arrow

कपिलवस्तुबाट मुवारक खानको अपहरण, अज्ञात समुहले पुर्यायो भारत

logo
प्रकाशित २०७६ पुष २० आइतबार

कपिलवस्तु। नेपाल भारत सीमाको बजार मर्यादपुरबाट एक नेपालीको अपहरण भएको छ । यशोधरा गाउँपालिका–८, मटेरियाका अन्दाजी ४२ बर्षका मुवारक खानलाई अज्ञात समुहले शनिबार दिउँसो यशोधरा गाउपालिका–७, मर्यादपुर चोकबाट अपहरण गरि भारततर्फ लगेको हो । 

मर्यादपुर चोकमा बसीरहेको अवस्थामा अज्ञात समुहले युपी ५५ एस ०१०१ नम्बरको सेतो रंगको स्कोर्पियो गाडीमा राखेर मर्यादपुर सिमा नाका हुँदै भारत लगेको स्थानीय प्रत्यक्षदर्शीले बताए । 

उक्त युपी ५५ एस ०१०१ नम्बरको सेतो रंगको स्कोर्पियो गाडी बिहान ११.४४ बजे सुठौली भन्सार कार्यालयबाट रु ५ सय तिरी २०७६ पौष १९ गते १ दिनकोलागी भन्सार गराएको भन्सारको रेकर्डमा भेटिएको छ । सो गाडी भारत उत्तर प्रदेश जिल्ला सिद्धाथनगरको दयान्नद उपाध्यायको नाममा रहेको प्रहरी स्रोतको भनाई छ। 

पिडीतको दाई असलम खानले भाईलाई सुरक्षित घर फर्काइदिने पहल गर्न मानवअधिकारकर्मी, संचारकर्मी, नागरिक समाजसँग अनुरोध गरेका छन्। घटनापछि मर्यादपुर चोकमा आक्रोशित स्थानियले बाटोमा जेसीबी राखी बाटो जाम गरेका थिए। 

प्रहरीले खोजी कार्य तिब्र गतीमा बढाएको उल्लेख गर्दै खोजमा स्थानियको सहयोगको आवश्यक्ता भएकोले सहयोग गर्न आग्रह समेत गरेको छ। प्रहरीको आग्रहमा र बटुवाको समस्यालाई मध्य नजर गरि बाटो खोलिएको प्रहरीले जनाएको छ ।   

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता नायव उपरीक्षक सुनिल मल्लले भने, ‘यसबारे भारतीय प्रहरीसँग सोध्ने काम भइरहेको छ ।’ 

सीमाको मर्यादपुर प्रहरी चौकी र बिओपी डंगरीको सशस्त्र प्रहरीको रोकावटलाई छल्दै खानलाई दशगजा कटाइएको थियो। उनको खोजी कार्य तिब्र रुपमा भैरहेको मल्लले बताए । 

मुबारक मर्यादपुर नाका नजिक भारतको खुनुवा भन्ने ठाँउमा अब्दुल अटो पार्ट नामक पसल गर्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ