arrow

बहिनी भेट्न गएका दाजु खोलामा मृत भेटिए, दुई पक्राउ

logo
प्रकाशित २०७६ पुष ११ शुक्रबार
dead2.jpg

जुम्ला । चन्दननाथ नगरपालिका–३ डाँडाकोट गाउँका ५० वर्षीय परबहादुर कामीको हत्या आशङ्कामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुठीचौर गाउँपालिका–३ गज्याङकोटका २८ वर्षीय दल रावत र सोही गाउँपालिका–५ का २३ वर्षीय उपेन्द्र भण्डारीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो ।

“नियन्त्रणमा लिएकाहरु र मृतक कामीबीच केही दिनअघि वादविवाद भएको पाइयो”, प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले भने “घटनाको अनुसन्धान भइरहेको छ ।”

परबहादुरको शव गुठीचौर गाउँपालिकाको झारज्वाला नजिकैको खोलामा प्रहरीले बिहीबार फेला पारेको थियो । बहिनी भेट्न गुठीचौरको गज्याङकोट पुगेका उनी मृत अवस्थामा भेटिएका हुन् । मृतकको अनुहारमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक चन्दले बताए ।

छोरा हराएको भन्दै परबहादुरका बुबा प्रहरीकोमा खोजिदिनका लागि आग्रह गर्न आएपछि प्रहरीले खोजी कार्य थालेको थियो । मृतकका आफन्तले भने घटना रहस्यमय भएको भन्दै अनुसन्धान गरेर दोषीमाथि कारबाहीका लागि प्रहरीसमक्ष माग गरेका छन् । मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा परीक्षणका लागि ल्याएको प्रहरीले जनायो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ