arrow

सेनाको बिस्कुट खरिद प्रकरण : एउटै कम्पनीबाट खरिद गर्नु आपत्तिजनक

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
parlinment.jpg.jpeg
काठमाडौँ। व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नेपाली सेनाले सार्वजनिक खरिद ऐन विपरित (हाइ इनर्जी) बिस्कुट खरिद गरेको भन्दै चासो व्यक्त गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले बर्सेनि बिना प्रतिस्पर्धा एउटै कम्पनीबाट बिस्कुट खरिद गरेको भन्दै चासो व्यक्त गरेको हो । बैठकमा नेपाली काँग्रेसकी सांसद् महालक्ष्मी उपाध्याय ‘डिना’ले मुलुकमा हाइ इनर्जी बिस्कुटका अरु कम्पनी हुँदाहुँदै पनि एउटा मात्र कम्पनीबाट खरिद गर्नु आपत्तिजनक भएको बताइन् । 
 
नेकपा (एमाले)का सांसद् सुवास ठकुरीले सार्वजनिक खरिद ऐनको उल्लङ्घन गरेकोमा आपत्ति जनाउँदै नेपाली सेनाजस्तो सम्मानित संस्था ऐन विपरित जानु सुहाउँदो कुरा नभएको बताए । अरु कम्पनीलाई असर पर्नेगरी एउटै कम्पनीबाट बिस्कुट खरिद गर्नु दुःखद कुरा भएको एनेकपा (माओवादी)का सांसद् श्यामकृष्ण श्रेष्ठको भनाइ छ । “कुनै पनि कम्पनीले एक आपसमा स्वच्छ प्रतिस्पर्धा गर्न पाउनुपर्छ,” श्रेष्ठले भने । 
 
रक्षा मन्त्रालयका कामु सचिव सूर्यकान्त पन्थीले नेपाली सेनाले प्रयोग गर्ने बिस्कुट स्वास्थ्यका लागि राम्रो र सस्तो भएको बताए । समितिका सभापति भीष्मराज आङदेम्बेले नेपाली सेना सार्वजनिक निकाय भएकाले खरिद प्रक्रियामा ऐनअनुसार जान आग्रह गरे । उनले यसको सम्बन्धमा रक्षा मन्त्रालय, पदाधिकारी, उद्योग मन्त्रालय, सेना, नापतौल तथा गुणस्तर विभागका सरोकारवाला निकायसँग छलफल गर्ने जानकारी दिए । सेनाले हाल पशुपति बिस्कुट प्रालिमार्फत बिस्कुट खरिद गर्दै आएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ