arrow

छोटो समयमा अर्थतन्त्र ध्वस्त भएका मुलुक 

उल्लेख्य आर्थिक प्रगति गरेका मुलुक

logo
हाम्राकुरा विशेष,
प्रकाशित २०७६ माघ २२ बुधबार
venezuela-libya.jpg

काठमाडौं। कुनै पनि मुलुकको अवस्था कस्तो छ भन्ने कुरा उसको अर्थतन्त्रले देखाउँछ। तर, पछिल्लो समय विश्वभर आर्थिक क्षेत्र कमजोर बन्न पुगेको छ। यसले विश्वभरका मुलुक समस्यामा परेका छन्। यस्तोमा केही मुलुकले छोटो समयमा नै आर्थिक समृद्धि हासिल गरेका छन् भने केहीको आर्थिक अवस्था पनि निकै कमजोर बनिसकेको छ। नेपालमा पनि आर्थिक विकास निकै सुस्त गतिमा भइरहेको छ भन्ने आवाज पनि उठिरहेको छ। यस्तोमा यहाँ छोटो समयमा नै आर्थिक समृद्धि तथा पतनको बाटोमा लागेका मुलुकको उल्लेख गरिएको छ। 

छोटो समयमा अर्थतन्त्र ध्वस्त भएका मुलुकहरू 
१. लिबिया 

छोटो समयमा आर्थिक हिसाबमा सम्पन्न बन्दै गरेको मुलुकबाट आर्थिक पतनको दिशामा गएको मुलुक हो– लिबिया । कुनै समय यो मुलुक आर्थिक हिसाबमा सबल बन्दै गएको थियो र मानिसको जीवन स्तरमा पनि धेरै सुधार आइसकेको थियो। तर, अहिले यो उसको लागि कुनै कथा बन्न पुगेको छ । सन् २०११ मा लिबियाका शासक मुआमार अल–गद्दाफीको पतनसँगै लिबियाको पनि आर्थिक क्षेत्र कमजोर बन्न पुग्यो । गद्दाफी नै लिबियाको समस्या रहेको भन्दै उनको विरुद्धमा ठूलो जनसागर उत्रिएको थियो । तर, उनको पतनपछि भने मुलुकमा झन् अशान्ति फैलियो । अहिले पनि यो मुलुकमा हिंसा जारी छ, चरमपन्थीको आक्रमण, धार्मिक द्वन्द्व र बाह्य हस्तक्षेपको कारण यो मुलुकको अर्थतन्त्र अहिले निकै धराशायी बन्न पुगेको छ। 

तेलको धनी मुलुक लिबिया कुनै समय अफ्रिकाको एक समृद्ध मुलुकमध्येको थियो । गद्दाफीले लिबियालाई अफ्रिकी तथा अरब क्षेत्रमा सबैले मान्ने र प्रशंसा गर्ने मुलुकको रुपमा विकास गरेका थिए । उनले मुलुकको शिक्षा, स्वास्थ्य, आवास, सार्वजनिक काम र विद्युत् सहुलियत लगायत क्षेत्रमा मुलुकलाई अगाडि बढाएका थिए । सन् १९६९ मा अफ्रिकाको सबैभन्दा गरीब मुलुक लिबिया सन् २०११ मा मानव विकास सूचकांकमा अफ्रिकाको सबैभन्दा राम्रो अंक ल्याउने मुलुक बनेको थियो । गद्दाफी मारिँदै गर्दा लिबिया अफ्रिकाको सबैभन्दा बढी जीडीपी भएको मुलुक थियो । नेदरल्याण्ड्सको भन्दा पनि कम मानिसहरु गरीबीको रेखामुनि थिए । 

अहिले भने लिबियाको अर्थतन्त्र नाटकीय हिसाबमा कमजोर बनेको छ । गरीबी तथा बेरोजगारी पनि अत्यधिक बढेको छ । मुलुकभर भड्किएको हिंसाले जनजीवन अस्तव्यस्त बनेको छ भने धेरै मानिसहरु पुनः गरीबीको रेखामुनि पुगेका छन् । स्वतन्त्रताको खोजीमा यो मुलुक झन् नराम्रोसँग पतनको बाटोमा अग्रसर देखिन्छ । 

२. भेनेजुयला 
पछिल्लो केही वर्षमा धनी मुलुकबाट आर्थिक हिसाबमा पतनको बाटो रोजेको मुलुक भेनेजुयला हो । अहिले यो मुलुक चरम आर्थिक संकटको सामना गरिरहेको छ । मुलुकमा व्यापक अस्थिरता जारी छ । महँगी आकाशिएको छ । राजनीतिक खिचातानी त्यतिकै छ भने बाह्य हस्तक्षेपले जरा गाडिसकेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका अनुसार भेनेजुयलाको अर्थतन्त्र सन् २०१३–२०१७ को अवधिमा एक तिहाइ घटेको थियो । साथै, त्यसयता पनि यो मुलुकको अर्थतन्त्र निरन्तर घट्दो क्रममा छ । यसबाट पनि यो मुलुक कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने कुरा स्पष्ट हुन्छ । यहाँको मुद्रास्फीति विश्वको सबैभन्दा बढी र उसको कीर्तिमान कसैले तोड्न नसक्ने गरी चुलिएको छ । तेलको धनी मुलुकको रुपमा चिनिने भेनेजुयलाको लागि अब भने तेलको बजार पनि निकै कमजोर बन्न पुगेको छ । व्यापक मात्रामा अवैध गतिविधि बढेसँगै समग्र अर्थतन्त्र कमजोर बन्न पुगेको हो । 

भेनेजुयलामा ह्युगो चाभेजपछि अहिले निकोलास मदुरोले आफ्नो सत्ता सम्हालिरहेका छन् । यस्तोमा भेनेजुयलाको लागि आर्थिक पतनको कारण पनि मदुरो भएको बताइएको छ । उनले सही तवरले सत्ता सम्हाल्न नसक्दा मुलुक यो अवस्थामा पुगेको विश्लेषकहरुले बताएका छन्। त्यस्तै आर्थिक हिसाबमा सम्पन्नबाट विपन्न बनेका अन्य मुलुकहरुमा जिम्बाबे, लेबनान, सिरिया लगायत छन् । 

उल्लेख्य आर्थिक प्रगति गरेका मुलुकहरू 
१. कतार

पछिल्लो समय आर्थिक हिसाबमा महत्वपूर्ण अर्थिक सुधार गर्ने मुलक कतार हो । यो मुलुकले छोटो समयमा नै कतारले आर्थिक हिसाबमा उल्लेख्य सुधार गरेको हो । मुलुकको ग्यास तथा तेलको पहिचान तथा व्यापारलाई नै कतारले आफ्नो हतियार बनायो र यसले मुलुकलाई समृद्धिको दिशामा ल्याउन निकै ठूलो सहयोग गर्‍यो। क्षेत्रफलको हिसाबमा निकै सानो मुलुक कतार सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको मुलुकमध्येको एक हो । साथै उसले आफ्ना छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायबाट झेलिरहेको अवरोधका बीचमा उसले उक्त आर्थिक सुधार भएको हो । त्यसैले पनि कतारले गरेको आर्थिक सुधारको प्रशंसा हुने गरेको छ । कतारले हासिल भएको आर्थिक सुधारले जस्तोसुकै कठिन परिस्थितिको पनि सामना गर्ने पाठ भने सिकाएको छ । 

२. इजरायल 
इजरायल पनि आर्थिक हिसाबमा महत्वपूर्ण सुधार हासिल गर्ने मुलुक हो । यो मुलुकले पछिल्लो केही वर्षमा महत्वपूर्ण रूपमा सुधार गर्दै आफूलाई एक महत्वपूर्ण चरणमा पुर्‍याएको छ । यो मुलुकले आफ्नो आर्थिक तथा मानिसको जीवनस्तरमा पछिल्लो केही वर्षमा व्यापक सुधार हासिल गरेको छ । मुलुकको उत्पादा बढाउँदै आर्थिक हिसाबमा इजरायलले सुधार हासिल गरेको हो । विशेषगरी यो मुुलुकले कृषि क्षेत्रमा गरेको सुधारको मुक्तकण्ठले प्रशंसा हुने गरेको छ । उसले आर्थिक हिसाबमा गरेको प्रगतिको श्रेय पनि उसले लिएको नीतिलाई लिन सकिन्छ । त्यसका साथै समयसँगै इजरायलले आफूलाई पनि प्रविधिमैत्री बनाउँदै कृषि क्षेत्रमा सुधारको योजना उसले बनाएको हो । उसले समय अनुसार कुनै पनि मुलुकले आफ्नो क्षमतामा सुधार गर्नु उत्तिकै आवश्यक छ भन्ने राम्रो शिक्षा पनि दिएको छ । 

पछिल्लो समय इथियोपिया, मंगोलिया, घाना, तुर्केमेनिस्तान लगायत मुलुकले पनि उल्लेख्य आर्थिक सुधार हासिल गरिरहेका छन्। आर्थिक सुधारको मामिलामा कुनै पनि मुलुकलाई पनि अवरोध सृजना नहुने होइन । तर, महत्वपूर्ण विषय उक्त मुलुकले यसलाई कुन हिसाबमा लिने हो भन्ने नै हो । आर्थिक सफलता हासिल गरेका मुलुकको समृद्धिको बाटोमा कुनै समस्या नआएको भने होइन । उनीहरुको सफलतासँग मुलुकको सही नेतृत्व र लगनशीलता जोडिएको छ । नेपालमा पनि आर्थिक विकास सुस्त हुने गरेको चर्चा हुने गरेको छ।

साथै अनुमान गरेअनुसारको आर्थिक विकास हुन नसक्नुको पछाडि मुलुकमा देखिएको विभिन्न किसिमको समस्या देखिन्छ । साथै सही नेतृत्व भएन भने कुनै पनि समयमा लामो समयदेखि बचाइराखेको अर्थतन्त्र ध्वस्त हुन पनि समय लाग्दैन । पछिल्लो समय आर्थिक हिसाबमा महत्वपूर्ण सुधार हासिल गर्ने मुलुक पनि राजनीतिक हिसाबमा स्थायित्व भएका र सुशासनको प्रणाली विस्तार भएका मुलुक हुन् । अहिले नेपाल पनि राजनीतिक स्थायित्व र पुनर्संरचनाको दिशामा अघि बढेको छ । अहिलेको गति कायम राख्न सकेको खण्डमा अबको केही वर्षमा यसको प्रभाव आर्थिक विकासको रुपमा देखिन सक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ