arrow

सिर्जना सास्वत मूल्यका हुनुपर्छ

logo
रासस,
प्रकाशित २०७६ चैत २ आइतबार
writing-pen.jpg

पोखरा। नेपाली लेखक सङ्घ कास्कीद्वारा शनिबार पोखरामा आयोजित कार्यक्रका सहभागीले साहित्य वर्गीय हुन नसक्नेमा जोड दिइएका छन्। सङ्घको चौथो अधिवेशन,लेखक वर्ष कृति पुरस्कार (गण्डकी) प्रदान तथा स्रष्टा सम्मान कार्यक्रमका वक्ताले साहित्य सिर्जना सास्वत मूल्यका लागि हुनुपर्ने बताए। लेखक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष डा विष्णुबिभु घिमिरेले सिद्धान्तको पर्खालभित्र बसेर साहित्य लेखन हुन नसक्ने र लेखन क्षेत्रमा नयाँपुस्तालाई अभिप्रेरित गर्दै अघि बढाउन आवश्यकता रहेको बताए।

नेपाली लेखक सङ्घका केन्द्रीय महासचिव रत्नमणि नेपालले वर्गीयतामा नभई सास्वत मूल्यका लागि साहित्य लेखन हुनुपर्नेमा जोड दिए। वरिष्ठ कवि तीर्थ श्रेष्ठले स्वतन्त्रताका अभावमा लेखन हुन नसक्ने र  लेखक पार्टी विशेषको भरौटे बन्न नसक्ने धारणा राखे। लेखक फस्टाउनका लागि लेखकीय स्वाभिमान हुनुपर्ने उनले बताए।

अर्का साहित्यकार शारदा पौडेलले विसं २००८ मा बिपी कोइरालालगायतका व्यक्तित्वबाट शुरु भएको नेपाली लेखक सङ्घको विशिष्ट गरिमा र महत्व रहेको बताउँदै समग्र नेपाली साहित्यको उत्थानमा यसको भूमिका महत्वपूर्ण हुने बताए।

नेपाली लेखक सङ्घका जिल्ला अध्यक्ष गणेश शर्माले सङ्घको कास्की शाखाले गण्डकी क्षेत्रका लेखन प्रतिभालाई अभिप्रेरित गर्ने उद्देश्यका साथ यसै वर्षदेखि लेखक वर्ष कृति पुरस्कार प्रदान गर्न लागेको जानकारी दिए। उक्त पुरस्कारका लागि रु पाँच लाखभन्दा बढीको अक्षयकोष सञ्चालनमा आइसकेको उनले बताए। सो अवसरमा दिव्याञ्जली उपन्यासका लेखक सरोज अर्याललाई लेखक वर्ष कृति पुरस्कार (गण्डकी) बाट पुरस्कृत गरियो। उनलाई रु २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो। त्यस्तै कवि तेजनाथ घिमिरेलाई सम्मानपत्रबाट स्रष्टा सम्मान गरिएको थियो।

अधिवेशनले सञ्जीव पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा रीता अधिकारी, सचिवमा कमल पौडेल ‘अथक’, सहसचिवमा सञ्जय न्यौपाने र कोषाध्यक्षमा मेघनाथ आचार्य छन्। समितिका सदस्यमा भरत पोखरेल (अञ्जान), शिवराम पौडेल (जुपिटर), श्रीराम अधिकारी र नगेन सिंह रहेका छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ