arrow

८५ लाख रुपैयाँ चलखेलमा पत्रकार कुटे मेयरले, महासंघको आपत्ति

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष २२ मंगलबार

जनकपुरधाम । प्रतिक्रिया लिन गएका सञ्चारकर्मीलाई जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहकै कार्यकक्षमा कुटपिट गरिएको छ। समाचार संकलन गर्न गएका पत्रकारमाथि मेयरकै कार्यकक्षमा कुटपिट गरिएको हो । मेयर साहकै नेतृत्वमा घटना भएका पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल कुमार मिश्रले बताए ।

कान्तिपुर टेलिभिजन संवाददाता अमरकान्त ठाकुर, देशसञ्चार डटकमका संवाददाता राजा झा, सहित ६ जना पत्रकारहरुमाथि कुटपिट भएको हो। कुटपिटबाट कान्तिपुर टेलिभिजनका संवाददाता ठाकुरलाई टाउकोमा गम्भीर चोट लागेको छ । मेयर र उनका सहयोगीहरुले पत्रकारमाथि हेल्मेटले र प्लाष्टिकको पाइपले आक्रमण गरेका थिए ।

‘पत्रकारहरु मेयरको प्रतिक्रिया लिन उनको कार्यकक्षमा गएका थियौँ, अचानक आक्रमण भयो', कान्तिपुर टिभीका सम्वाददाता ठाकुरले भने ।

सो घटनामा पत्रकार सुमित मिश्रलाई पाइप र हेलमेटबाट पिठ्युमा पछाडि कुटेका र क्यामरा, मोबाइल समेत मेयरका गुन्डाहरुले खोसेको पिडित पत्रकार मिश्रले बताए। मिश्रको पिठ्यूमा पाइपले हानेको डाम नै बसेको छ। घटनामा पत्रकार सुभाष कर्णको छातीमा चोट लागेको, एपि वनका पत्रकार विकास साह, क्यामराम्यान सत्रुघ्न यादव घाइते भएका छन् ।

घटनापछि नेपाल पत्रकार महासंघ धनुषाले आकस्मिक बैठक गर्दै घटनाको भत्सर्ना गरेको छ ।  बैठकपछि पत्रकार महासंघ धनुषाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘ पत्रकारलाई तीन घण्टा कुराएर प्रतिक्रिया लिने क्रममा मेयर साहले मिडिया आतंक मच्चाएको भन्दै पत्रकारहरुमाथि कुटपिट गर्ने कार्य अत्यन्त लज्जास्पद र आपत्तिजनक रहेको छ।'

सूचनाको हक, सम्बन्धित विषयमा प्रतिक्रिया दिन आलटाल गर्ने तथा पत्रकारलाई घण्टौं कुराएर कुटपिटको विषयमा समन्वयनका लागि पुगेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल कुमार मिश्र सहितका पत्रकारलाई पुनः सांघातिक आक्रमण गराउनु निन्दनीय भएका महासंघको भनाइ छ।

विगत केहि दिनदेखि पत्रकारहरुले जानकी मन्दिरको फुलबारीको भित्ता भत्काएको विषयमा समाचार निरन्तर लेखेको र रकम चलखेलको आधारमा फूलवारीको जग्गा अतिक्रमण गरेको तथा नापी सर्वेक्षण टोलीले समेत जग्गा अतिक्रमण भएको ठहर गरिसकेको आरोप लाग्दै आएको विषयमा पत्रकारहरु मेयरसंग प्रतिक्रिया लिन जाँदा आक्रमणमा उत्रिनु तथा मोबाईल, क्यामरा खोस्नु र कुटपिट गराउनु लज्जास्पद भएको पनि जारी विज्ञप्तीमा उल्लेख छ।

पत्रकार माथि कुटपिट सहितको दुव्र्यवहारले प्रेस स्वतन्त्रतामाथिको नांगो हस्तक्षेप र शासनसत्ताको नांगो नाच रहेको प्रष्ट देखिएको विज्ञप्तीमा उल्लेख  छ ।

सडक निर्माणको क्रममा निजी घर बचाउन ८५ लाख रुपैयाँ चलखेल गरी जानकी मन्दिरको फुलबारी अतिक्रम गरेको घटना प्रमाणित भएर नाङ्गिने अवस्था सृजना भएपछि मेयरले नियोजित रुपमा पत्रकारहरुमाथि कार्यकक्षमै कुटपिट गराएर तर्साउन खोजेका छन । मेयरको कार्यक्षमा जडान भएको सीसीटिभी फुटेज सुरक्षित रहे, एक एक कुरा बाहिर आउने दावी पत्रकारहरुले गरेका छ्न्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ