arrow

प्रदेशको नाम बाग्मती राख्ने निर्णयबिरुद्ध सोमबार हड्ताल घोषणा

logo
प्रकाशित २०७६ पुष २७ आइतबार

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेवा–ताम्सालिङ प्रदेश समितिले प्रदेश नम्बर ३ को नामाकरण बाग्मती राख्ने निर्णय कुनैपनि हालतमा मान्य नहुने भन्दै उक्त निर्णयका विरुद्धमा कडा संघर्ष गर्ने कार्यक्रम घोषणा गरेको छ ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त समितिले प्रदेश नम्बर ३ को प्रदेशसभा र सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको विरुद्धमा यही पुष २८ गते प्रदेश नम्बर ३ मा यातायात, शैक्षिक संस्था, उद्योग–कलकारखानासहित नेवा–ताम्सालिङ प्रदेशव्यापी हड्ताल गर्ने संघर्षको कार्यक्रम घोषणा गरेको छ । त्यस्तै, देशभक्त जनसांस्कृतिक आन्दोलन सञ्चालन गरि नेवा–ताम्सालिङका शत्रुहरुलाई व्यापक जनकारबाही गर्ने र संयुक्त सडक आन्दोलन गर्ने कार्यक्रम पनि समितिले सार्वजनिक गरेको छ ।

प्रदेश समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेकपा (माओवादी केन्द्र) ले अगावै प्रदेश नं. ३ को नामाकरण नेवा–ताम्सालिङ गरियोस भनी प्रदेश सरकारका अधिकारी समक्ष ज्ञापन गरिएको हो । त्यस विपरीत सत्ताधारी डबल नेकपाको गोर्खाली अन्धराष्ट्रवादी बहुमतले नेवा–ताम्सालिङको ऐतिहासिक तथा सामुदायिक पहिचान कुल्चेर कथित बाग्मती नामाकरण थोपरेकोमा खेद प्रकट गर्दै नेकपा (माओवादी केन्द्र) नेवा–ताम्सालिङ प्रदेश समिति उक्त फोहर बाग्मती नामाकरण खारेज गर्दछ । महान जनयुद्व र जन–आन्दोलनका उपलब्धीहरु एक पछि अर्को खोस्दै गणतन्त्र नै समाप्त पार्ने त्यस प्रतिक्रान्तिकारी अपराधको भण्डाफोरमा उत्रन देशभक्त एवं पहिचान पक्षधर जन–समुदायमा गम्भीर अपिल गर्दछ ।’

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य अरुण घिसिङले जन युद्धमा पहिचानका मुद्दा स्थापित गर्नको लागि ठूलो संख्यामा रगत बगेको र बलिदानी भएको सुनाउँदै आज त्यसको विरुद्धमा प्रदेश नम्बर ३ को नामाकरण गरिएको भन्दै कडा आपत्ति जनाए ।

उनले भने,‘जनयुद्धमा पहिचानका मुद्दा स्थापित गर्नको लागि ठूलो संख्यामा रगत बगेको र बलिदानी भएको थियो । जसको नेतृत्व प्रचण्डले गरेका थिए । तर, आज तिनै प्रचण्डले सहिदका सपना कुल्चिँदै र उनीहरुको बलिदानीलाई मेट्दै जनयुद्धका आदर्श र उद्देश्यविपरित हुनेगरि अहिले संघीयताविरोधी र पहिचानविरोधी एमाले र केपी ओलीसँग मिलेर प्रदेश नम्बर ३ को नामाकरण बाग्मती राखिएको छ । यो हाम्रो पार्टीलाई मान्य छैन् ।’

उनले प्रदेश नम्बर ३ को नामाकरण बाग्मती राख्ने निर्णय तत्काल खारेज गर्नपनि आग्रह गरेका छन् । ‘प्रदेशको नामाकरण नेवा–ताम्सिालिङ राख्नको लागि हामी जस्तोसुकै संघर्ष गर्नपनि तयार छौं ।’–घिसिङले थपे ।

त्यस्तै, कार्यक्रममा उक्त पार्टीका प्रदेश नम्बर ३ तथा नेवा–ताम्सालिङ प्रदेशका अध्यक्ष पासाङ मोक्तानले विज्ञप्ती वाचन गरेका थिए । विज्ञप्तीमा भनिएको छ,‘विद्वितै छ कि प्रदेश ३ को १३ जिल्ला ऐतिहासिक रुपमा नेवा–ताम्सालिङ भूमि हो । यसै आधारमा, महान जनयुद्वमा नेवा–ताम्सालिङ स्वायत्त जनसरकार घोषणा र ०६४ देखि ०७२ सम्म तत्कालीन नेकपा (माओवादी) ले नेवा राज्य समिति र ताम्सालिङ राज्य समितिको संगठित अभ्यास गरेको हो । परन्तु, जनताका छाराछोरीको रगत चाहिएको बेला मात्र स्वायत्तता र पहिचानको नारा उराल्ने, तर दलाल पुँजीवादी संसदीय सत्ताको हिस्सेदार  बनेपछि नेवा–ताम्सालिङ लगायत जनताको  पहिचान र अधिकारमाथि बन्चरो प्रहार गर्ने प्रतिक्रान्तिकारी अपराध प्रचण्ड मण्डलीबाट गरिएको छ ।’

माओवादको सिद्वान्त र पहिचान मुद्दा त्यागेर एमालेकरणमा विलय भएका प्रचण्ड मण्डलीको दाहसंस्कार गर्दै गोपाल किरातीको अध्यक्षतामा नेकपा (माओवादी केन्द्र) को पुनर्गठन आज सार्थक बनेको पनि प्रदेश समितिको ठहर छ । विज्ञप्तीमा थप भनिएको छ,‘माओवादी कम्युनिष्ट आन्दोलनको  विचार, भावना एवं ऐतिहासिक विरासतलाई निरन्तरता दिदै श्रमिक वर्ग, जाति, क्षेत्र, महिला तथा देशभक्तहरुको संयुक्त (राज्यसत्ता) समाजवादी गणतन्त्र नेपाल स्थापना एक मात्र क्रान्तिकारी विकल्प बनेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ