arrow

किन अमेरिका चिनियाँ तथ्यांकमा विश्वास गर्दैन ?

logo
हाम्राकुरा विशेष,
प्रकाशित २०७६ फागुन ५ सोमबार
trump-xi-jingping.jpg

काठमाडौं। गत डिसेम्बरयता चीन नोभल कोरोना भाइरस (कोभिड–१९)को कारण समस्यामा छ। चीनको आधिकारिक तथ्यांक अनुसार यो भाइरसबाट अहिलेसम्म चीनमा मात्र १ हजार ७ सय ७० जनाको ज्यान गइसकेको छ। अन्य मुलुकमा थप ४ जनाको ज्यान गएको छ। यो भाइरसको कारण करिब ७० हजार मानिस संक्रमित रहेको बताइएको छ। यो भाइरस अहिले दुई दर्जनभन्दा बढी मुलुकमा फैलिइसकेको छ। 

यो भाइरसका एकजना संक्रमित नेपालमा पनि फेला परेका थिए। कोरोना भाइरसको महामारीबाट आफ्ना नागरिकलाई बचाउन विभिन्न मुलुकले चीनबाट आफ्ना नागरिकलाई फिर्ता लैजाने क्रम जारी छ भने यो भाइरसविरुद्ध लड्न उल्लेख्य मात्रामा रकम पनि विभिन्न मुलुकले छुट्याइसकेका छन्।

चीनको हुवेई प्रान्तबाट फैलिएको यो भाइरसको विषयमा चीनले दिएको तथ्यांकमाथि भने अमेरिका लगायत केही मुलुकले आशंका व्यक्त गरिरहेका छन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले गत साता चीनले दिएको सूचना र जानकारी सत्य रहेको विश्वास गर्न नसकिने बताएको थियो। कोरोना भाइरसको विषयमा चीनले वास्तविक तथ्यांक लुकाएको अमेरिकाको भनाइ छ।

चीनले भने कोरोना भाइरसको नियमित तथ्यांक दिइरहेको छ। उसले आफूले सत्यतथ्य र वास्तविक नतिजा सार्वजनिक गरेको दाबी गरेको छ।  अहिले चीनको विषयमा उब्जिएको आशंका हालसालैको घटनाक्रम भने होइन, केलाउँदै जाने हो भने यसको इतिहास सन् १९५० को दशकदेखि नै शुरु भएको पाइन्छ।

त्यतिबेला चीनले सार्वजनिक गरेको उत्पादनको तथ्यांक अवास्तविक रहेको अमेरिकी अधिकारीले बताएका थिए। सन् २००३ मा निस्किएको कोरोना भाइरसकै एक प्रकार सार्स भाइरसबाट ८ हजार ९८ जना संक्रमित भएको र करिब ८ सय मानिसको ज्यान भएको तथ्यांक चीनले सार्वजनिक गरेको थियो। यो तथ्यांकका साथै पछिल्लो २ दशकयता चीनले सार्वजनिक गर्दै आएको आर्थिक नतिजामा पनि विश्वास गर्न सकिने अवस्था नरहेको विज्ञहरुले बताएका छन्। ह्वाइट हाउसका सल्लाहकार पिटर नाभेरोले चीनलाई रोग लुकाउने स्थानको संज्ञा पनि दिएका छन्।

नयाँ भाइरसको विषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने चीनको प्रयास यसअघिको तुलनामा निकै राम्रो रहेको बताएको छ। चीनले यो भाइरस देखा पर्ने बित्तिकै यसको जानकारी सार्वजनिक गरेर वैज्ञानिकलाई यसको परीक्षणको मौका दिएको डब्ल्यूएचओको भनाइ छ।

डब्ल्यूएचओका विज्ञहरुले चीनको भ्रमण गर्ने योजना पनि तयार पारेका छन्। तर डब्ल्यूएचओको प्रशंसाको बाबजुद अमेरिकाले चीनको आलोचना गर्न भने छाडेको छैन। अमेरिकी अधिकारीले चीनले तथ्यांकमा आफ्नो पारदर्शिता नदेखाउनु निकै निराशाजनक रहेको बताएका छन्। चीनको यस्तो आलोचना गर्नु अमेरिकाको लागि नौलो भने पक्कै पनि होइन।

सार्स भाइरस
अहिले चीनको तथ्यांकको विषयमा देखिएको आशंकाको सम्बन्ध सन् २००३ मा चीनमा देखिएको सार्स भाइरससँग सम्बन्धित छ। सेटोन हल यूनिभर्सिटीको सेन्टर फर ग्लोबल हेल्थ स्टडिजका विदेश मामिला शोधकर्ता याङझोङ हुआङका अनुसार उक्त समयमा चीनले सार्स भाइरसलाई ढाकछोप गर्न गरेको प्रयासले चीनको विरुद्धमा अहिले आशंका उब्जिएका हुन्।

उक्त भाइरस पनि दुई दर्जनभन्दा बढी मुलुकमा फैलिएको थियो। विश्वका स्वास्थ्य अधिकारीले यसलाई पनि विश्व स्वास्थ्यको लागि एक चुनौती रहेको बताएका थिए। त्यतिबेला कमजोर व्यवस्थापन र सरकारी ढिलासुस्तीले उक्त भाइरस निकै छिटो विश्वभर फैलिएको आरोप चीनलाई लगाइएको थियो।

सबैभन्दा पहिला यो भाइरस सन् २००२ को नोभेम्बरमा निस्किएको अनुमान छ। तर, चीनले डिसेम्बरको मध्यमा मात्र सचेतना अपनाउन शुरु गरेको थियो। तर, उसले महिनौंसम्म पनि यो भाइरसबाट बिरामि भएका मानिसको जानकारी सार्वजनिक गरेको थिएन। पछि उसले यसबारे केही तथ्यांक सार्वजनिक गर्दै डब्ल्यूएचओसँग समन्वयको प्रयास गरेको थियो। तर, शुरुमा लुकाएको तथ्यांकको कारण चीनको विरुद्धमा चौतर्फी आक्रोश फैलिएको थियो। अहिलेको हकमा पनि धेरै कुरामा समानता भएको हुआङको भनाइ छ।

मुद्रा हेराफेरी 
गत वर्षको अगष्ट महिनामा ट्रम्प प्रशासनले चीनलाई मुद्रा हेराफेरी गरेको भन्दै आफ्नो मुद्रा हेराफेरीको सूचीमा चीनलाई राखेको थियो। त्यतिबेला अमेरिकाको माथिल्लो सदन सिनेटका डेमोक्रेटिक सिनेटर चुक स्कुमरले ट्रम्प आउनुभन्दा लामो समयअघि देखि चीनले मुद्रा हेराफेरी गर्दै आएको बताएका थिए। पछिल्लो समय भने चीनले मुद्रा हेराफेरी गरेको प्रशस्त उदाहरण रहेको विज्ञहरुले बताउँदै आएका छन्।

सन् २००५, २००६ मा चिनियाँ मुद्रा कमजोर बन्दा चीनले नै हस्तक्षेप गरेर मुद्रा कमजोर बनाएको आरोप विज्ञहरुको छ। ऐतिहासिक रुपमा १५ वर्षअघि नै चीनलाई यो उपमा दिइनुपर्ने उनीहरुको भनाइ छ। गत महिना अमेरिकाले यो सूचीबाट चीनलाई हटाएको थियो। दुई पक्षको बीचमा पहिलो चरणको व्यापार सम्झौता भएसँगै अमेरिकाले चीनलाई उक्त सूचीबाट हटाएको हो।

चीनले लामो समयदेखि कमजोर मुद्राको फाइदा लिन मुद्रालाई बढ्न नदिएको आरोप विज्ञहरुले लगाउँदै आएका छन्। यसबाट अमेरिकालाई उल्लेख्य मात्रामा फाइदा पुगेको अधिकारीहरूले बताउँदै आएका छन्। त्यसैले अमेरिकासँगको व्यापार युद्धको समयमा यो मुद्दा जोडतोडले उठ्ने गरेको छ।

जीडीपीको तथ्यांकमा प्रश्न 
चीनको कुल गार्हस्थ्य उत्पादनको नतिजामा पनि अमेरिकाले प्रश्न उठाउने गरेको छ। यो तथ्यांक सही नभएको अमेरिकाको दाबी छ। सन् २००७ मा चिनियाँ प्रधानमन्त्री लि खछियाङले मानिसले तयार पारेको तथ्यांक सार्वजनिक गरे। अहिले त्यस किसिमको तथ्यांकलाई लि खछियाङ इन्डेक्स भनिन्छ।

यो इन्डेक्स चीनको विभिन्न पक्षहरु केलाएर अर्थशास्त्रीहरुले तयार पार्ने गर्छन्। जसमा विद्युत् खपत, रेल कार्गो र ऋण लगायतका विषय समावेश हुन्छन्। खछियाङले यो तथ्यांक चीनको जीडीपीको तथ्यांकभन्दा सही हुने बताएका थिए। सरकारको दबाबमा अधिकारीहरुले सही तथ्यांक सार्वजनिक नगर्ने उनको भनाइ थियो।

पिट्सवर्ग यूनिभर्सिटीका प्रोफेसर अर्थशास्त्री थोमस राक्सीले चिनियाँ अधिकारी र अर्थशास्त्रीहरुका अनुसार चीनको जीडीपीको तथ्यांक सही नहुने बताउँछन्। उनका अनुसार चीनले कहिलेकाँही अर्थतन्त्र निकै नराम्रो अवस्थामा रहेको बेलामा पनि अर्थतन्त्र सही अवस्थामा छ भन्ने देखाउन यस्तो गर्छ। ‘चीनको अर्थतन्त्र विशाल छ। त्यसैले यसको गणना गर्नु नै निकै कठिन छ। तर, चीनले कसरी सही रुपमा जस्ताको त्यस्तै तथ्यांक सार्वजनिक गर्न सक्छ ?’, उनी भन्छन्। राक्सीले सन् १९९७ देखि चीनको अर्थतन्त्रको विषयमा अध्ययन गर्न थालेका हुन्। उनी भन्छन् –अहिले फैलिएको फ्लु (भाइरस) को कुरा गर्दा यो पनि जीडीपीको मुद्दा जस्तै हो। दुवै मुद्दामा धेरै प्राविधिक विषय छन्, जसले चीनको तथ्यांकमाथि शंका उब्जाउँछ।  

डब्ल्यूएचओद्वारा चीनको बचाउ
चीन र अमेरिकाले अफ्नो तर्फबाट दबाब दिए पनि विश्व स्वास्थ्य अधिकारीले कोरोना भाइरसलाई नियन्त्रणको लागि मिलेर काम गर्न आह्वान गरेका छन्। राजनीतिक तथा व्यापारिक तनावको कारण दुई मुलुकले यस्तो आरोप प्रत्यारोप लगाउने गरेको उनीहरुले बताएका छन्। स्वास्थ्य अधिकारीहरुले सार्वजनिकरुपमा सार्वसाधारणलाई पनि शान्त रहन आग्रह गरेका छन्। यो मामिलामा अनावश्यकरुपमा व्यापार तथा भ्रमणको विषयमा हस्तक्षेप गर्नु नहुने उनीहरुले भनाइ छ। उनीहरुले भाइरस रोक्न चीनले सकेको जति सबै प्रयास गरिरहेको बताएका छन्।

गत वर्ष डब्ल्यूएचओले स्वास्थ्य आपतकाल लागू गर्दा यो समय तथ्यको खोजी गर्नु रहेको बताएको थियो। यसको विषयमा डराउन नहुने उसले बताएको थियो। साथै हल्लाको पछि लाग्नु नहुने अधिकारीहरुले बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ