arrow

विश्वको यातायात प्रणालीमा कायापलट गर्ने प्रविधिहरू

logo
प्रकाशित २०७६ माघ २ बिहिबार
transport-future.jpg

काठमाडौं। विकासको लागि यातायात निकै महत्वपूर्ण अंग मानिन्छ। यातायात विना कुनै पनि किसिमको विकास कठिन छ। त्यसैले नेपालमा पनि विकासको लागि यातायातमा जोड दिन विश्लेषकहरूले आग्रह गर्दै आएका छन्। यस्तोमा भौगोलिक अवस्था र मानिसहरुको अवस्थाको कारण भिन्न भिन्न स्थानमा भिन्न भिन्न किसिमको यातायात आवश्यक हुन्छ। विभिन्न मुलुकले पनि भौगोलिक अवस्था अनुसार विभिन्न किसिमको यातायातको प्रणाली तयार पार्ने गरेका छन्।

नेपालमा पनि केही स्थानमा केबुलकार र रेल चल्ने गरेको भए पनि सडक यातायात नै यातायातको महत्वपूर्ण माध्यम बन्दै आएको छ। विश्वमा भने अहिले सोच्नै नसकिने यातायातको प्रणाली विस्तार भइरहेका छन्। जसले अबको केही वर्षमा विश्वको यातायातको प्रणालीको नै कायापलट गरिदिने छ।

स्मार्ट यातायात प्रणालीको बजार अहिले १ खर्ब अमेरिकी डलर पुगेको अनुमान छ। यसमा वार्षिक ९ प्रतिशतको वृद्धि भइरहेको छ। यसले पनि यातायात प्रणालीमा अबको केही समयमा नै उल्लेख्य सुधार आउनसक्ने देखिन्छ। यहाँ निकट भविष्यमा आउनसक्ने केही यातायात प्रणालीको वर्णन गरिएको छ– 

१. लाइटवेट भेइकल्स
अहिले विश्वभर सडक यातायातमा निकै धेरै तौल भएका सवारीसाधनको अत्यधिक प्रयोग हुने गरेको छ। यसले सडक बिगार्नुका साथै अत्यधिक इन्धन पनि खपत हुने गरेको छ। यो समस्या समाधानको लागि अहिले कम तौल भएका सवारीसाधन निर्माणको क्षेत्रमा विभिन्न कम्पनीहरुले काम पनि गरिरहेका छन् र अध्ययनका अनुसार कुनै सवारीसाधनको तौल १० प्रतिशत घटाउने हो भने त्यसको इन्धन खपत ६ प्रतिशत कम हुन्छ। त्यसका लागि सवारीसाधनमा प्रयोग हुने फलाम तथा स्टीलको सट्टामा कार्बन फाइबर निर्माणलाई वास्तविकतामा ल्याउन जरुरी छ। अहिलेसम्म यसको निर्माण गर्न सकिएको छैन। तर, विश्वका धेरै कम्पनीहरु त्यसको निर्माणमा अघि बढिरहेका छन्। 

२. ड्रोन डेलिभरी 
यातायातको भविष्यमा आउनसक्ने प्रणालीमध्ये ड्रोन पनि एक महत्वपूर्ण यातायातको माध्यम हो। सडक यातायातको प्रयोग गर्दा धेरै खर्च र समय लाग्ने भएकाले पनि त्यसको विकल्पको रुपमा ड्रोनको प्रयोग महत्वपूर्ण हुनसक्छ। पछिल्लो केही समययता ड्रोनको प्रयोग व्यापक बन्दै गएको छ। विश्वका केही मुलुकमा ड्रोनकै सहयोगमा अन्य यातायातको साधन नपुगेको स्थानमा स्वास्थ्य सेवा पनि प्रदानको काम भइरहेको छ। 
अहिले एमजन, यूपीएस, डीएचएलजस्ता ड्रोन कम्पनीले धेरै टाढा सामग्री डेलिभरीको लागि ड्रोनको प्रयोग गर्ने प्रणालीको लागि प्रयास गर्दै आएका छन्। तर, यस किसिमको ड्रोनको प्रयोगमा प्राविधिक चुनौती देखिँदै आएका छन्। अबको केही समयमा नै यस किसिमको कार्यले सफलता पाउनसक्ने देखिन्छ।

३. साइकल शेयरिङ प्रणाली
जो मानिस मुख्य यातायातका प्रयोग गर्न चाहँदैनन्, उनीहरुका लागि साइकल शेयरिङ प्रणाली त्यसको विकल्प बन्न सक्छ। यो प्रणालीमा प्रयोगकर्ताले साइकल भाडामा लिन सक्छन्। उक्त साइकलको प्रयोग गरेर आफ्नो गन्तव्यमा पुगेपछि साइकल छाडेर उनीहरु आफ्नो काममा जान सक्छन्। अहिले विद्युतीय बाइकको प्रयोग पनि यसै प्रणालीको माध्यमबाट सामग्री डेलिभरीका लागि गर्न सकिन्छ। विभिन्न अनुसन्धानले पनि यस किसिमको सेवाले सवारीसाधानको चाप कम गर्न सहयोग गरेको पनि देखाएका छन्। अझ सबैभन्दा महत्वपूर्ण पक्ष सहरको प्रदूषण कम गर्न यसले निकै ठूलो सहयोग गर्न सक्छ।

४. हाइपरलूप 
हाइपरलूप अहिले विश्वभर सबैभन्दा बढी चर्चा बटुल्न सफल यातायातको प्रणाली हो। विशेषगरी जमिनको यात्रामा यो सबैभन्दा प्रभावकारी तथा छिटो यात्रा गर्न सकिने मध्यम हो। यो प्रविधिको प्रयोग गरी मानिसहरु भ्याकुम प्रविधिको प्रयोग गरी ट्युबबाट अर्को स्थानमा पुग्न सक्छन्। हाइपरलूपमा प्रतिघण्टा ७०० माइल अर्थात् १ हजार १ सय २७ किलोमिटरको यात्रा गर्न सकिन्छ। यो टेस्ला कम्पनीका सीईओ एलन मस्कले ल्याएको अघि सारेको योजना हो। यो परियोजनाको काम अहिले विश्वभरका विभिन्न स्थनमा भइरहेको छ। यो परियोजनाले सहरी यातायातको यातायातको जटिलता पनि कम गर्नेछ। यो प्रविधि वास्तविकतामा आए त्यो यातायात उद्योगको लागि निकै ठूलो सफलता हुनेछ।

५. उड्नसक्ने कार 
अबको केही समयमा यातायात क्षेत्रमा उड्नसक्ने कारबाट ट्याक्सी सेवा प्रदानको काम शुरू हुनेछ। बहुराष्ट्रिय ट्याक्सी सेवा प्रदायक युबरले सन् २०२३ सम्म विश्व बजारमा आफ्नो उड्नसक्ने कारबाट ट्याक्सी सेवा प्रदानको काम शुरू गर्ने घोषणा गरिसकेको छ। अहिले युबरले निर्माण गर्न लागेको उड्नसक्ने ट्याकसी विद्युतीय हुनेछ। साथै यसले मानिसहरुलाई उडाएर गन्तव्यमा पुर्‍याउनेछ। यसको एक उदाहरण भोलोकोप्टर हो। यो विद्युतीय उड्नसक्ने स्वचालित कार हो। अहिले भोलोकोप्टरको परीक्षण यूएईको दुबईमा भइरहेको छ।

६. स्वचालित कार 
अबको केही समयमा नै स्वचालित कार वास्तविकतामा आउनेछ। अहिले विश्वका विभिन्न कम्पनीहरुले यसको परीक्षण गरिरहेका छन्। यो सवारीमा इन्टरनेट अफ थिंग्स, एआई, एलआईडीएआरजस्ता प्रविधिको प्रयोग हुनेछन्। अहिले स्वचालित कारको मामिलामा टेस्ला र गूगलको वेमो कम्पनी अगाडि देखिएका छन्। बिस्तारै मानिसहरु स्वचालित सवारीमा अभ्यस्त भइरहेका छन्। स्वचालित सवारीसाधन आगामी दिनमा मानिसले चलाउने कारभन्दा सुरक्षित हुने बताइएको छ। यसमा केही मानवीय त्रुटि नहुने भएकाले यो सुरक्षित हुने बताइएको हो।

यातायातले पार्ने आर्थिक प्रभाव
केही दशकयता यातायात उद्योगले अर्थतन्त्रमा पनि निकै ठूलो योगदान दिइरहेको छ। यसले आर्थिक विकासमा सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। वस्तु र मानिसको बीचमा समन्वयकर्ताको काम यातायातले गर्ने गरेको छ। यसले राम्रो आर्थिक सम्भावनाको पनि विकास गरेको छ। यातायात क्षेत्र राम्रो बन्दै जाँदा उसले रोजगारी, लगानी र बजारमा निकै राम्रो अवसर सृजना गरेको छ। यसले आर्थिक वृद्धिको लागि सहयोग गर्छ। विस्तारमा बुझ्ने हो भने यातायातले आर्थिक वृद्धिमा तीन किसिमको महत्वपूर्ण प्रभाव पारेको हुन्छ।

भौगोलिकः यातायातले भौगोलिक हिसाबमा महत्वपूर्ण आर्थिक अवसर सृजना गर्छ। विशेषगरी श्रम, ऊर्जा,पार्टस् र अन्य धेरै क्षेत्रमा यसले उल्लेख्य अवसर सृजना गर्छ। यसले उत्पादन बढाउन सहयोग गर्छ। यातायातको विकासले स्थानीय बजारलाई विश्व अर्थतन्त्रसँग जोड्न सहयोग गर्छ। 

कार्यगत : कार्यगत हिसाबमा पनि यातायातले अर्थतन्त्रमा सहयोग पुर्‍याउँछ। यसले प्रत्यक्ष हिसाबमा विश्वअर्थतन्त्रमा प्रभाव पार्न सक्छ। विशेषगरी यातायातले मानिसले समय बचाउँछ। यसले मानिसको यात्रा पनि सहज बनाउँछ। यसले आर्थिक विस्तारमा सहयोग पुर्‍याउँछ।

क्षमताः यातायातले आर्थिक क्षमता विस्तारमा सहयोग गर्छ। यातायातको प्रभावले वस्तु मानिसबीचको सम्बन्ध विस्तार गर्छ। यसले धेरै किससमको मार्ग प्रशस्त गर्छ। यसले विशेषगरी खर्च कम गर्छ। जसले आर्थिक वृद्धि बढाउँछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ