arrow

इरानसँग युद्ध भए कस्ता हुनेछन् प्रयोग हुने अमेरिकी हतियार ?

logo
एजेन्सी,
प्रकाशित २०७६ पुष २६ शनिबार
us-high-tech-weapen.jpg

काठमाडौं। पछिल्लो केही दिनयता अमेरिका–इरानको तनाव उत्कर्षमा पुगेको छ। यस्तोमा उनीहरुको बीचमा युद्ध पनि शुरू हुनसक्ने आशंका गरिँदै आएको छ। यस्तो अवस्थामा कुन मुलुकसँग कति हतियार छ भन्ने विषयमा चर्चा परिचर्चा पनि शुरु भइसकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै अमेरिकाको विरुद्धमा कुनै पनि कदम चालेको खण्डमा इरान ध्वस्त हुने चेतावनी दिएका थिए। ट्रम्पको यो भनाइबाट नै युद्ध भएको खण्डमा अमेरिकासँग निकै खतरानक हतियार रहेको स्पष्ट हुन्छ। यहाँ इरानसँग युद्ध भए अमेरिकाले प्रयोग गर्नसक्ने हतियारबारे उल्लेख गरिएको छ– 

एफ–२२ र्‍याप्टर
इरानमाथिको आक्रमणका लागि अमेरिकाले युद्धको अवस्था आए एफ–२२ र्‍याप्टरको प्रयोग गर्न सक्छ। सन् २०१३ देखि इरानले अमेरिकी जासुसी ड्रोनमाथि आक्रमण शुरु गरेसँगै अमेरिकाले त्यसको जवाफ एफ–२२ र्‍याप्टरबाट दिँदै आएको छ। यसको एक महत्वपूर्ण कारण इरानसँग भएको अमेरिकाले निर्माण गरेको एफ–४ फन्टोम फाइटरले पाँचौं पुस्ताको एफ–२२लाई जित्न सक्दैन। त्यसैले पनि अमेरिका एफ–२२ को प्रयोग गरी इरानलाई कमजोर पार्न सक्छ। एफ–२२ को प्रयोग विभिन्न किसिमको मिसनका लागि प्रयोग गर्न सकिन्छ। जसमा जमिनको आक्रमण, विद्युतीय आक्रमण र गुप्तचर सूचना संकलनका लागि पनि प्रयोग गर्न सकिन्छ। त्यसबाट अमेरिकालाई इरानमाथिको आक्रमणमा निकै फाइदा पुग्नसक्छ। 

बी–२ स्टिल्थ बम्बर
अमेरिकालाई इरानको आणविक हतियारबाहेक अन्य कुनै पनि कुरामा डर छैन। त्यसैले अमेरिकामा जुन राष्ट्रपति आए पनि इरानको आणविक हतियारको विषयमा कुरा गर्ने गरेका छन्। त्यतिबेला उनीहरुले यसका लागि इरानमाथि कारबाहीको सबै विकल्प खुला राख्ने गरेका छन्। त्यस्तोमा अब इरानसँग युद्ध भएको खण्डमा अमेरिकाको पहिलो प्राथमिकता उसको आणविक कार्यक्रम ध्वस्त पार्नु रहनेछ। यस्तोमा अमेरिकाले बी–२ स्टिल्थ बम्बरको प्रयोग गर्न सक्छ। इरान भौगोलिक हिसाबमा पनि निकै सुरक्षित स्थानमा छ। यो मुलुक छिमेकी इराकभन्दा तीन गुणा ठूलो छ। यसको क्षेत्रफल झण्डै पश्चिम यूरोपको बराबर छ।

त्यसमा पनि उसको प्रमुख आणविक कार्यक्रम र महत्वपूर्ण सैन्य अखडा मुलुकको केन्द्रमा छ। यस किसिमका क्षेत्र महत्वपूर्ण सहरको नजिक छन्। त्यसैले यो क्षेत्रमा अमेरिकाले आफ्नो निशाना साँध्न सक्छ। त्यसका लागि उसले बी–२ टिल्थ बम्बरको प्रयोग गर्न सक्छ। यो विश्वको सबैभन्दा सुरक्षितरुपमा आक्रमण गर्नसक्ने विमान हो। यसले उल्लेख्य क्षेत्रमा निकै तीव्र गतिमा गएर आक्रमण गर्न सक्छ। इरानसँग अहिले भएको सुरक्षा प्रणालीले पनि यसलाई भेदन गर्न निकै कठिन छ। बी–२ स्टिल्थ बम्बरले उल्लेख्य मात्रामा तौल पनि बोक्न र सम्बन्धित स्थानमा पुर्‍याउन पनि सक्छ। साथै जुनसुकै मौसममा पनि यो विमान जान सक्छ। त्यसैले पनि युद्धमा यो विमान महत्वपूर्ण हुनसक्छ।

जीबीयू–५७ ए-बी
यो विमानको प्रयोग पनि अमेरिकाले गर्न सक्छ। निकै कठिन क्षेत्रमा पनि यसले राम्रोसँग काम गर्ने भएकाले भौगोलिक अवस्था अनुसार यसको प्रयोग अमेरिकाले गर्नसक्ने विश्लेषकहरुले बताएका छन्। विशेष गरी यो विमानको प्रयोग हवाई–समुद्री आक्रमणको लागि प्रयोग भइसकेको छ। त्यसले पनि यो विमानको प्रयोग हुनसक्ने बताइएको हो। यसमा उल्लेख्य मात्रामा विष्फोटक पदार्थ ओसारपसार गर्न सकिन्छ। 

यसमा ५ हजार ३ सय पाउण्ड तौलसम्मको विष्फोटक पदार्थ ओसारपसार गर्न सकिन्छ। साथै, यसको प्रयोग गरेर जमिनभन्दा २ सय फिट मुनिसम्मको अन्डरग्राउण्ड पनि विष्फोट गर्न सकिन्छ। यसले भूमिगत बनाइएको निशानामा पनि आक्रमण गर्न सक्छ। 

एम्फिबियस कम्ब्याट भेइकल
न्युक्लियर हतियारको साथै अमेरिकाको लागि इरानसँगको अर्को डर उसको भौगोलिक अवस्था नै हो। उसले आफ्नो सबैभन्दा नजिक रहेको विश्वको सबैभन्दा व्यस्त रुट स्टेट अफ हर्मुजको माध्यमबाट यो क्षेत्रमा अमेरिकाको विरुद्धमा गतिविधि गर्न सक्छ। यसले अमेरिका समस्यामा पर्न सक्छ। त्यसैले इरानलाई यो क्षेत्रको गतिविधिमा रोक्न अमेरिकाले एम्फिबियस कम्ब्याट भेइकल्सको प्रयोग गर्न सक्छ। त्यसका लागि अमेरिकाले इरानको तीन समुद्री किनाराको क्षेत्रलाई कब्जामा लिनुपर्ने हुन्छ। अन्यथा यो क्षेत्रमा अमेरिकाको उक्त विमानले पनि काम गर्न सक्दैन। समुद्री क्षेत्रमा आफ्नो कब्जा जमाउने अभ्यास अन्य मुलुकले पनि गर्दै आएका छन्। यस्तोमा सबैभन्दा धेरै विवादमा आउने गरेको मुलुक चीन हो। तर, चीनसँग भएका जति हतियार र शक्ति इरानसँग छैन। त्यसैले पनि अमेरिकाको उक्त विमान समुद्री क्षेत्रको युद्धका लागि पर्याप्त हुनसक्छ।

लेजर्स
यो नयाँ प्रविधि हो। अहिले यसको विकासको क्रम चलिरहेको छ। अब छिटै नै सैन्य लेजर प्रणाली वास्तविकतामा आउने बताइएको छ। धेरै अन्तर्राष्ट्रिय समाचार प्रतिवेदनलाई आधार मान्ने हो भने अमेरिकाले हालै मात्र यसको परीक्षण गरेको छ। यो प्रणालीले यसअघि गरिएको अपेक्षाभन्दा पनि राम्रो काम गर्नसक्ने बताइएको छ। यसले निकै सटिक प्रहार गर्नसक्छ भने निकै कठिन मानिएको स्थानमा पनि आक्रमण गर्नसक्छ। यो प्रविधिको प्रयोग गरिएको खण्डमा इरानले अमेरिकालाई रोक्ने कुनै पनि प्रयास विफल बन्नसक्छ।

पछिल्लो समय युद्धभन्दा पनि अमेरिकाले आफ्नो खर्चमा ध्यान दिइरहेको छ। इरानमा आक्रमण गर्दा आफ्नो खर्च पनि चुलिनेमा अमेरिकाको ध्यान केन्द्रित छ। यस्तोमा उसले उपलब्ध विकल्पमध्ये सबैभन्दा सस्तो र प्रभावकारी हुने किसिमको विकल्पको प्रयोग गर्ने अनुमान विश्लेषकहरुले गरेका छन्।

इरानबाट पनि अमेरिकामा कुनै पनि समयमा आक्रमण हुनसक्छ भन्ने कुरामा अमेरिका सचेत छ। त्यसैले उसका लागि आक्रमणका साथै मिसाइल सुरक्षा प्रणाली पनि निकै महत्वपूर्ण छ। यहाँ अमेरिकाका केही मिसाइल सुरक्षा प्रणालीको पनि प्रयोग गरिरहेको छ। मिसाइल सुरक्षाको हिसाबमा अमेरिका अहिले विश्वकै अब्बल मानिएको अवस्थामा इरानको कुनै पनि मिसाइलको सुरक्षा गर्न अमेरिका सक्षम मानिन्छ। विश्लेषकहरुले पनि इरानले गरेको आक्रमणलाई अमेरिकाले सजिलै सुरक्षा गर्नसक्ने बताइरहेका छन्।

इरानले इराकमा अमेरिकी सैन्य शिविरलाई लिएर गरेको आक्रमणमा पनि अमेरिकाले आफ्नो प्रविधिको प्रयोग गर्दै त्यसको सुरक्षा गरेको हुनसक्ने केहीको भनाइ छ। तर, पछिल्लो समय मध्यपूर्वको तनाव बिस्तारै कम हुँदै गएकाले यसलाई धेरैले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिकामा आउन लागेको राष्ट्रपतिको निर्वाचनमा जित हात पार्ने रणनीतिको रुपमा अथ्र्याएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ