arrow

ट्रम्पले भारतमा ताज महलको भ्रमण गर्ने

logo
एएनआई,
प्रकाशित २०७६ फागुन १० शनिबार
taj-mahal-india.jpg

अहमदाबाद। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणका क्रममा सोमबार विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालाको उद्घाटन गर्ने भएका छन्। उनले भारतको ताज महलको पनि भ्रमण गरेर सूर्यास्तको अबलोकन गर्ने कार्यक्रम समेत रहेको अधिकारीहरुले जानकारी दिएका छन्। तर पूर्व अपेक्षित व्यापार सम्झौता भने उनको भ्रमणका क्रममा नहुने बताइएको छ। राष्ट्रपति ट्रम्पको भ्रमणले दुई पक्षीय सम्बन्ध विशेष गरेर व्यापारको क्षेत्रमा सुधार हुने अपेक्षा गरिएको छ।

विज्ञहरुका अनुसार अमेरिकाले चीनसँगको सम्बन्धमा दवाव दिनका लागि रणनीतिक मित्रका रुपमा भारत उपयोग गर्न खोजेको बताएका छन्। “भारतसँग हाम्रो व्यापार धेरै राम्रो छैन, तर पनि म प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न मन पराउँछु,” ७३ बर्षीय ट्रम्पले भारत भ्रमणको पूर्वसन्ध्यामा भनेका छन्। ट्रम्पले यसअघि पनि गत नोभेम्बरको निर्वाचनअघि भारतसँग ठूलो व्यापारिक सम्झौता हुन नसक्ने उल्लेख  गरेका थिए। उनले मोदीसँग व्यापारका कुरा भने हुने बताएका थिए।

भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पका साथ श्रीमती मेलानीया, छोरी इभान्का र ज्वाईं जारेड कुश्नर रहेका छन्। राष्ट्रपति ट्रम्पले सोमबार नयाँदिल्लीमा ओर्लिएपछि सुरुमा पश्चिमी गुजरात राज्यको भ्रमण गर्नेछन्। आफू मुख्यमन्त्री हुँदा गरेको भूकम्पपछिको पुनर्निर्माण देखाउन मोदीले ट्रम्पलाई गुजरातको भ्रमण गराउन लगाएका हुन्। सोही क्रममा उनले गुजरात क्रिकेट एसोसिएसनद्वारा निर्मित सरदार पटेल रङ्गशालाको उद्घाटन गर्नेछन्। मोटेरा स्टेडियम समेत भनिने सो खेल मैदानको वरिपरी ७ सय मिटर लामो पर्खाल बनाइएको छ।

खेलमैदानमा एक लाख मानिसको उपस्थितिमा “नमस्ते ट्रम्प” कार्यक्रमको पनि आयोजना गरिएको छ। नमस्ते ट्रम्प कार्यक्रम गत वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको ‘हाउडी मोदी’ कार्यक्रमकै प्रतिरुप हो। त्यतिबेला हाउडी मोदी कार्यक्रममा ट्रम्प सहभागी भएपछि दुबैले प्रवासी भारतीय अमेरिकीलाई सम्बोधन  गरेका थिए। नमस्ते ट्रम्प कार्यक्रमपछि उनी श्रीमतीसहित ताज महल अवलोकन गर्न जने बताइएको छ। ताज महलमा ट्रम्पको टोली एक घण्टा रहने तालिका छ। भ्रमणको दोस्रो दिन मङ्गलबार ट्रम्प दिल्ली फर्केर हैदरावाद हाउसमा विभिन्न चरणमा रक्षा, व्यापारलगायतका विषयमा छलफल गर्ने भएका छन्। 

ट्रम्प राष्ट्रपति भएपछिको भारतको पहिलो औपचारिक यो भ्रमण दुई दिन मात्रै हुने तय भएको छ। ट्रम्पले कार्यकालको अन्तिम वर्ष भारतको भ्रमण गर्न लागेका हुन्। उनको पहिलो कार्यकाल सन् २०२१ जनवरी २० मा सकिँदैछ।

अमेरिकी संविधानअनुसार राष्ट्रपतिको कार्यकाल चार वर्षको हुने व्यवस्था छ। अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुने तय भएको छ। मोदी र ट्रम्पबीच पछिल्लो आठ महिनामा पाँचौं पटक भेट हुँदैछ। यसअघि यी दुई शीर्ष नेताबीच ओसाका, बायरिज, ह्यूस्टन र न्यूयोर्कमा गरी चारपटक भेट भइसकेको छ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले ट्रम्पको स्वागतका लागि भारत सरकार र भारतीय जनता उत्सुकताका साथ प्रतिक्षा गरिरहेको बताएका छन्। उनका अनुसार सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति भएका छन्। यसअघि तत्कालीन राष्ट्रपति बाराक ओवामाले सन् २०१५ जनवरी २५–२७ मा तीन दिने भारत भ्रमण गरेका थिए। उनी आफ्नो दुवै कार्यकालमा भारतको भ्रमण गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ