arrow

के हो नेशनल करप्सन भाइरस ? यसो भन्छन् सांसद राजभण्डारी

logo
प्रकाशित २०७६ फागुन १९ सोमबार
divyamani-rajbhandari1.jpg

काठमाडौं। नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले नेपाल ट्रष्टको नाममा नेताहरुलाई तर्साउने काम भएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राजभण्डारीले नियतवश नेताहरुलाई हिलो छ्याप्ने काम भइरहेको बताए । 

उनले भने, ‘नेशनल करप्सन भाइरसको बारेमा भन्न चाहन्छु । भर्खरै हामीकहाँ ह्वाइट पेपरको कुरा आयो । नेपाल ट्रष्टको कुरा गर्दाखेरी पुराना गरेका एउटा प्रचण्ड भएर पुष्कमल भएका, एउटा प्रभाकर भएर जनार्दन भएका कुरा र लालध्वज भएर बाबुमात्र भएर बसेका व्यक्तिहरुलाई हिलो छ्याप्ने काम गरेको देखियो ।’

उनले अगाडि भने, ‘त्यस्तै गरी मेरा पार्टीका आदरणीय नेता शेरबहादुरलाई पनि हिलो छ्याप्ने काम गरियो । सबलाई तर्साउने, झुक्याउने र अर्काको चरित्र हत्या गर्ने काम नहोस्।’

आफ्नो भ्रष्टाचारी प्रवृत्ति लुकाउन अर्कालाई दोष लगाइएको संकेत गर्दै सांसद राजभण्डारीले भने, ‘आफूले पनि सोचौं यदि घरमा आफ्नो ट्यांकीमा चोखो पानीले नुहाएर आफू चाहिं चोखो हुने र अरुलाई दोष लगाउने काम नहोस् ।’

असक्षमहरु नै यस्ता गलत काममा लागेकोतर्फ इंगित सांसद राजभण्डारीले भने, ‘अहिले यस्ता चिजका लागि आफ्ना आफ्ना इकाइहरु छन् सरकारको अनुसन्धान गर्ने इकाइ छन् । यसकारणले गर्दा यस्ता चिजमा नेपाल ट्रष्टबाट असक्षम व्यक्तिहरुले राजीनामा गरोस्  ।’

संसदमा संवोधनका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण राम्रोसंग होस् भनी कामनासमेत गरेका छन् । उनले मेडिकल टिमलाई पनि सफलताको शुभकामना व्यक्त गरेका छन् । 

सांसद राजभण्डारीले कोरोना भाइरसप्रति सरकार गम्भीर बन्न नसकेको आरोप लगाए । 

उनले भने, ‘अहिले नोवल कोरोना भाइरसले सताइरहेको छ । सर्वप्रथम सबैले आफ्नो स्वास्थ्यको आफ्नो ज्यानप्रति सचेत हुन प्राथमिकता दिनुपर्ने भएको हुनाले हामी जनप्रतिनिधिहरु हामी यसैमा सचेत छौं । सत्तापक्ष र हामी सांसदहरु पनि यसैमा कन्सियस छौं । सरकारले गर्न पर्ने कामहरु गर्न नसकेकोले गर्दा हामी बढ्ता चिन्तित पनि भएका छौं ।’

उनले अगाडि भने, ‘यो केबल क्रिटिसिजम गरेरमात्र हुन सक्ने कुरा होइन । यसमा सबैले मिलेर यो समस्या हल गर्नुपर्ने देखिन्छ । कोरोना भाइरसको डरलाग्दो जोन मध्ये नेपाल १० नम्बरमा पर्छ । तर पूर्वतयारी गर्न नसकेका कारणले अझ बढी खतरा देखिएको छ ।’

सरकारले बेवास्ता गरेको भन्दै सांसद राजभण्डारीले चीनबाट आएका नेपालीलाई मात्र क्वारेन्टाइनमा राखिएको र चीनबाट आएका अरुलाई नराखिँदा खतरा बढेकोतर्फ सचेत गराए । 

उनले उल्टै नेपालमा कोरोना भाइरसको प्रभाव नभएको भन्दै सरकारले चिनियाँहरुलाई समेत नेपालमा भित्रिन दिएको भन्दै आक्रोश पोखे । 

अहिलेसम्म कति भित्रिए र यसले कतिसम्मको संक्रमण गरिसक्यो भन्ने यकीन हुन नसकेको उनको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ