arrow

आन्दोलनको जगमा फस्टाउँदै पोखरेली साहित्य

logo
वासुदेव पौडेल,
प्रकाशित २०७६ माघ ११ शनिबार
pokhara-final.JPG

पोखरा। प्रकृतिको वरदानका रुपमा विश्वकै पर्यटकीय स्थलका रुपमा चर्चित पोखरा साहित्य सिर्जनाका लागि पनि उत्तिकै उपयुक्त स्थल हो। कवि शिरोमणि लेखनाथ पौड्यालदेखि जनकवि केशरी धर्मराज थापा, लोक कवि अलिमियाजस्ता थुप्रै नेपाली साहित्यका मुर्धन्य व्यक्तित्वको जन्मथलोसमेत हो पोखरा। पुराना मात्र नभई पछिल्ला पुस्ताका दर्जनौँ कवि, कवयत्री र कलाकार पोखराले पाएको छ। अग्रजको प्रेरणा लिएर अहिले क्रियाशील पोखरेली साहित्यानुरागीलाई यहाँ चलेका साहित्यिक कार्यक्रम तथा अभियानले प्रेरित गरेका छन्।

नेपाली साहित्य क्षेत्रमा चर्चा कमाएको संरक्षण कविता आन्दोलन पोखरेली साहित्यकारकै पहलमा थालिएको थियो। नेपाली कविताको मौलिक राष्ट्रिय आन्दोलनका रुपमा २०५५ असोजमा साहित्यकार सरुभक्तको संयोजकत्वमा या अघि बढेको थियो। मुस्ताङको प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको रानीपौवामा पाँचबुँदे घोषणापत्रसहित यो आन्दोलन थालिएको अभियानका संयोजक सरुभक्तले बताए। सरुभक्त, विनोद गौचन, भुपिन व्याकुल, धनप्रसाद तामाङ, दिनेश श्रेष्ठ(जे–अस्मिता) र पुष्प आचार्यले रानीपौवाबाट थाल्नुभएको आन्दोलनले तिनताका साहित्यिक गतिविधिलाई निरन्तरताका साथै यस क्षेत्रमा साहित्यकार तयार गर्न प्रेरित गर्‍यो।

आन्दोलनअन्तर्गत हिमाल, पहाड र तराईका विभिन्न स्थानमा पुगी त्यहाँका जीवनका भोगाइ र वास्तविकतालाई साहित्यकारले आफ्ना रचनामा उतार्दै स्थानीयलाई सुनाए। “ हालसम्म ६० स्थानमा पुगी साहित्यकारले त्यहाँका जीवन, भोगाइ र वास्तविकतालाई आफ्ना रचनामा उतारेका छन्”, उनले भने। पोखरेली साहित्यकारले संरक्षण कविता आन्दोलन शुरु गर्नु अघि २०५३ सालदेखि संरक्षण कविता यात्रा गर्दै आएका थिए। यात्रामा अन्नपूर्ण आधार शिविरलगायतका स्थानमा पुगेको स्मरण गर्दै उहाँले यही यात्राका जगमा संरक्षण कविता आन्दोलन थालिएको बताए।

संरक्षण कवितामा बढ्दो सहभागिताले नयाँ कवि तथा कवयत्री तयार गर्‍यो भने विविध साहित्यिक गतिवधि बढाउन वातावरण बनायो। यसैबीचमा साहित्यका माध्यमबाट गाउँ पर्यटनलाई जोड्ने मुख्य उद्देश्यसाथ २०६२ असार १८ गते लेखनाथको सुन्दरीडाँडाबाट पोखराको अर्को साहित्यिक अभियान ‘अक्षरयात्रा’ थालियो। गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरको संयुक्त आयोजनामा सञ्चालित अक्षरयात्रा प्रत्येक महिनाको तेस्रो शनिबार देशका विभिन्न ठाउँमा पुगेर कार्यक्रम गरिन्छ।

तिनताका साहित्य लेखनमा क्रियाशील प्रकट पगेनी शिव, दीपक समिप, कृष्ण उदासी, लक्ष्मण थापालगायतको सक्रियतामा शुरु अक्षरयात्राले १७३ औँ शृङ्खला कटाएको छ। ‘जीवन र जगत्को यथार्थ बोधका लागि अक्षरयात्रा’ नारासाथ समाजका यथार्थतालाई साहित्यिक रचनाका माध्यमबाट अक्षरयात्रीले पस्कने गरेका नवनित साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले बताए।

अक्षरयात्रीले रमणीय पर्यटकीय गाउँ, ठाउँदेखि मसानघाटसम्म पुगेर जीवन जगत्का भोगाइ र वास्तविकतालाई आफ्ना रचनामा उतारेका छन्। यसले पोखरामा नयाँ साहित्यकार जन्माउन योगदान गरिरहेको गजल सन्ध्या पोखराका निवर्तमान अध्यक्ष अमृत सुवेदीले बताए। अनुभव सुनाउँदै उने भने, “लुकेका प्रतिभाको प्रष्फुटनका लागि अक्षरयात्रा वरदान सावित भएको छ।” अक्षरयात्रीले प्रकृति, सुख, दुःख, सामाजिक मूल्यमान्यता आदि विम्बलाई टपक्क टिप्दै रचनमा पोख्ने गरेको उनको भनाइ थियो।

पोखरामा साहित्यिक गतिविधिलाई चलायमान बनाउन पछिल्लो समयमा देखिएको अभियान हो, ‘पुछारसिटे अभियान’। क्षमता भएर पनि विभिन्न कारणले अवसर नपाएका साहित्यकारलाई अघि ल्याउने लक्ष्यसाथ डेढ वर्षदेखि यो अभियान थालिएको संयोजक सञ्जीव पौडेलले जानकारी दिए। अभियानले प्रत्येक माघे सङ्क्रान्तिमा घ्यू, चाकु र तरुलसँग तथा असार १५ गते दही चिउरासँग कविता शीर्षकमा कार्यक्रम गर्दै आएको छ। अन्य साहित्यक कार्यक्रम, परिचर्चा पनि गर्ने गर्छ।

पोखरेली साहित्यिक गतिविधिलाई अघि बढाउन सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, गीताञ्जली साहित्य परिवार, आलोक साहित्य सदन, पोखरेली युवा सांस्कृतिक परिवार, नेपाल प्राज्ञ मञ्च, लेखनाथ साहित्य प्रतिष्ठान, लोककवि अलिमिया वाङ्मय प्रतिष्ठान, भानु वाङ्मय प्रतिष्ठान आदिले योगदान गर्दै आएका छन्। त्यस्तै पोखरा आर्ट काउन्सिलमा समय समयमा हुने चित्रकला प्रदर्शनी, पोखरा थिएटरमा हुने नाटक प्रदर्शनीले यहाँको साहित्य, कलालगायतका गतिविधि अघि बढाएको छ।

साहित्यिक गतिविधि बढाउने गरी थालिएका विभिन्न आन्दोलन, अभियान एवं सङ्घ संस्थाका क्रियाशीलताले पोखरामा साहित्यिक गतिविधिलाई चलायमान बनाइरहेको लोकतान्त्रिक प्रतिष्ठानका निवर्तमान अध्यक्ष डा जगन्नाथ रेग्मी बताउछन्। “यस्ता गतिविधिले नेपाली साहित्याकाशमा नयाँ प्रतिभा तयार गर्न योगदान दिइरहेको छ”, उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ