arrow

आफ्नाले भरोसा तोडेपछि ओलीलाई वामदेवकै भर, बन्लान् त प्रधानमन्त्री ? 

नेकपा एकताका सूत्रधार वामदेवले ओली र प्रचण्डलाई पार्टीका अभिभावक बनाएर आफूले सरकार चलाउने सोचको बनाएका थिए डिजाइन 

logo
प्रकाशित २०७६ फागुन ११ आइतबार
oli-bamdev.jpg

काठमाडौं । अन्ततः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम सांसद बन्न राजी भएका छन् । उनको यो सांसदको आकांक्षाले प्रधानमन्त्रीको कुर्सीसम्म पुर्याउने दावी नेकपाको वामदेव खेमाको रहेको छ । 

वामदेवले तत्कालीन एमाले र माओवादी केन्द्रको एकता गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीका अभिभावक बनाएर आफूले सरकार चलाउने सोचको डिजाइन बनाएका थिए । 

दुवै नेताहरु राजी समेत थिए । तर त्यो लक्ष्यमाथि ओलीले नराम्ररी प्रहार गरे । त्यही प्रहार हिजोका दिनसम्म ओलीले गौतममाथि गर्दै आएका छन् । 

ओलीले वामदेवले पार्टीमा कब्जा जमाउने संकेत पाएर चुनावमै हराइदिए । २०७४ को निर्वाचनमा माओवादीका कार्यकर्ताले वामदेवलाई भोट हाले पनि एमालेका कार्यकर्तालाई हाल्न दिइएन । 

वामदेव हारे । तर ओली हरेक क्षेत्रमा हावी भए । त्यसैले होला भ्रष्टाचार पनि मौलायो । 

ओली यु–टर्न हुन खोज्नुको कारण
गत माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा वामदेवलाई उम्मेदवार बन्न आग्रह गर्दा उनले स्पष्टै भनेका थिए – प्रधानमन्त्री बनाउने हो भने उम्मेदवारी दिन्छु । 

ओली रन्किए । ओलीलाई आफूभन्दा माथि कोही गएको चित्त बुझ्दैन । यसरी वामदेवको राष्ट्रियसभा मार्फत सांसद बन्ने बाटो तुहियो । 

तर अहिले आएर फेरि ओली वामदेवकै भर गरिरहेका छन् । राष्ट्रपतिले मनोनित गर्ने एउटा सीट खाली छ । हालका संचारमन्त्री एवं अर्थमन्त्री डा युवराज खतिवडाको कार्यकाल फागुन २० मा सकिँदैछ । 

ओलीका विश्वासी पात्र संचारमन्त्री गोकुल बाँस्कोटा भ्रष्टाचार काण्डमा मुछिएपछि राजीनामा दिए । खतिवडाबाट अपेक्षाकृत आर्थिक सुधार हुन नसकेपछि ओली चिन्तित छन् । 

भ्रष्टाचार पनि गर्नैपर्ने र विकास पनि गरेजस्तो गर्नैपर्ने भएपछि ओलीको योजना सफल नहुनु स्वभाविकै हो । भयो त्यस्तै । 

खतिवडालाई नदोहोर्याउने पक्षमा ओली देखिएको बुझिन्छ । त्यसैले अब जे गर्छ वामदेवले गर्छ भन्दै ओली वामदेवलाई अगाडि सार्ने योजनामा भएको बुझिन्छ । 

फेरि वामदेव आउँदा प्रचण्ड पक्षधर पनि खुशी हुने देखिन्छ । 

राष्ट्रिय सभा सदस्य समेत प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन नभएसम्म सांसद नबन्ने सर्त राखे पनि वामदेव त्यसबाट पछाडि हटेपछि ओली खुशी छन् । 

वामदेव राष्ट्रिय सभामा जान तयार भएका छन् । वामदेवलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा फागुन २० पछि लैजाने तयारी भएको नेकपा उच्च स्रोतले बताएको छ । औपचारिक निर्णय नभए पनि सहमति बनिसकेको छ । 

बाटो कहाँबाट खुल्यो ? 
सरकार र संसदबाट वामदेवमात्र बाहिर छन् । सबैजसो शीर्ष नेताहरुलाई संसदको ढोका खुला रहेकामा वामदेवमात्र बाहिर छन् । 

त्यसैले पनि उनलाई राष्ट्रिय सभामा लैजान खोजिएको हो । फेरि अनुकूल समयमा संविधान संशोधन गर्ने गरी उनी राष्ट्रिय सभामा जान तयार भएको बुझिन्छ । 

बुझ्नमा आए अनुसार ओली र प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेर पार्टी सहमतिको जानकारी गराइसकेका छन् । 

गत पुस १८ गते नै नेकपा सचिवालयका अर्का सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा मा जानका लागि तयार भएसंगै चुनाव जितेर सांसद पनि भएका छन् । 

श्रेष्ठसंगै वामदेवलाई लैजान खोजिए पनि उनी मानेनन् । अब भने उनी राजी भएका छन् । 

उनको राजीमा ओलीकै हात प्रमुख रहेको छ । प्रचण्डले जति जोडबल गरे पनि जिताउन नसकेका वामदेवलाई अहिले पनि उल्लेख्य भूमिका खेल्न सकेनन् । तर ओलीको विचारमा एक शब्दमै स्वीकारे । 

तर प्रधानमन्त्री बन्ने वामदेवको बाटो यद्यपि खुल्ने देखिँदैन । किनकि ओली पाँच वर्षसम्म टिक्छु भनिरहेका छन् । नैतिकताका आधारमा राजीनामा दिनुपर्दा वा अनुसन्धान हुँदै जाँदा कतै सेक्युरिटी प्रेस खरिद र यस्तै प्रकारका ठूला विषयमा नितीगत भ्रष्टाचारमा मुछिनासाथ उनले वाध्य भएर राजीनामा दिनैपर्छ । 

त्यसपछिको समयमा पूर्व एमालेबाटै सरकारको नेतृत्व होस् भनी आफ्ना सधैका प्रतिद्धन्द्धी एमाले भित्रैका माधवकुमार नेपाल वा झलनाथ खनाललाई दिनुभन्दा त वामदेव ठीक भनी ओलीले चाल चलेको हुन सक्ने आशंका पनि गरिएको छ । 

एमाले अध्यक्ष बन्दा वामदेवले काँध थापेरै ओली अध्यक्ष भएका थिए । तर त्यसपछि भने ओलीले अलि रुखो व्यवहार गर्दा वामदेव टाढिएका थिए । यसबाट स्पष्ट के छ भने ओलीले प्रचण्डलाई कुनै पनि हालतमा फेरि प्रधानमन्त्री बन्न दिने छैनन् । 

वामदेवले के गर्लान् भन्ने चासो छ । तर त्यसअघि राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान भने संशोधन गर्नु जरुरी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ