arrow

मानिसमा सरेका प्राणघातक भाइरसहरू जसले लियो करोडौंको ज्यान

logo
हाम्राकुरा विशेष,
प्रकाशित २०७६ माघ १८ शनिबार
coronavirus-molecular.jpg

काठमाडौं। अहिले चीनको हुवेई प्रान्तमा देखिएको कोरोना भाइरस सन्त्रास विश्वभर फैलिएको छ। कोरोना भाइरसको कारण चीनमा मृत्यु हुने मानिसको संख्या २ सय ५८ नाघिसकेको छ। यसले पनि यो भाइरसको सन्त्रास बढेको हो। अहिलेसम्म चीनभन्दा बाहिर यो भाइरसबाट मर्नेको पत्ता भने लागेको छैन। कोरोना भाइरसको अहिले देखिएको प्रजाति २०१९–एनसीओभी कोरोना भाइरस हो। यो भाइरस सर्पबाट मानिसमा सरेको हुनसक्ने विभिन्न अनुसन्धानले देखाएको छ।

वैज्ञानिकहरुका अनुसार यो भाइसय चिनियाँ क्रेट र कोब्रा प्रजातिको सर्पबाट मानिसमा सरेको हो। यो भाइरस पहिलो पटक सन् २०१९ को डिसेम्बरमा देखिएको थियो। अहिले यो भाइरस निकै तीव्र गतिमा फैलिरहेको छ। यसबाट संक्रमतिको संख्या पनि १० हजार नाघिसकेको छ। यसको संक्रमण विश्वभर फैलिसकेको छ। यसको औषधि पत्ता लगाउन अहिले विश्वभरका वैज्ञानिकहरुले काम गरिरहेका छन्।

चीनको वुहानमा निस्किएको यो भाइरसको विषयमा विभिन्न कुराहरु अध्ययनले देखाएको छ। तर, अहिले पनि अवैधरुपमा जनावरहरुको व्यापार हुने स्थानबाट यो भाइरस आएको हुनसक्ने अनुमान गरिएको छ। पछिल्लो समय चीन स्वाइन फ्लुको मारमा परिरहेको अवस्थामा चीनमा अर्को भाइरसको संक्रमणले पनि चीन आक्रान्त देखिएको छ। तर, चीनको जनावरको बजार पनि वैध तथा नियमसंगत नहुने गरेको स्पष्ट देखिन्छ।

यस्ता अवैध बजारबाट आएका मासु पनि राम्रोसँग पकाएर नखाने गर्नाले पनि विभिन्न किसिमको भाइरस फैलिने गरेको विश्लेषण गरिएको छ। बर्ड फ्लु, स्वाइन फ्लु र अहिले कोरोना भाइरस गरी निरन्तर चीनमा भाइरसको प्रकोप बढिरहेको देखिन्छ। त्यसो त यसअघि पनि चीनमा विभिन्न किसिमको भाइरसको प्रकोप फैलिएको देखिन्छ। अहिले निस्किएको भाइरसको प्रकोप पनि त्यसकै निरन्तरता हो। यहाँ जनावरबाट मानिसमा सरेका केही प्राणघातक भाइरस उल्लेख गरिएको छ – 

१. इबोला 
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार इबोला भाइरस चमेराबाट मानिसमा सरेको अनुमान छ। अन्य त्यसका अन्य बाँदर गोरिल्ला लगायतका जनावरबाट पनि यो भाइरस मानिसमा सर्नसक्ने बताइएको छ।

यो भाइरस इबोला संक्रमितसँगको रगत लिने, यौनसम्पर्क, शरीरको अंग लिने साथै संक्रमितको र्‍याल सिँगानले पनि स्वस्थ व्यक्तिमा सर्न सक्छ। त्यसका साथै त्यसका साथै बिरामी वा इबोला लागेको जनावरसँगको सम्पर्कबाट अन्य जनावरमा पनि यो भाइरस सर्न सक्छ। इबोला भाइरस पहिलोपटक सन् १९७६ मा अफ्रिकामा पत्ता लागेको थियो। अहिलेसम्म यो भाइरसबाट ११ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। 

२. एचआईभी-एड्स 
एचआईभी अर्थात् ह्युमन इम्युनोइफिसिएन्सी भाइरसको विषयमा धेरैलाई थाहा छ। यो भाइरसले मानिसको शरीरमा प्रवेश गरेपछि प्रतिरक्षा प्रणालीमा असर गर्छ। यो भाइरस पनि बादरबाट मानिसमा सरेको हुनसक्ने अनुमान गरिएको छ। यो भाइरस शरीरमा प्रवेश गरेपछि कुनै पनि घाउ वा चोट शरीरमा लागेमा निको हुन निकै गाह्रो हुन्छ वा लामो समय लाग्छ। डब्यूएचओका अनुसार एचआईभीको जटिल रुप एड्स हो। अहिले पनि विश्वभर यो भाइरसको कारण वर्षेनी कैयौंको ज्यान जाने गरेको छ।

सन् २०१९ को तथ्यांक अनुसार यसबाट ३ करोड २० लाख मानिसको ज्यान गइसकेको छ। सन् २०१८ को अन्तिमसम्ममा विश्वभर १ करोड ७९ लाख मानिस एचआईभी संक्रमित रहेको डब्ल्यूएचओको तथ्यांक छ। यो रोग पनि असुरक्षित यौन सम्पर्क, निर्मलीकरण नगरिएको धारिलो हतियार, संक्रमितको रगत तथा अंग लिनाले स्वस्थ मानिसमा सर्न सक्छ।

साथै संक्रमित महिलाले स्तनपान गराउँदा पनि बच्चामा यो रोग सर्न सक्छ। अहिले यो भाइरसको प्रभाव कम गर्ने केही एन्टिरोट्रोभाइरस थेरापी दिइने गरिएको छ। यसले यो रोगको विस्तारको गति कम गर्न सक्छ। तर, यसबाट अझैं पनि लाखौं मानिस बञ्चित छन्। 

३. प्लेग 
द ब्ल्याक डेथबाट चिनिएको ब्युबोनिक प्लेगबाट २ करोड ५० लाख मानिसको ज्यान गरेको आकलन छ। यो भाइरस चीनबाट निस्किएको थियो। त्यसपछि यो बिस्तारै यूरोपसम्म फैलिएको थियो। तर, यो १३३४ देखि १३४० को दशकसम्म चलेको थियो। 

इतिहासलाई हेर्ने हो भने यसको तीन प्रजाति हुने गरेको पाइन्छ। ब्युबोनिक, सेप्टियामिक र न्यूमोनिक यसका प्रकार हुन्। यो भाइरस येसिनिया पेस्टिस ब्याक्टेरियाबाट लाग्छ। यस्ता भाइरस निकै साना स्तनपायी जनावरमा पाइन्छ। यो भाइरसको संक्रमण संक्रमित जनावरको टोकाइ तथा र्‍यालबाट मानिसमा लाग्छ। सबै महादेशमा यसले राम्रो प्रभाव पारेको छ। यो सबैभन्दा मानिसको ज्यान लिनेमध्येको एक भाइरस हो।

४. सार्स
सन् २००३ मा चीनमा कोरोना भाइरसकै अर्को प्रजाति सार्स चीनमा देखिएको थियो। यसको पूरा रुप सर्भ एक्युट रेस्पाइरोटरी सिन्ड्रोम हो। यो भाइरस चमेराबाट मानिसमा आएको थियो। पछि यो भाइरस बिरालोमा पनि सरेको थियो। चीनको गुआङडोङ प्रान्तमा यो भाइरसको पहिलो संक्रमण देखिएको थियो। डब्ल्यूएचओका अनुसार सन् २००२ को नोभेम्बरदेखि २००३ को जुलाई सम्म यो रोगको प्रकोप देखिएको थियो। यसबाट ८ हजार ९८ जनामा संक्रमण देखिएको थियो भने ७ सय ७४ जनाको ज्यान गएको थियो। सार्स भाइरसको पनि औषधि पत्ता लागेको छैन। तर, यसको लागि श्वासप्रश्वासमा सजिलो हुने केही औषधि, एन्टिबायोटिक्स लगायत रोक्न सहयोग गर्ने केही उपचारको प्रयोग गर्न सकिन्छ। 

५. मार्स
सन् २०१२ मा पनि कोरोना भाइरसको एक प्रकार मार्स निस्किएको थियो। यसको पूरा रुप हो–मिडिल इस्ट रेस्पाइरेटरी सिन्ड्रोम। यो भाइरसको बारेमा पनि पूर्णरुपमा जानकारी पाउन सकिएको छैन। यो भाइरस शुरूमा चमेराबाट निस्किएको थियो र पछि उँटमा पनि सरेको थियो।

अध्ययनले यो भाइरस संक्रमित उँटसँगको सम्पर्कबाट सरेको खुलेको थियो। यो भाइरस २७ मुलुकमा फैलिएको थियो। डब्ल्यूएचओका अनुसार यो भाइरसबाट विश्वभर तीन हजार मानिसमा संक्रमण देखिएको थियो। जसमध्ये ८० प्रतिशत साउदी अरेबियामा देखिएको थियो। संक्रमितमध्ये झण्डै ३५ प्रतिशत अर्थात् ८ सय ५८ जनाको ज्यान गएको थियो। 

६. रेबिज 
रेबिज सर्ने ९९ प्रतिशत कारण कुकुर हो। अमेरिकी क्षेत्रमा भने चमेराबाट मानिसमा रेबिज रोग लाग्ने दर बढी छ। धेरैजसो रेबिजको कारणले हुने मृत्यु अफ्रिका र एसियामा देखिएको छ। यी दुई क्षेत्रमा समग्र मृत्युको ९५ प्रतिशत हिस्सा ओगटेको छ। डब्ल्यूएचओका अनुसार अहिले १ सय ५० मुलुकमा वार्षिक ५ हजार ९ सयको ज्यान जाने गरेको छ। 

७. इन्फ्लुएन्जा 
जनावरहरुबाट मानिसमा इन्फ्लुएन्जा फैलिने गरेको छ। यो क्रममा स्वाइन फ्लु र एभियानजस्ता भाइरस यसको उदाहरण हुन्। डब्ल्यूएचओका अनुसार जनावरसँगको प्रत्यक्ष सम्पर्कले यस्तो भाइरस मानिसमा सर्छ। इन्फ्लुएन्जा लागेको लक्षण ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, नाकबाट पानी बहने, टाउको दुख्ने, जिउ दुख्ने, थकान महशुस हुने, पखाला लाग्ने र बान्ता हुने हुन्छ। विश्वभर इन्फ्लुएन्जाको ३० देखि ५० लाख संक्रमण हुने गरेको छ। साथै वायुसँग सम्बन्धित बिरामिको करण ३ लाखदेखि ६ लाख ५० हजारसम्मको ज्यान जाने गरेको छ। 

८. निपा भाइरस 
निपा भाइरस पनि चमेरा वा सुँगुरजस्ता जनावरबाट मानिसमा सर्न सक्ने भाइरस हो। त्यसका साथै दूषित खानेकुरा तथा संक्रमित मानिसबाट पनि अर्को मानिसमा यो भाइरस सर्न सक्छ। यो भाइरस सन् १९९९ मा मलेसियामा देखिएको थियो। त्यसयता अहिलेसम्म यो भाइरस भने देखिएको छैन। यो भाइरसले पनि धेरै मानिसको ज्यान गएको थियो।

चीनमा पछिल्लो समय फैलिएको भाइरसबारे भने केहीले यो चीनको चाल भएको बताइरहेका छन्। अर्को महत्वपूर्ण कुरा चीनमा जतिबेला पनि भाइरसको प्रकोप बढ्छ, त्यतिबेला चीनले ढाँट्ने गरेको आरोप लाग्ने गरेको छ। यो पटक चीनले आफूमाथि लागेको दाग मेट्ने प्रयास गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तारिफ गरिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ