arrow

विद्युतीय सवारी चार्ज गर्दा कति पैसा तिर्नुपर्छ ?

logo
प्रकाशित २०७६ फागुन २९ बिहिबार
electric-bus.png

काठमाडौं । सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने लक्ष्यका साथ रातिको समयमा सवारी साधन चार्ज गर्दा न्यूनतम महसुल लिने प्रस्ताव गरेको छ । त्यसो गर्दा न्यूनतम शुल्कमा नै विद्युतीय सवारी चार्ज गर्न सकिने र विद्युत् खपतसमेत बढ्ने विश्वास लिइएको छ ।

सार्वजनिक यातायातका लागि राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रतियुनिट चार रुपैयाँ ४५ पैसा महसुल लाग्नेछ । प्राधिकरणले तय गरेको यो महसुल सबैभन्दा सस्तो हो । तोकिएको महसुलमा चार्जिङ स्टेशन सञ्चालन गर्नेले थप २० प्रतिशतसम्म मुनाफा लिन पाउने व्यवस्था गरिएको छ ।

बढी विद्युत् माग हुने साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रतियुनिट आठ रुपैयाँ ४० पैसा महसुल तिर्नुपर्नेछ । यो सुविधा ३३ केभी भोल्टजका लागि हो । सोही भोल्टेजमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म पाँच रुपैयाँ पाँच पैसा महसुल लाग्ने गरी महसुल प्रस्ताव गरिएको छ ।

प्राधिकरणले विभिन्न ११ समूहका ग्राहकको वर्गीकरण गरेको छ । त्यसमा घरेलु, गैर व्यापारिक, व्यापारिक, औद्योगिक, पानी वितरण, सिँचाइ, सडक बत्ती, अस्थायी, यातायात, मन्दिर, गैर घरेलु, मनोरञ्जन, सामुदायिक वितरण र निर्यातका विभिन्न शुल्क तय गरेको छ ।

सवारी साधनले प्रयोग गर्ने पेट्रोलियम पदार्थमा मात्रै ठूलो मात्रामा आर्थिक स्रोत विदेशिएकाले त्यसलाई रोक्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढवा दिन लागिएको हो । प्राधिकरण आफँैले काठमाडौँ राजधानी र प्रमुख राजमार्गमा ५० चार्जिङ स्टेशन निर्माण गर्ने लक्ष्यका साथ विश्वव्यापी बोलपत्र गरिसकेको छ । निजी क्षेत्रबाट पनि हालसम्म ६० वटा चार्जिङ स्टेशन निर्माण भइसकेका छन् । महसुल स्वीकृत नहुँदा निजी क्षेत्रका त्यस्ता स्टेशन व्यावसायिकरूपमा सञ्चालनमा आउन सकेका थिएनन् । प्राधिकरणको प्रस्तावलाई आयोगले स्वीकृत गरेर लागू गरेपछि विद्युतीय सवारी साधनको प्रयोग बढ्ने विश्वास लिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ