arrow

मुस्ताङमा होमस्टे

logo
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
homestay.jpg.jpeg
मुस्ताङ । जिल्लाको जोमसोम–१, २ र ३ ठिनी गाउँमा पहिलो पटक होमस्टे (घरबास) सुरु भएको छ । जिल्ला विकास समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीयवासीको सक्रियतामा पहिलो चरणमा चार घरमा होमस्टे सेवा प्रारम्भ गरिएको हो । सदरमुकाम जोमसोमसँग जोडिएको ठिनी गाउँका स्थानीयवासीलाई एक्यापले होमस्टे सञ्चालनसम्बन्धी तालिम दिएपछि सो सेवा सुरु गरिएको हो । 
 
धार्मिकस्थल, फरक भू–बनोट, तिब्बती कला संस्कृतिको अध्ययन र अनुसन्धान तथा लोमान्थाङ भ्रमणका लागि यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउन होमस्टेले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । गाउँ मुखिया आशबहादुर थकाली, ममिता थकाली, मनदेवी थकाली र बदी थकालीले सुरु गरेको होमस्टेमा काठमाडौँबाट १६ जना आन्तरिक पर्यटक पुगेको स्थानीयवासी नीरज थकालीले जानकारी दिए । 
 
“थकाली संस्कृतिको प्रारम्भ यही गाउँबाट भएको भन्ने इतिहास छ, सदरमुकाम नजिक हुँदा पर्यटकलाई होमस्टेमा ल्याउन समस्या छैन,” थकालीले भने – “अन्य घरले पनि होमस्टे सुरुवात गर्दैछन् ।” एक सय घरधुरी रहेको उक्त गाउँमा करिब २० घरले होमस्टे सञ्चालनको तयारी गरिरहेका छन् । 
 
धुम्बाताल, ह्यारोजो भ्यूपोइन्ट, तिलिचो ताल जाने मुख्य मार्ग, उच्च स्थानमा अवस्थित भएकाले नीलगिरि र धवलागिरि हिमालको प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले ठिनीगाउँमा अन्य समयमा पनि नियमित रुपमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । भ्यू पोइन्टबाट कोरला नाकासहित जिल्लाको ८० प्रतिशत भू–भाग देख्न सकिन्छ । 
 
मुस्ताङमा लेतेदेखि लोमान्थाङसम्म करिब ३०० साना–ठूला होटल सञ्चालनमा छन् । एक्यापका पर्यटन सहायक बेलबहादुर पुन होमस्टेको विकासका लागि विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिने बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ