arrow

सय वर्षीया भट्टले गाउँमै बुझिन भत्ता

सामाजिक सुरक्षा भत्ता वितरण

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
bhatta5.jpg

दार्चुला । दार्चुलामा दुईवटा वडाका नागरिकहरुलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने व्याँस गाउँपालिका ५ र ६ को वडा कार्यालयबाट गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

शुक्रवार चालु आर्थिक वर्ष ०७६÷०७७ को दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्तावाफतको रकम वितरण गरिएको छ । सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता व्याँस गाउँपालिकाले वडा कार्यालयबाटै नागरिकहरुलाई वितरण गरेको जनाएको छ ।

वडा नम्बर ६ का जेष्ठनागरिक, दलित ज्येष्ठ नागरिक, विधुवा महिला, अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकासहित कुल ४ सय १४ जनालाई ३२ लाख २४ हजार आठ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा नम्बर ६ का वडा सचिव नरेन्द्र सिंह कुवरले जानकारी दिए । २५ जना दलित जेष्ठनागरिक, १६२ जना गैरदलित जेष्ठनागरिक, ७९ जना विधुवा महिला, १३ जना पूर्ण असक्त, १६ जना आशिंक अशक्त र ११९ दलित बालबालिका गरि जम्मा ४ सय १४ जनालाई भत्ता वितरण गरिएको सचिव कुवरले बताए ।

यसैगरी वडा नम्बर ५ का ज्येष्ठनागरिक, विधुवा, अपाङ्गता भएका व्यक्ति तथा दलित बालबालिकासहित कुल १६७ जनालाई १६ लाख ८३ हजार दुई सय रुपैयाँ भत्ता वितरण गरिएको वडा कार्यालयले जनाएको छ । ज्येष्ठनागरिक ९६ जना , ५६ जना विधुवा महिला, २ जना पूर्ण अशक्त, आशिंक अशक्त ८ जना तथा ५ जना दलित बालबालिकालाई भत्ता वितरण गरिएको जनाएको छ । उनीहरुलाई व्याँस गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकी, वडा नम्बर ५ का वडा अध्यक्ष मंगलसिंह धामी र सचिव  प्रयाग दत्त बडूले भत्ता वितरण गरेका हुन् ।

यसअघि जिल्ला सदरमुकाम खलंगा गएर भत्ता बुझ्न बाध्य व्याँसका स्थानियले गाउँमै अर्थात वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता पाएपछि ज्येष्ठनागरिकहरु खुसी भएका छन् । व्याँस गाउँपालिका —६ की एक सय वर्षीय मनुरी देवी भट्टले गाउँमै ज्येष्ठ नागरिक भत्ता पाएको भन्दै स्थानीय सरकारको प्रशंसा गरेकी छन् । व्याँसका ज्येष्ठनागरिकले वडा कार्यालयबाटै भत्ता पाएको भन्दै सिंहदरवार गाउँमै आएको प्रतिक्रिया दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ