arrow

चुनाव जितेपछि नारायणकाजी श्रेष्ठले यसो भने 

logo
प्रकाशित २०७६ माघ ९ बिहिबार
narayankaji-rastriyasabha.jpg

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो विजयले वर्तमान सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरेर परिणाममुखी बनाउन मद्दत पुग्ने बताएका छन् । 

राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि बिहीबार साँझ पोखरामा आयोजना गरिएको विजयीसभामा उनले सरकार र सदनको प्रभावकारिता वृद्धि गरी ‘समृृद्ध नेपाल, सुखी नेपाली’को सरकारको आकांक्षालाई सफल तुल्याउन आफ्नो विजयले सघाउने दावी गरे ।

उनले भने, “राष्ट्रियसभामा प्रभावकारी भूमिका निर्वाह गर्न र सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरेर परिणाममुखी बनाउन विजयले मद्दत गर्नेछ । हामी सरकारलाई हरहालतमा सफल बनाइछाड्ने छौँ, म आफ्नातर्फबाट सम्पूर्णरूपमा प्रतिबद्धता व्यक्त गर्दछु ।” आफूहरुको विजयले सांसद्को उपस्थिति र सरकार सञ्चालनमा सङ्ख्यात्मक अन्तर पार्ने नभए पनि पार्टीको नीति र कार्यक्रम तथा घोषणापत्रअनुसार सरकारले  सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई गुणात्मक फड्कोमा पुर्याउने विश्वास उनले व्यक्त गरे । 

नेता श्रेष्ठले राष्ट्रियसभामा उम्मेदवार बनाउने र विजयी गराउन योजना बनाउने पार्टी नेतृत्व र पार्टीलाई  आभार व्यक्त गर्दै मतदान प्रक्रियामा सहभागी सबैमा धन्यवाद व्यक्त गरे । 

अर्का नवनिर्वाचित सांसद भगवती न्यौपानेले परिवर्तन पक्षधर जनता विजयी हुँदै आएको वर्तमान युगमा  पार्टी र जनताको अपेक्षालाई पूरा गर्न आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदान गर्ने सम्पूर्णमा आभार व्यक्त गरे ।

पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले राष्ट्रियसभाको मत परिणामले पार्टी थप बलियो हुँदै गएकाले शक्तिशाली पार्टीले अब जनअपेक्षा पूरा गर्ने गरी काम गर्ने बताए । 

प्रदेश कमिटीको सचिव गोविन्द नेपालीले निर्वाचन प्रक्रियामा सहभागी ११ वटै जिल्ला कमिटी तथा जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गरेका थिए । निर्वाचन कार्यालयले मतपरिणाम सार्वजनिक गरेलगत्तै नेकपाका नेता कार्यकर्ताले राष्ट्र बैंक चोक हुँदै शहीद चोकसम्म विजयी र्याली निकालेका थिए । नवनिर्वाचित सांसदद्वयले शहीद चोकमा रहेको शहीदस्तम्भमा पुष्प गुच्छा चढाएर शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ