arrow

श्रीमानसँग दिनहुँ झगडा, अन्तत: बुधबार राति सञ्जुले हाम्फालिन् त्रिशूलीमा

logo
प्रकाशित २०७६ फागुन २२ बिहिबार
trisuli.jpg.jpeg

नुवाकोट । जिल्लामा ११० औँ नारी दिवसको चर्चापरिचर्चा चलिरहँदा नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा एक महिलाले  हिंसा सहन नसकेर आत्महत्या गर्नुपरेको छ । नेपालको ऐनले विवाहको उमेर २० वर्ष तोके तापनि तिनको सत्र वर्षमै विवाह भएको थियो । मनोपरामर्शको सेवा प्रदान गर्ने तथा महिलाका विषयमा वकालत गर्ने सङ्संस्था पनि सो  विषयमा अनभिज्ञ रहेको देखिन्छ ।

धादिङको चराँैदी माइती भएकी सञ्जु खातीको ढुङ्गेमा गत भदौमा परिवारको सरसल्लाहमा मागी विवाह भएको थियो । सञ्जुका श्रीमान् २६ वर्षीय मौसमले विवाह भएको केही महिना नबित्दै उनलाई अनेक शारीरिक तथा मानसिक हिंसा, लाञ्छना, शङ्कालगायत तनाव दिँदै आइरहेको छिमेकी बताउँछन् ।

सञ्जुका घरमा सधैँजसो झगडा, वादविवादलगायत कलह दिनहुँ भइरहने गथ्र्ये ।  बुधबार राति करीब  ९ बजे खातीका छिमेकीले खोलामा एक्कासि ठूलो आवाजले केही खसेको सुनेर बाहिर निस्किँदा उनका सासूससुरा र देवरानी रुँदै गुहार माग्दै त्रिशूली किनारमा दगुरेको देखेपछि हेर्दा सञ्जु नदीमा हाम्फालेकी रहिछन् ।

घाइते सञ्जुलाई नदीबाट निकालेर जिल्ला त्रिशूली अस्पताल लाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको  छ ।  प्रहरीले  सञ्जुका माइती र आफन्तलाई खबर गरेको र उनीहरु आएपछि मात्र शव परीक्षण गरी आवश्यक अनुसन्धान अगाडि बढाउने जनाएको छ ।  हाल शव त्रिशूली अस्पतालमा छ ।

सञ्जु र उनका पति मौसमबीच बुधबार रात श्रीमान्ले चुरोट पिएका विषयमा सामान्य मनमुटाव भएको सासू पविताले जानकारी दिइन्। महिला मानवअधिकार रक्षक जिल्ला सञ्चालकका अध्यक्ष अञ्जली पाण्डेले महिला हिंसा रोकथाम गर्न विद्यालयमा नै गएर बालविवाह न्यूनीकरण, महिला हिंसाविरुद्धको अभियान चलाउनुपर्ने बताइन्। पाण्डेका अनुसार बालविवाहले पनि यस्ता घटना भएका हुन् । बालविवाह रोक्न नुवाकोटमा अभियान चलाइए पनि बालविवाह गराउन परिवार नै बढी सक्रिय छन् ।

अन्तर्पार्टी महिला सञ्जाल नुवाकोटका अध्यक्ष विन्दा ढुङ्गानाले महिला हिंसामा परेका पीडितका लुकेका घटनाले ठूलो रुप लिइरहेको बताइन् । उनका अनुसार पीडितले आफ्ना पीडा लुकाएको थाहा भएको छ । आफूलाई परेको पीडा र  हिंसा समाजमा खुलेर भन्न नसक्नाले पनि धनजनको क्षति हुने गरेको  उनले बताइन् । हिंसा रोक्न नयाँ तरिकाको अभियान चाल्नुपर्ने उनको सुझाव छ । “सङ्घीय र प्रदेश सरकार, स्थानीय तह, महिलाका लागि काम गर्ने सङ्सस्था र सरोकार पक्षको यसमा बढी भूमिका हुनुपर्छ”, उनले भनिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ