arrow

कानुनको धज्जी उडाइरहेको यो हाँसो

नाइके पाँच हजार मारेर छाती फुलाउने सहायक सभामुख बन्ने

logo
प्रकाशित २०७६ माघ ८ बुधबार
oli-prachanda-sapkota.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले अहिले सभामुखमा निर्विरोध भएका अग्निप्रसाद सापकोटाको बचाउ गर्दै हिँडिरहेका छन् । उनलाई नेकपाभित्रका उत्कृष्ट मध्येका सर्वोत्कृष्ट भन्दै बयान गरिएको छ । 

हत्या आरोपीलाई सभामुख !

अचम्म त के भने उनी द्वन्द्वकालीन मुद्दाका आरोपी हुन् । उनीमाथि हत्या आरोप छ । उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । सापकोटाविरुद्ध १० वर्षअघि काभ्रेका ४८ वर्षीय अर्जुन लामालाई अपहरण गरी हत्या गरेको अभियोगमा अदालतमा परेको मुद्दा विचाराधीन रहेको हो । सो मुद्दाको पेसी यही माघ २२ गते तोकिएको हो ।

एउटा आरोपीलाई विधि निर्माण गर्ने थलो संघीय संसद प्रतिनिधिसभाको सभामुख बनाउनाले नेकपाको लोकतन्त्र, शान्ति र मानव अधिकारप्रतिको विश्वासमै प्रश्न उब्जिएको छ ।

यो निर्णयको प्रबुद्ध व्यक्तिहरुले आपत्ति जनाएका छन् । उनीहरुले नेकपाको निर्णयप्रति खेद जनाइरहेका छन् । 

कसैले त नेकपाले नेपाललाई उत्तरकोरिया जस्तो बनाउन खोजेको आरोपसमेत लगाएका छन् । सभामुखजस्तो गरिमामय पदमा पुगेका सापकोटाले यतिबेला सबैतिरबाट बधाइ पाउनुपर्नेमा आलोचना भइरहेको छ । 

विधिको शासनको समेत पनि खिल्ली उडिरहेको छ । देशका लब्धप्रतिष्ठित व्यक्तिहरुले युद्ध अपराधको आरोप लागेको व्यक्तिलाई सभामुख बनाउँदा लोकतन्त्र, शान्ति र मानव अधिकारप्रतिको विश्वास धरापमा पारेको ठानिरहेका छन् ।

संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव कुलचन्द्र गौतमले ट्वीटरमार्फत् ‘बलात्कारी’ सभामुखको उत्तराधिकारीका रुपमा सत्तारुढ दलबाट हत्याको अभियोगमा अदालतमा मुद्दा खेपिरहेका सापकोटालाई अगाडि सारिएबाट पीडितहरुले न्याय पाउने सम्भावना कमजोर भएको र नेकपाले कानुनी शासनको धज्जी उडाएको टिप्पणी गरेका छन् ।

उनले राष्ट्रपतिबाट युद्ध अपराधको सजाय भोगिरहेका बालकृष्ण ढुंगेलले उन्मुक्ति पाउनु र तत्कालीन माओवादी नेता पुष्पकमल दाहालबाट अगाडि सारिएका सापकोटा सभामुखमा छनोट हुनुले नेकपा लोकतान्त्रिक पार्टी भएको भन्नेमै प्रश्न खडा भएको बताएका छन् ।

सापकोटामाथि व्यक्ति हत्याको फौजदारी अभियोग लागेको छ । एक जना हत्या आरोपी जसको मुद्दा अदालतमा विचाराधीन छ, उसलाई जबरजस्ती सभामुख जस्तो पदमा आसिन गराउनु विधिको शासनको खिल्ली उडाउनुबाहेक केही हुन सक्दैन । 

नाइके पाँच हजार मारेर छाती फुलाउने सहायक सभामुख बन्ने
माघ २२ आउनुअघि नै माघ १२ आउँछ । मतलव सापकोटा पहिले सभामुख बन्छन् अनि उनको हत्या आरोपको पेशी चढ्छ । त्यसो त कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा कुर्सी छोड्न वाध्य भए । 

बलात्कार प्रयासभन्दा कडा हत्या आरोप नै हो । यस्तो परिस्थिति रहँदारहँदै सिंगो व्यवस्थापिकाको नेतृत्वदायी जिम्मेवारी सम्हाल्ने पदमा हत्याको आरोपमा मुद्दा खेपिरहेका व्यक्तिलाई स्थापित गरेर नेकपा नेतृत्वले पक्कै पनि एक विद्धानले भनेजस्तै नेपाललाई उत्तरकोरिया बनाउन खोजिएको त हैन ? 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खुलेआम पाँच हजार मान्छे मारेर यहाँसम्म आएको भन्छन् । कानुन मौन छ । हुनत उनीमाथि सशस्त्र द्धन्द्धमा १७ हजार मानिस मारेको आरोप छ । 

उनी भने पाँच हजारको जिम्मा लिइरहेका छन् । एक जना मार्दा २० वर्ष जेल हुन्छ । उनी खुलेआम हिँडिरहेका छन् । आफूले पाँच हजार मारेको भन्दै खुलेआम भन्दासमेत कानुनका हात बाँधिएका छन् । कार्वाही गर्ने हैसियत राखिरहेको छैन । 

पूर्वएमालेमा रहँदा माओवादीको हत्या हिंसायुक्त राजनीतिको पटाक्षेप गर्दै धाराप्रवाह आलोचना गरेकै कारण केपी शर्मा ओलीले पार्टी सत्ता हत्याएको जगजाहेर छ । 

अहिले ओली र प्रचण्ड मिलेर नेकपा बनाएका छन् । अनि अपराधको जालोलाई फराकिलो पारिरहेका छन् । ओली र प्रचण्डले मात्र हैन अब नेकपाका सारा नेताहरु कठघरामा उभिनु पर्नेछ । 

विधिको शासनको खिल्ली उडाउनेमाथि कार्वाही त हुने नै छ । जनताले भोलिका दिनमा कसरी दिने हुन् त्यो त हेर्नु नै छ । 

कानुनले प्रमाण खोज्छ । प्रमाण ती १० वर्षे जनयुद्धका छरिएर रहेका लास हुन् । बेपत्ता नागरिक हुन् । पीडित परिवार हुन् । अनि प्रमाण समयसमयमा प्रचण्ड आफैले काठमाडौंको टुँडिखेलमा उभिएर ‘पाँच हजारको हत्या गरेको हुँ’ भन्दै साविती बकपत्र दिइसकेको अवस्था हो । त्यसको रेकर्ड हरेक टेलिभिजन, रेडियो र अनलाइनले सुरक्षित गरेका छन् । 

समय समयमा पूर्व माओवादी नेता एवं हालका समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले पनि भन्दै आएका थिए । जिम्मा लिँदै आएका थिए । के उनी कार्वाहीको भागेदार छैनन् ? 

अलिकतिमात्रै पनि विपक्षीले कुरा उठाए भने रक्तपात हुन्छ र अर्को युद्धको खाँचो छ भनी प्रचण्डले घुर्की हाँक्दै हिँड्छन् । मान्छे मारेर उनी खुलेआम छन् । अनि अफताब आलम, रेशम चौधरीहरु जेलमा छन् । महरा पनि जेलमा छन् । 

सापकोटाले आइतबार सभामुख भएर सपथ खान्छन् । पूर्व प्रधानाध्यापक (माड्साप) ले अब संसदमा सांसदहरुको माड्सापको भूमिका निभाउने छन् । अनि अर्को नजिर बस्नेछ – एक हत्या आरोपी गरिमामय सभामुखको कुर्सीमा । 

नेकपाका नेताहरु अहिले उन्माद हाँसिरहेका छन् । शक्तिमा भएपछि जे पनि गर्न सकिन्छ भनिरहेका छन् । अनि कानुनको धज्जी उडाइरहेको हाँसो हाँसिरहेका छन् । के सत्यको जित हुन्न र ? 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ