनि गरेका थियौँ, लामो समय बिदा हुँदा तरकारी उत्पादनमा समस्या भएपछि फलफूल खेती थालेका हौँ ।”

“विद्यार्थीले स्कूलमा आएर किताबको ज्ञान मात्र नभई फलफूल फलाउनसमेत सिक्दैछन्”, व्यवहारिक शिक्षणको नेतृत्व गराइरहेका लक्ष्मण खड्काले भने, “प्रयोगात्मक शिक्षाले विद्यार्थीले घरमा पनि फलफूल खेती गर्न सहयोग मिल्नेछ ।” अबदेखि विद्यार्थीलाई प्रयोगात्मक विषयको नम्बर फलफूल खेतीमा गरेको कामका आधारमा दिइने विद्यालयले जनाएको छ । 

विद्यालयका कक्षा ४ देखि १० मा अध्ययनरत सबै विद्यार्थीले अहिले पालैपालो केरा र सुन्तला खेतीको स्याहारसुसारमा समय दिने गरेका छन् । विद्यालयले खेलकूद मैदानबाहेकको अन्य जग्गामा समेत सुन्तला खेती विस्तार गर्ने लक्ष्य लिएको छ । 

विद्यालयले कक्षा ९ र १० मा कृषि प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्ष्य लिएको छ । विद्यालयमा हाल बाल विकासदेखि कक्षा १२ सम्म ३८५ विद्यार्थी अध्ययनरत छन् । विद्यालय जिल्लाकै गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयका रूपमा चिनिँदै आएको छ । गाउँका सरकारी स्कूल खाली हुने अवस्थामा पनि यस विद्यालयप्रतिको आकर्षण बढ्दो क्रममा रहेको स्थानीयवासी बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ