arrow

प्रदेश सभाको हिउँदे अधिवेशन माघ ६ गते, विधेयक अझै दर्ता भएन 

logo
पुस्कर पौडेल, 
प्रकाशित २०७६ पुष २८ सोमबार

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन माघ ६ गते आह्वान गरिए पनि प्रदेशसभा सचिवालयमा विधेयक भने दर्ता हुन सकेको छैन । 

प्रदेश सरकारले अहिलेसम्म विधेयक दर्ता नगराएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । 

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले माघ ६ गते दिउँसो २ बजे प्रदेशसभा बैठक आह्वान गरेकी छिन् । 

अब यो बिचमा सरकारद्वारा विधेयक दर्ता हुन आउँछ होला आइतबार आयोजित पत्रकार सम्मेलनमा सभामुख अर्जुनबहादुर थापाले भने तर अहिलेसम्म कुनै एउटा पनि विधेयक दर्ता भएको छैन। यसैगरी सचिवालयले प्रदेशसभा भवनमा थप प्रविधि जडान जानकारी दिएको छ । 

प्रदेशसभा बैठकलाई सहज, मर्यादित बनाउने र सूचना सङ्कलन र प्रवाहको कार्यलाई सहज बनाउने उद्देश्यले थप प्रविधि जडान गरिएको हो । 

पाँचौं अर्थात् हिउँदे अधिवेशनदेखि प्रदेशसभा सञ्चालनको प्रत्यक्ष प्रशारण गर्न यु ट्युब लाइभका लागि आवश्यक प्रविधि जडान गरेको प्रदेशसभा सचिवालयले जानकारी दिए । 

यसैगरी प्रदेशसभा सदस्यहरुको टेबुलमा डिजिटल माइककको व्यवस्थाका साथै रेकर्डिङ सिस्टम पनि स्तरोन्नति गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । प्रदेशसभा हल, मिडिया सेन्टर र आफ्नो कार्यकक्षमा डिस्प्ले जडान भएको सभामुख थापाले जानकारी दिए । 

‘यसले गर्दा प्रदेशसभा भित्रका सबै बैठक गतिविधिको जानकारी सहज रुपमा हुनेछ’ उनले भने । प्रदेशको नौ वटै जिल्लासंग प्रदेशसभाको सम्बन्ध स्थापना र सूचना आदानप्रदान गर्नका लागि प्रत्येक जिल्लाको जिल्ला समन्वय समिति कार्यालय र प्रदेशसभामा ‘भिडियो कन्फ्रेन्स’ को व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जनाइएको छ । 

यसले संसदीय गतिविधिका साथै कानून निर्माणका सवाल जनताको माझमा पु-याउन सजिलो हुने सभामुख थापाले विश्वास व्यक्त गरे ।सधैं र सबै बेला व्यक्तिलाई बोलाएर छलफल, सल्लाह गर्न सम्भव हुँदैन उनले भने–त्यस्तो अवस्थामा भिडियो कन्फ्रेसमार्फत आवश्यक छलफल गर्न सहज हुनेछ ।

यसैगरी, प्रदेशसभा बैठकमा सूचना सम्प्रेषण गर्न सहज हुने उद्देश्यका साथ मिडिया सेन्टरको स्थापना गरिएको छ । यसअघि, प्रदेशसभा बैठकको समाचार सङ्कलन गर्नका लागि प्रदेशसभा भवनभित्रै जानु पर्ने व्यवस्था थियो । 

अब अत्यावश्यक अवस्थाबाहेक पत्रकारले मिडिया सेन्टरबाटै समाचार सङ्कलन गर्न सक्ने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ । प्रदेशसभाको पूर्वाधार विकास गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टीको संसदीय दलको भवन निर्माण गरी कार्यालय सञ्चालनमा ल्याएको सभामुख थापाले जानकारी दिए । 

प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको संसदीय दलको कार्यालयलाई सविकको भवनमा फर्निचरको व्यवस्था गरिएको उनले जनाए ।

नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालय साविकको जिल्ला जनस्वास्थ्य कार्यालय भवनमा रहेको छ । 

यसैगरी, प्रदेशसभा परिसरलाई सफा, सुन्दर र सुरक्षित राख्न प्रदेशसभाको गेट निर्माण, ब्लक बिछाउने, ग्राभेल गर्ने, शौंचालय निर्माण, बगैचा निर्माण लगायतको काम भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । आगामी दिनमा सबै विषयगत समितिको बैठकलाई ‘मिनी संसद’ को रुपमा सञ्चालन गर्नका लागि मिटिङ हल निर्माण गरी माइक र रेकर्डिङ सिस्टमको व्यवस्था मिलाउने तयारी भइरहेको पत्रकार सम्मेलनमा जनाइएको छ । 

यसैगरी, प्रदेशसभा भवनमा थप कोठाको निर्माण गरी इ–लाइब्रेरीको व्यवस्था मिलाउने, प्रदेशसभा, प्रदेशसभा सचिवालय र विषयगत समितिमा सीसी टिभी जडान गर्ने लगायतको तयारी भइरहेको जनाइएको छ । प्रदेशसभा सभा स्थापना भएको दुई वर्षमा ३२ वटा विधेयक पारित गरी केही महत्वपूर्ण कामसमेत सम्पन्न गरेको सभामुख थापाले बताए । 

उनले विक्रम सम्वत २०७५ साल असोज १२ गते बसेको प्रदेशसभाको बैठकबाट प्रदेशको स्थायी राजधानीको टुङ्गो लगाउने र नामाकरण गर्ने कार्य भएको उल्लेख गरे । यो नै सबैभन्दा महत्पूर्ण उपलब्धी हो उनले भने । 

यसैगरी, २०७५ फागुन ८ गते प्रदेश सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरेर प्रदेशको महत्वपूर्ण सवालका विषयमा जानकारी गराएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । 

अबदेखि प्रदेशसभाको अधिवेसन सुरु हुनुभन्दा पहिले र अधिवेसन अन्त्य भएको बेला पत्रकार सम्मेलन गरेर विभिन्न कुराको जानकारी गराउने अभ्यासको थालनी गरेको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताए । 

सचिवालयबाट भएको गतिविधिबारे अब यसरी नै पत्रकार सम्मेलन गरेर जानकारी दिने उनले उल्लेख गरे । पत्रकार सम्मेलनमा उपसभामुख निर्मला जोशी बडालको पनि उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ