arrow

वडालाई वाइपास गर्दै दिक्तेलका मेयरले बनाए समानान्तर उपभोक्ता समिति

नेकपाका कार्यकर्तालाई पोस्न समिति बनाएको भन्दै बिरोध

logo
प्रकाशित २०७६ पुष १७ बिहिबार
diktel-nagarpalika-birodh.gif

खोटाङ। आफ्नो अनूकुलको व्यक्तीलाई उपभोक्ता समितिमा राख्ने मनसायले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा सञ्चालन गर्न लागिएको भुते जिरो किलोबाट आयुर्वेद कार्यालयसम्मको एकीकृत वस्ती विकास तथा पुर्वाधार निर्माण योजनाको दुई वटा उपभोक्ता समिति गठन गरिएको पाइएपछि स्थानियमा अन्यौल छाएको छ । 

संघीय आयोजना कार्यान्वयन ईकाई बिराटनगरबाट प्राप्त ३० लाखको सो योजनाका लागि पुस ९ गते भवप्रसाद आचार्यको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति तथा मंसिर ६ गते युवराज आचार्यको अध्यक्षतामा ५ सदस्यीय अर्को उपभोक्ता समिति गठन भएको पाइएको हो । 

योजनाको उपभोक्ता समिति गठन, सम्झौता लगायतका प्रकृयाका लागि संघीय आयोजना कार्यान्वयन ईकाई बिराटनगरले मंसिर २३ गते नगरपालिकालाई पत्राचार गरेको थियो । वडाध्यक्ष टंकप्रसाद आचार्य र वडासचिव पवित्रा तिम्सिनाको उपस्थितिमा भएको भेलाले भवप्रसाद आचार्यको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको थियो । 

यस्तै, नगरकार्यपालिका सदस्य रमेश परियार, नगरपालिकाका प्रतिनिधि सिताराम खतिवडाको उपस्थितिमा भएको भेलाले युवराज आचार्यको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको पाइएको छ । नगरपालिकाको पत्र अनुसार उपभोक्ता समिति गठन गरेर सम्झौताका लागि नगरपालिकामा पुग्दा अर्को उपभोक्ता समिति गठन भएको जानकारी दिइएको वडाध्यक्ष टंकप्रसाद आचार्यले जानकारी दिए । 
‘उपभोक्ता समिति गठन गर्नका लागि मंसिर ३० गते नगरपालिकाबाट पत्र प्राप्त भयो । सोही अनुशार हप्ता दिनको अवधि राखेर उपभोक्ता समिति गठनका लागि सोही दिन सूचना आव्हान गर्‍यौँ र पुस ९ गते भेला गरेर उपभोक्ता समिति गठन गर्‍यौँ,’ वडाध्यक्ष आचार्यले भने, ‘योजना सम्झौताका लागि भवप्रसाद आचार्य अध्यक्ष रहेको उपभोक्ता समितिलाई पुस ११ गते वडाबाट सिफारिस लिएर नगरपालिका पठायौँ तर नगरपालिकाले युवराज आचार्य अध्यक्ष रहेको उपभोक्ता समितिलाई सिफारिस दिइसकेको रहेछ ।’ 

नगरपालिकाले युवराज आचार्य अध्यक्ष रहेको उपभोक्ता समितिलाई पुस ९ गते नै सम्झौताका लागि संघीय आयोजना कार्यान्वयन ईकाई बिराटनगर समक्ष सिफारिस दिइसकेको पाइएको छ । सम्झौताका लागि नगरपालिका पुग्दा अर्कै उपभोक्ता समितिलाई सम्झौताका लागि सिफारिस दिइसकेको पाइएपछि भवप्रसादको अध्यक्षतामा गठित उपभोक्ता समितिले वडा कार्यालयमा ताला लगाउने धम्की दिएपछि वडाध्यक्ष आचार्यले बुधबार साँझ पत्रकार सम्मेलन गरेका थिए । 

आयोजनाका बारेमा संघीय आयोजना कार्यान्वयन ईकाईले नगरपालिकालाई पत्राचार गर्नु अगावै किर्ते उपभोक्ता समिति गठन गर्ने र योजना दिलाउने खेल भएको वडा सदस्य प्रकाशकुमार श्रेष्ठले बताए । ‘युवराजको अध्यक्षतामा मंसिर ६ गते उपभोक्ता समिति गठन भएको देखिन्छ, जवकी योजनाको उपभोक्ता समिति गठन गर्न र सम्झौता गर्नका लागि मंसिर २३ गते नगरपालिकालाई पत्र प्राप्त भएको थियो,’ श्रेष्ठले भने, ‘योजना सञ्चालनका क्रममा नगरपालिकाबाट वडालाई पूर्णरुपमा बेवास्ता गर्ने काम भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईको यो घटनामा ठूलो कमजोरी भेटिएको छ । उनले विधी र प्रकृया अनुसार काम गरेको भेटिएन। वडालाई उपभोक्ता समिति तत्काल निर्माण गर्ने भनेर आफ्नै हस्ताक्षरमा पत्र पठाएका प्रसाईले सो मिति भन्दा अगावै बनेको उपभोक्ता समितिलाई कसरी पूर्णता दिन सके रु यो गम्भिर विषय बनेको छ । यो राम्रो नियतले भित्रभित्रै अर्को उपभोक्ता समिति गठन गरिएको होईन ।’ 

अर्कोतर्फ युवराजको अध्यक्षतामा बनाइएको उपभोक्ता समितिमा रहेकी कोषाध्यक्ष हिरा आचार्यले आफ्नो किर्ते हस्ताक्षर गरेर समितिमा राखेको भन्दै बुधबार वडा कार्यालयमा उजुरी दिएकी छन् । उपभोक्ता समितिमा आफ्नो मान्छे राख्ने र लाभ लिने प्रबृत्ति नौलो होईन । एउटै योजनामा दुई–दुई वटा उपभोक्ता समिति गठन गर्नुको भित्रि नियत पनि असल देखिन्न । ‘राजनैतिक आस्थाका हिसावले उपभोक्ता समिति गठन गर्दा दुई वटा उपभोक्ता समिति बन्न पुगेको हो,’ श्रोत भन्छ, ‘भवप्रसादलाई कांग्रेस र युवराजलाई नेकपाको समर्थन रहेको पाईएको छ ।’ 

उपभोक्ता समिति गठनकाक्रममा समस्या आएपछि तत्कालका लागि सम्झौताको काम रोकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । उनले भने, ‘उपभोक्ता समिति गठनकाक्रममा दुवैपक्षको कमजोरी छ,’ मेयर रिजालले भने, ‘समस्या आएपछि सम्झौताको काम रोकेका छौँ । भेला बोलाएर दुबै उपभोक्ता समितिलाई मिलाएर अर्को उपभोक्ता गठनको काम हुन्छ । यो ठूलो विषय होईन ।’ यतिवेला वडा कार्यालयको नेतृत्वमा स्थानीयवासी र नगरपालिकाबीच छलफल भईरहेको बताइएको छ । नगरपालिकाको कार्यालयमा छलफल भइरहँदा सुरक्षा व्यवस्थालाई कडा बनाईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ