arrow

गृहसचिव बन्नका लागि सचिवहरुको दौडधूप, को कति पानीमा ?

logo
प्रकाशित २०७६ माघ ९ बिहिबार
sahasachiv.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले यही माघ २२ गते अवकाश पाउँदै छन् । १३ दिनपछि उनी अवकाश हुने भएपछि गृह मन्त्रालयको शक्तिशाली सचिवका लागि सचिवहरुको दौड सुरु भएको छ । 

गृह मन्त्रालयको सचिवमा प्रधानमन्त्री ओलीले उपयुक्त पात्र खोजी गरिरहेका छन् । उनले राईबाट जुन खालको सहयोग पाएका थिए, त्यस्तै सहयोग पाउने सचिव खोजी गरिरहेका छन् ।  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइराला, अख्तियार दुरुपयोग अनुशासन आयोगका महेश्वर न्यौपाने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, भूमि ब्यवस्था र सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम गृहमन्त्रालयको सचिवको लागि विभिन्न नेताहरुकोमा धाइरहेका छन् ।  

गृहसचिव प्रेमकुमार राई आफ्नै जिल्ला संखुवासभा घर भएका भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई आफू अवकाश भएपछि सचिवमा लैजाने खेलमा छन् । 

उनले प्रधानमन्त्री ओलीलाई यसमा कन्भिन्स पनि गरिसकेका छन् । जागिरे जीवनमा शिक्षा मन्त्रालयमै बिताएका गौतमसँग गृहप्रशासनको फिटिक्कै अनुभव छैन । सचिव गौतमले लोकसेवा आयोगले लिएको शिक्षा संकायको परीक्षामा श्रीमती इन्दिरा ढकाललाई पास गराएको आरोप लागेको थियो । 

महालेखा नियन्त्रकको कार्यालयका प्रमुख हुँदा लेखा समूहका कर्मचारीको सरुवामा घुस खाएको आरोप उनीमाथी लागेको थियो । पूर्वमुख्यसचिव लीलामणि पौडेलले उनलाई सर्वोत्कृष्ट निजामती पुरस्कार पनि दिएका थिए । त्यो पुरस्कार पाएको केही दिनमै उनले श्रीमतीलाई लोकसेवा आयोगको परीक्षामा सेटिङ गरी पास गराएको आरोप लाग्यो । 

महेश्वर न्यौपानेले प्रधानमन्त्री ओलीसँग काम गर्ने मौका नपाएकाले उनको क्षमताबारे जानकारी नभएकाले उनी गृहमा जाने संभावना कम छ । न्यौपानेलाई आँट नभएको र भएका कुरा प्रष्ट राख्न नसक्ने ‘हुुन्छ’ सचिवका रुपमा कतिपयले कुरा लगाइदिएका कारण पनि उनको संभावना कम देखिएको छ । 

केदारबहादुर अधिकारीको पनि प्रधानमन्त्री ओलीसँग हिमचिम पातलै छ । बरु ओली त अर्थमन्त्रालयको राजस्व समूहका सचिव शिशिरकुमार ढुंगानालाई पो गृहसचिव बनाउनुपर्छ भन्ने पक्षमा थिए । गृहप्रशासनमा काम नगरेकाले ढुंगाना गृहमा उपयुक्त हुन नसक्ने सुझाव पनि केहीले प्रधानमन्त्री ओलीलाई दिएका छन् । 

माघ २२ मा प्रेम राईसँगै अर्थसचिव राजन खनाल पनि अवकाश हुने भएकाले अब ढुंगाना अर्थ मन्त्रालयकै सचिव हुनेछन् । अब अर्थमा पनि राजस्व सचिव छुट्टै नराखी ढुंगानामात्र एक सचिव हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ