arrow

गोल्छाले नै किन उठाए महासंघप्रति आर्थिक अनियमितताको प्रश्न ? 

logo
प्रकाशित २०७६ फागुन २ शुक्रबार
shekhar-golchha-fncci.jpeg

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफ्नै संस्था महासंघप्रति आर्थिक अपारदर्शिताको गम्भीर प्रश्न उठाएका छन् ।

उनले महासंघको अकाउन्टिङ प्रणाली अपारदर्शी भएको खुलासा गरेका हुन् । विराटनगरमा बिहीबार आयोजित महासंघकै एक कार्यक्रममा सार्वजनिक रुपमा बोल्दै उनले भने– हाम्रो अकाउन्टिङ सिस्टम अपारदर्शी छ, जुन कुरा यहाँ बोल्दा पनि मलाई लाज लागेर आउँछ ।

उनले नेपाल उद्योग वाणिज्य महासंघ एक सार्वजनिक संस्था भएकोले यसको वित्तीय प्रणाली पनि पारदर्शी हुनुपर्नेमा वर्तमान नेतृत्वले त्यसो गर्न नसकेको आरोप लगाएका छन् । 

उनले भने– म आफैले मेरो संस्थाको अकाउन्ट रिपोर्ट मागेको थिएँ, जुन प्राप्त भएको छ, त्यसलाई हेर्दा र यहाँ तपाईँहरुसँथ खुलासा गर्दा पनि बडो लाजमर्दाे अवस्था छ, त्यसैले म यहाँ सबैकुरा भन्न पनि सक्दिन ।

गोल्छा यसअघि नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्ष छन् । उनी अबको दुई महिनापछि अर्थात् आगामी चैतपछि महासंघको स्वतः अध्यक्ष बन्दैछन् । 

तर आफू दोस्रो व्यक्ति (सेकेन्ड मेन्ड) भएको संस्थाकै आर्थिक अनियमितताको बारेमा गोल्छाले यसरी प्रश्न उठाउनुलाई देशभरका उद्योगी व्यवसायीहरुले भने बडो अचम्मका रुपमा लिएका छन् । 

गोल्छाले हाल महासंघ निकै कमजोर रहेको र यसको साख इतिहासमै सबैभन्दा बढी गिरेको बताएका छन् । उनले सो कार्यक्रममा भने– हामी कमजोर भएका छौँ, हाम्रो सचिवायल कमजोर भएको छ जसका कारण संस्थाको साख गिरेको छ र हामीले कुनै प्रोजेक्ट गर्न पनि सकेका छैनौँ । 

वरिष्ठ उपाध्यक्ष गोल्छाले महासंघको अकाउन्टिङ सिस्टम नै अपारदर्शी भएका कारण नेपाल सरकार र विदेशी दाताहरुले पनि कुनै प्रोजेक्ट नदिएको खुलासा पनि गरे । 

उनले भनेका छन्– हामीमाथि उनीहरुको अपारदर्शीताको प्रश्न छ, उनीहरु सिधै तपाईँहरुको अकाउन्टिङ सिस्टम नै छैन भन्छन्, यो भन्दा लाजमर्दाे कुरा अरु के हुन्छ ? त्यसैले हामीलाई कुनै प्रोजेक्ट पनि प्राप्त भएको छैन, यसकारण पनि हामी अहिले निकै कमजोर भएका छौँ ।

गोल्छाले आफू दुई महिनापछि अध्यक्ष बन्न लागेकोले त्यसपछिको छ महिनाभित्र संस्थाको आर्थिक पारदर्शितालाई कायम राख्ने बताए । त्यसपछि आफूले संस्थाको विधान पनि परिवर्तन गर्ने उनले बताए । 

गोल्छा नेपाल उद्योग वाणिज्य महासंघमा केन्द्रीय सदस्य हुँदै उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुदासम्म १२ वर्षदेखि केन्द्रीय कार्यसमितिमा नै रही आएका छन् ।

तर आफू १२ वर्षसम्म कार्यकारी रुपमा रहेको संस्थामा भएको भनिएको यस्तो आर्थिक मुद्दामा उनी आफै पनि जिम्मेवार नरहेर आज आएर अध्यक्षमाथि मात्र यसरी सार्वजनिक रुपमा प्रश्न उठाउनुलाई विराटनगरकै उद्योग वाणिज्य महासंघकर्मीहरुले समेत गम्भीर रुपमा लिएको सोही कार्यक्रमपछि बताएका थिए ।    
   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ