arrow

तीन योजनामा ५३ लाख ७२ हजार अनियमितता

logo
जीवन शर्मा,
प्रकाशित २०७६ फागुन १ बिहिबार
okhals.jpg

ओखलढुंगा । ओखलढुंगाका विभिन्न स्थानीय तहमा सञ्चालित तीन वटा विकास योजनामा ५३ लाख ७२ हजार अनियमितता भएको छ । जिल्ला समन्वय समिति ओखलढुंगाले गरेको अनुगमन पछि सार्वजनिक गरेको प्रतिवेदनमा ५३ लाख ७२ हजार ४ सय त्रीसठ्ठी रुपौया अनियमितता भएको उल्लेख छ  ।

 जिल्ला समन्वय समितिले चालु आर्थिक बर्षमा अनुगमन गरेका योजना मध्य मोलुङ एकवार हर्कपुर पात्ले सडक आयोजना सुनकोशी– ६, भुल्के, निशंखे खेलमैदान निर्माण योजना सि.न.पा –२ र ढुस्के पोक्तीङखोला बरुणेश्वर विगुटार सडक निर्माण योजनाको प्रतिवेदन सार्वजनिक गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले पत्रकार सम्मेलन गरी अनुगमनको प्रतिवेदन सार्वजनिक गरे ।

ढुस्के पोक्तीङखोला बरुणेश्वर विगुटार सडक निर्माण योजनामा सबै भन्दा बढी अनियमितता भएको देखिएको छ । उक्त सडक पूर्वाधार विकास कार्यालय अन्तरगत ६२ लाख ९३ हजारमा सम्झौता भएकोमा कार्यालयले काम सम्पन्न गर्दा ५७ लाख सतासी हजार भुक्तानी गरेको पाइएको छ । उक्त सडक जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन सहितको प्राविधिक टोलीले अनुगमन गरी नाप जाँच गर्दा लागत रकम २३ लाख ८५ हजार छ सय तेह्र रुपौंया मात्र निस्कीएको छ । यसरी हेर्दा सो सडकमा ३४ लाख एक हजार सात सउ त्रीयानव्वे अनियमितता भएको पाइएको जिल्ला समन्वय समितिले जनाएको छ ।

त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय अन्तरगतको निशंखे खेलमैदान निर्माण योजनाको रकम ५० लाख भएकोमा उपभोक्ता समितिलाई ४७ लाख २२ हजार भुक्तानी भएको छ । उक्त योजनाको अनुगमनका क्रममा प्राविधिकले ३४ लाख १६ हजारको मात्र काम भएको र १३ लाख पाँच हजार रकम अनियमितता भएको प्रतिवेदन निकालेको छ ।

उता मोलुङ एकवार हर्कपुर पात्ले सडक आयोजना पनि ६ लाख ६५ हजार रकम अनियमितता भएको अनुगमन प्रतिवेदनमा सार्वजनिक गरिएको छ । सडक डिभिजन कार्यालय हर्कपुरले ३३ लाख ९४ हजारमा ठेक्का लगाएको र २६ लाख २९ हजारको मात्र विल भुक्तानी गरेको उक्त योजनाको काम १९ लाख ६३ हजारको मात्र भएको पाइएको छ । नागरिकको तहबाट गुनासो रहदै आएका विकास निर्माण सम्बन्धि विभिन्न योजनाको अनुगमन गर्ने क्रममा प्राविधिक सहितको टोलीले प्राविधिक तथा आर्थिक मूल्यांकन गर्दा देखिएका तथ्यहरुलाई आम नागरिक समक्ष सार्वजनिक गरिएको जिल्ला समन्वय समितिका प्रमुख जय बहादुर श्रेष्ठले बताए ।

उल्लेखित सबै योजनाहरु प्रदेश सरकार अन्तरगतका हुन । पछिल्लो समयमा विकाका योजनामा ठुलो मात्रामा बजेट अनियमितता भएको हुँदै आएको आम जनगुनासो बढ्दै गएको छ । स्थानीय तहको निर्वाचन भएपश्चात शुशासन बृद्धि हुनुका साथै आम नागरिकको पक्षमा विकासले फड्को मार्ने अनुमान गरेका नागरिकहरुले अहिले गाउगाउमा छोटे राजा निस्किएको गुनासो गर्न थालेका छन् । निर्वाचन अघि २ बर्षमा हुँने भ्रष्टाचार भन्दा अहिले ६ महिनामै बढी हुने गरेको नागरिक समाजका व्यक्तिहरुको भनाइ छ । उल्लेखित योजनाको अनियमितताका विषयमा जिल्ला समन्वय समितिले माथिल्लो निकायमा र सम्बन्धित कार्यालयलाई लेखि पठाउने प्रमुख श्रेष्ठले बताए । चालु आर्थिक बर्षमा अन्य योजनाहरुको समेत अनुगमन गरेको र सोको प्रतिवेदन तयार हुँदैगरेकाले केही समयपछि  सार्वजनिक गरिने जिल्ला समन्वय समितिका सल्लाहाकार गोपालमान थापाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ