arrow

रोकिएला प्रहरीले टिपर चालकलाई खुवाएको सपथले दुर्घटना ? 

logo
प्रकाशित २०७६ पुष २९ मंगलबार
PL_Banepa-(1).jpg

बनेपा । दुर्घटना नियन्त्रणका लागि भइरहेका प्रयासहरु विफल हुँदै आएका छन् । र पनि प्रयास भने जारी रहेको छ । त्यस्तै प्रयास थालिएको छ काभ्रेपलाञ्चोकमा ।

दुर्घटना न्यूनीकरण गर्न चालकको मुख्य भूमिका रहेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय र वाग्मती टिपर व्यवसायी सङ्घ काभ्रेपलाञ्चोकले सोमबार जिल्लामा सञ्चालित टिपर चालकलाई सुरक्षित र धैर्यताका साथ गाडी चलाउन निर्देशन दिँदै शपथ गराएको छ ।

‘भ्रमण वर्ष २०२० को प्रचारप्रसार तथा दुर्घटना न्यूनीकरणका लागि चालकलाई शपथग्रहण’ कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विशाल तामाङले सबै टिपर चालकलाई शपथ गराएका हुन् । 

सो क्रममा चालकलाई मादक पदार्थ सेवन गरेर कहिल्यै गाडी नचलाउने, गाडीमा सङ्गीतको बुफर तथा झलर र सिसामा स्टिकर नराख्ने, बस्ती क्षेत्रमा प्रेसर हर्न नबजाउने र जथाभावी ओभरटेक तथा पार्किङ नगर्ने, पानी चुहाएर सामान ढुवानी नगर्ने, तीव्र गतिमा गाडी नचलाउने र गाडी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारका लागि गाडीमा स्टिकर टाँस्नेछु लगायतका १० बुँदे शपथ खुवाइएको थियो ।

सो क्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले टिपर चालकलाई हतारमा गाडी नचलाउन आग्रह गरे । जतिसुकै हतारमा भए पनि आफ्नो काममा दृढ भएर काम गरेमा कसैको भनाइ र प्रहरीको कारवाहीमा नपर्ने उल्लेख गर्दै त्यसतर्फ ध्यान दिन उाले सबै चालकलाई अनुरोध गरे । 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले हरेक वर्ष दुर्घटनाको दर वृद्धि हुँदै गएकाले त्यसको न्यूनीकरण प्रहरी वा चालक एक्लैले गर्न नसक्ने भएकाले त्यसमा सबै जनाको उत्तिकै भूमिका हुनु जरुरी रहेको बताए । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले चालकले गरेको गल्तीका कारण प्रहरीले भोग्नुपर्ने अवस्था आउने गरेका कारण प्रहरी र चालक दुवैले सचेत भएर आ–आफ्नो जिम्मेवारी बहन गर्न आवश्यक रहेको बताए । 

सो क्रममा टिपरमा भ्रमण वर्ष २०२० को लोगोसहितको स्टिकर टाँसेर भ्रमण वर्ष प्रचारप्रसार गर्ने कामलाई प्रवद्र्धन गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी तिमिल्सना, जिल्ला प्रहरी कार्यालय प्रमुख पौडेल र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख तामाङ लगायतले टिपरमा भ्रमण वर्षको लोगोसहितको स्टिकर टाँसेका थिए । 

काभ्रेपलाञ्चोकबाट मात्रै दैनिक दुई हजार २०० भन्दा बढी टिपर उपत्यका भित्रने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ