arrow

क्षेप्यास्त्र हानेर विमान खसालेको तालिबानको दावी, अमेरिका भन्छ : होइन

logo
एएफपी,
प्रकाशित २०७६ माघ १४ मंगलबार
us-plane-crash-afghanistan.jpg

घाज्नी। अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार दुर्घटनाग्रस्त विमान आफ्ना लडाकूहरुले खसालेको दाबी अफगानिस्तानको तालिबान समूहले गरेको छ। तर पनि सो दुर्घटनाग्रस्त विमान तालिबानले खसालेको भनी दिएको प्रतिक्रियाको अमेरिकाले भने खण्डन गरेको छ। अफगान अधिकारीहरुले पनि सो भनाइ सत्य नरहेको बताएका छन्। 

घाज्नीमा सोमबार दुर्घटनामा परेको विमान अमेरिकी यात्रुबाहक विमान थियो वा सैनिक विमान भन्ने बारेमा भने कुनै जानकारी दिइएको थिएन।अफगानिस्तानको स्थानीय समयानुसार सोमबार दिउसो १ बजेर १० मिनेट जाँदा घाज्नी राज्यको देहयाक जिल्लामा सो विमान दुर्घटनाग्रस्त भएको त्यहाँका प्रत्यक्षदर्शी स्थानीयबासीले जानकारी गराएका छन्।

अफगानिस्तानमा हत्या हिंसा मच्चाइरहेका तालिबानहरुको संगठनका प्रवक्ता जबिउल्लाह मुजाहिदले मङ्गलबार ट्वीट गर्दै तालिबान संगठनका लडाकूहरुले सोमबार घाज्नी प्रान्तमा एक अमेरिकी विमान खसालिदिएको बताएका छन्।

उनले आफ्नो संगठनका प्राविधिक लडाकूहरुले क्षेप्यास्त्रका माध्यमबाट सो विमान खसालेको बताएका छन्। उनले भने उक्त विमान अमेरिकी गुप्तचर निकायको रहेको र त्यसमा अमेरिकी गुप्तचर निकायका उच्च अधिकारीहरु रहेका बताएका छन्।

सो विमानमा ती सबै अधिकारीहरु मारिएको प्रवक्ता मुजाहिदले जानकारी दिए। उनले विमानमा रहेका गुप्तचर निकायका वरिष्ठ अधिकारीहरु मारिएका छन् र उनीहरुको शव विमान खसेको वरपर छरिएर रहेका छन् भनी ट्वीटरमा लेखेका छन्।

तर पनि उनको सो भनाइको अमेरिकाले भने खण्डन गरेको छ। सो विमानको दुर्घटनाको प्रकृति हेर्दा तालिबानहरुले क्षेप्यास्त्र हानेर वा अन्य कुनै बाह्य कारणले विमान खसेको जस्तो नदेखिएको उनीहरुको भनाई छ।

अफगानिस्तानमा रहेको अमेरिकी सैन्यका प्रवक्ता विलियम लिगेटले सो विमान तालिबानले खसालेको भन्नेमा आफूलाई विश्वास नरहेको बताए। उनले उक्त विमानको दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ तर पनि तालिबान या अरु कुनै पनि बाह्य कारणले खसालिएको भनी गरिएका दाबीहरुमा कुनै सत्यता छैन– उनले बताएका छन्।

सोमबार नै सो दुर्घटनाग्रस्त विमानमा आगो लागिरहेको स्थानीयले बताएका थिए। उनीहरुले विमानको आगो निभाउने प्रयास गरिरहेको पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका भिडियोमा देखिएको थियो।

गजनी अफगानिस्तानको पूर्वी प्रान्त हो। उक्त प्रान्तमा तालिवान विद्रोहीको प्रभाव रही आएको छ। सोमबार केही विदेशी सञ्चारले विद्रोहीको प्रभाव बढी रहेका कारण उक्त क्षेत्रमा पुग्न सुरक्षा अधिकारीलाई पनि कठिनाई भएको बताइएको थियो।

द्वन्द्वरत अफगानिस्तानमा सेनाले प्रयोग गर्ने विमान र त्यसको सुरक्षा पनि विशेष किसीमको हुने गर्दछ भनिन्छ। भौगोलिक विकटताका कारण यहाँ धेरै दुर्घटनाहरु हुने गरेको पनि पाइन्छ। अफगानिस्तानमा सन् २०१० मा पामिर एयरवेजको यात्रुबाहक विमान राजधानी काबुलबाट कुन्दुजका लागि जाने क्रममा दुर्घटना हुँदा छ चालकदलका सदस्यसहित ३८ यात्रुको मृत्यु भएको थियो।

विमान काबुलबाट २० किलोमिटर टाढा हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। त्यसयता पनि यहाँ साना विमानहरु र हेलिकोप्टरहरु दुर्घटनाग्रस्त भएका छन्। यस पटकको यस विमानमा भएको क्षतिको बारेमा केही बताइएको छैन। सुरक्षा अधिकारीहरुले पनि यस विषयमा अनुसन्धान जारी रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ