arrow

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान उपलब्धिमूलक

logo
रासस,
प्रकाशित २०७६ फागुन ५ सोमबार
BawliBetiBachaoBetiPadhao.jpg

जनकपुरधाम। प्रदेश नं २ को सरकारद्वारा महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने गर्ने उद्देश्यले सञ्चालित ‘बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान’ उपलब्धिमूलक रहेको बताइएको छ। प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको दुई वर्षको उपलब्धि विवरणमा सो कुरा उल्लेख गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतका अनुसार अभियानले महिलाप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ। सो अभियानअन्तर्गत हालसम्म माध्यमिक र उच्च माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ हजार छात्रालाई साइकल वितरण र  करिब १५ हजारलाई वितरण गर्न प्रक्रिया अगाडि बढाइएको बताइएको छ।

साइकल वितरण कार्यक्रमअन्तर्गत सप्तरी जिल्लाका २९ विद्यालयका एक हजार ५३५ , सिरहा जिल्लाका २५ विद्यालयका एक हजार ६१६ , धनुषा जिल्लाका ३२ विद्यालयका एक हजार ७८५ र महोत्तरी जिल्लाका ३१ विद्यालयका एक हजार ८७० छात्रालाई साइकल वितरण गरिएको छ।

त्यस्तै सर्लाही जिल्लाका ४२ विद्यालयका दुई हजार ४५७, रौतहट जिल्लाका २८ विद्यालयका एक हजार ४०८, बारा जिल्लाका २६ विद्यालयका एक हजार ६७५ र पर्सा जिल्लाका २७ विद्यालयका एक हजार ६५४ छात्रालाई साइकल वितरण गरिएको छ।

‘छोरी जन्मनुलाई सराप होइन वरदान’का रूपमा लिनुपर्छ भन्ने भावना वृद्धि गरी जीवन सुरक्षित गर्ने उद्देश्यले सरकारले छोरी बीमाको रकमलाई वृद्धि  गरी तीनलाख पुर्‍याएको छ। सो अभियानप्रति विभिन्न पालिका उत्साहित भई सरकारद्वारा दिइएको रकममा थप गरी छ लाख पुर्‍याउने लहर आएको जनाइएको छ।

प्रदेश सरकारले गत वर्षको माघ १ गतेपछि जन्मिएका छोरीका लागि छोरी शिक्षा बीमा मुद्दति बचत कार्यक्रम सञ्चालन गर्दे आएको छ । सो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा चार हजार ३७३ बीमित बालिकाको खातामा रकम जम्मा भइसकेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अनुसार  सप्तरी जिल्लाका ६४७, सिरहा जिल्लाका ३६२, धनुषा जिल्लाका ७८१, महोत्तरी जिल्लाका ७२६, सर्लाही जिल्लाका ३०५, रौतहट ७६०, बारा जिल्लाका ४४१ र पर्सा जिल्लाका ३५१ बीमित बालिकाको खातामा रकम जम्मा भइसकको छ।

सोही कार्यक्रमअन्तर्गत २०७६ साउनदेखि कात्तिकसम्म दर्ता भएका तीन हजार बालिकाको खातामा रकम पठाउने अन्तिम तयारीमा रहेको छ। त्यस्तै  सो कार्यक्रम सन्दर्भमा चालु आवको माघ २ देखि माघ २९ गतेसम्म सञ्चालित शिविरमा २० हजार २५ छोरीको बीमाका लागि निवेदन दर्ता भइसकेको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ