arrow

सांसद बन्न राजपाका नेताहरुलाई साढे दुई करोड बुझाएको आरोप लागेका शेखर सिंह के भन्छन् ? 

logo
प्रकाशित २०७६ चैत ६ बिहिबार
shekhar-singh-rajapa.jpg

काठमाडौं । राष्ट्रिय सभा सांसद बन्न साढे दुई करोड रुपैयाँ बुझाएको आरोप लागेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद शेखरकुमार सिंहले आफूलाई पैसा तिरेर सांसद बन्ने आवश्यकतै नभएको दावी गरेका छन् । 

हाम्राकुरासंगको कुराकानीमा सिंहले भने, ‘पार्टीले सिनियरको नाताले यसअघि उम्मेदवार दिन छुटाएकाले यसपटक दियो । सिनियर दुई जनामा म पनि परें । यसमा पैसाको चलखेल गर्नुपर्ने नै थिएन । सम्पूर्ण जनताहरुले मत दिएर मलाई विजय गराएर पठाइदिए । त्यो कतिजनालाई पचेको थिएन होला । मैले यस्तो अनैतिक काम गरेर जितेर आउने अवस्था के थियो र । म किन कसैलाई पैसा दिन लगाएर आउँछु ।’

पूर्व रक्षा सचिव तिलकराम शर्माले तपाईका लागि भनेर किन साढे दुई करोड रुपैयाँ उठाउनु भयो त भन्ने प्रश्नमा उनले भने, ‘खै मैले यो कुरो बुझ्न सक्या छैन । उहाँसंग मेरो पुरानो चिनजान हो । उहाँ सिडियो भएर आउँदादेखिको चिनजान भएको हो। तर यस्तो आर्थिक लेनदेनमा हाम्रो दूरदूरसम्म पनि कुनै नाता र चलखेल छैन । यसमा उहाँ किन पर्नुभयो यो कुरा बुझ्न सक्या छैन ।’

उनले अगाडि थपे, ‘पैसा उठाएर दिनुपर्ने केही थिएन । यो त पार्टी पंक्ति र मलाई बदनाम गराउने उद्धेश्यले लागेको मैले पनि बुझ्न पर्छ । म आर्थिक चलखेलमा लाग्या पनि छैन कतै लाग्ने वाला पनि छैन ।’

उनले भने, ‘आजको युगमा कसैले पैसा दिएर चुनाव जित्छु भन्नु त बेकार हो नि । पार्टीले उम्मेदवार बनाउन बित्तिकै चुनाव जित्छु भन्ने पनि हुँदैन । पार्टीले मसंग पैसा मागेको पनि छैन । मैले कसैलाई दिएको पनि छैन ।’

शर्माजीले त जसका लागि पैसा उठाएँ उहाँ सांसद बन्नुभयो तर म सडकमा आएँ भन्नुभएको छ नि त भन्ने प्रश्नमा सिंहले भने, ‘उहाँले मलाई किन त्यत्रो म्यानेज गरेर गर्नुपथ्र्यो र । त्यो त मैले इमेजिन पनि गर्न सक्दिन ।’

उनले स्पष्ट पार्दै भने, ‘म आफ्नो मौलिकतामा फेटा लगाएर आएको छु । म सच्चा छु । दृढ छु । मेरो फेटा झर्ने कुरो आउँदैन । म जुन अवस्थामा छु म दृढ छु । मैले कसैसंग पैसाको कारोबारै गर्या छैन । बिल्कुलै नभएका कुरालाई कसरी स्वीकारौं त ? मैले सबैसंग नलिएको कुरो स्वीकार्न मिल्छ ? मैले लिन लगाएकै हैन । बिल्कुलै हैन ।’

गत माघ ९ गते भएको राष्ट्रिय सभा चुनावबाट सांसद बन्न सिंहले साढे दुई करोड रुपैयाँ राजपाका नेताहरुलाई बुझाउन रकमको व्यवस्थापन गर्ने शर्मा र राजपाका कार्यकर्ता सुरजीत सिंहको संवाद भएको अडियो टेप केन्द्रबिन्दु डटकमले सार्वजनिक गरेपछि सिंहले हाम्राकुरालाई उक्त प्रतिक्रिया दिएका हुन् ।  

उक्त टेपमा मामा ससुराको पैसा फसेपछि ज्वाई पर्ने ज्योती झाले स्थानिय सुरजीतसँग कुराकानी गरेको सुनिन्छ । जसमा  यो विषयमा पूर्व रक्षा सचिव शर्मा पनि मिसिएका छन् । 

उनीहरुको कुराकानीको आधारमा पूर्व रक्षा सचिव शर्माले शेखर कुमार सिंहले भनेका आधारमा उनका लागि रकम जुटाइदिएको बुझ्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ