arrow

सरकारको एक निर्णयले सहज रुपमा पाउन सकिन्छ सेनिटाइजर

सरकारले तत्काल निर्णय गरोस, उत्पादन गर्न चाहनेलाई फास्ट ट्याकबाट स्विकृत देओस

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ चैत १० सोमबार
industry-commerce-supplies-ministry-sanitizer.gif

काठमाडौं। कोरोनाको संक्रमण बढ्दै जादा यसबाट बच्ने उपायहको बारेमा चर्चा भइरहेको छ। कोरोनाको उपचारका लागि अहिलेसम्म औषधी पत्ता नलागिसकेका कारण कोरोना लाग्नै नदिने उपायहरुको चर्चा बढि भइरहेको हो। यो उपाय अन्तर्गत सामाजिक दुरी कायम गर्ने, पटकपटक साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, मुखमा मास्क लगाउने लगायतका छन्। 

कोरोना संक्रमणबाट बच्ने उपाय अन्तर्गत साबुन पानीको प्रयोग गरेर कम्तिमा २० सेकेण्ड हात धुने राम्रो उपाय मानिन्छ। तर विभिन्न काम गर्दा प्रत्यक पटक साबुन पानीले हात धुन सम्भव नहुने भएपछि स्यानिटाइजरको प्रयोगको सिफारिस गरिएको छ। ९९. ९९ प्रतिशत सम्म किटाणु मार्न सक्ने स्यानिटाइजरको प्रयोग उपयोगमा सहज पनि हुने गर्दछ। यसकारणले पनि यसको माग संसारभर बढेको छ। 

एक्कासी ठूलो परिणाममा माग भएपछि अहिले स्यानिटाइजर आपूर्ती सहज ढंगले हुन सकेको छैन नत स्यानिटाइजरको उत्पादन नै भने अनुसार हुन सकेको छ। स्यानिटाइजर उत्पादकहरुले आफ्नो क्षमता भन्दा बढी उत्पादन गर्न नसक्दा संसारभर माग अनुसारको आपूर्ती हुन सकेको छैन। 

के गरियो यूरोप र अमेरिकामा ?
माग अनुसारको स्यानिटाइजरको आपूर्ती हुन नसकेपछि यूरोप र अमेरिकाका अहिले डिस्टीलरी कम्पनीहरुले स्यानिटाइजर उत्पादनका काम शुरु गरेका छन्। सरकारले पनि त्यस्ता मदिरा उत्पादक कम्पनीहरुलाई स्यानिटाइजर उत्पादन गर्न आग्रह गरेको छ। मदिरा उत्पादक कम्पनीहरुले पनि सरकारको आग्रहलाई स्विकार्दै काम थालिसकेका छन्। स्यानिटाइजरका लागि चाहिने कच्चा पदार्थ इथानोल यिनै मदिरा उत्पादक कम्पनीहरुमा उत्पादन हुने हुनाले उनीहरुलाई स्यानिटाइजर बनाउन सहज पनि हुने भएको हो। सरकारको आग्रहसँगै स्वंयसेवी ढंगले मदिरा उत्पादक कम्पनीहरुले यस्तो उत्पादन शुरु गरिसेका हुन्। 

प्रख्यात अन्तराष्ट्रिय समाचार संस्था बीबीसीले समेत यस्तै एक रिपोर्ट प्रसारण गरेको थियो। कसरी विश्वव्यापी महामारी रोक्न मदिरा उत्पादक कम्पनीहरुले स्यानिटाइजर बनाएर सहयोग गरिरहेका छन् भनेर सव रिपोर्टमा देखाएको थियो। मदिरा उत्पादक कम्पनीहरुलाई नयाँ उत्पादनको काममा जोडिन बेलायत सरकारले के कसरी नीति नियममा परिवर्तन गरेको थियो त्यो पनि देखाइएको थियो।

बेलायत सरकारको नियामक निकायले डिस्टीलरी कम्पनीहरुलाई स्यानिटाइजरको वढ्दो मागलाई मध्यनजर गर्दै उत्पादनका लागि आग्रह गर्दै गर्दा छुट समेत दिएर उत्पादनमा खटाएको थियो। उत्पादनमा खटाउन बेलायती सरकारले मदिरा उत्पादक कम्पनीहरुलाई द्रुतमार्गबाट स्यानिटाइजर बनाउने लाइसेन्स समेत प्रदान गरिएको थियो। 

अमेरिकामा कतिपय मदिरा उत्पादक कम्पनीहरुले आफ्नो परम्परागत उत्पादनहरुलाई बन्द गरि स्यानिटाइजर बनाउने काममा मात्र लागिपरेका छन्। मेरिल्याण्डमा कतिपय कम्पनीहरुले आफ्नो पूर्ववत योजनाहरुलाई थाती राख्दै स्यानिटाइजर बनाउने काममा मात्र लागिपरेका छन्। 

साबुन पानी बोकेर हिड्न नमिल्ने तर स्यानिटाइजर बोकेर हिड्न मिल्ने कारणले पनि संक्रमण हुन नदिन अधिकांशको माग स्यानिटाइजर भएको छ। नेपालमा समेत माग बढेको स्यानिटाइजरको विदेशमा त पहिले देखिनै बढी नै माग थियो। अहिले त नसोचेको माग हुन थालेपछि नाम चलेका सबै अन्तराष्ट्रिय कम्पनीहरु स्यानिटाइजर बनाउन लागिपरेका छन्। हिरम वाकर एण्ड सन्स जस्ता कम्पनीहरु पनि उत्पादनको अभियानमा जोडिएका छन्। शिकागोमा पनि कम्पनीहरुले वृहत उत्पादन अभियानमा जोडिएका छन्। 

जुन जुन देशमा डिस्टीलरी कम्पनीहरु स्यानिटाइजर उत्पादनमा जोडिए पनि उनीहरुले उत्पादन गरेको सामान आफ्नो देशको मागलाई धान्न धौ धौ छ। एकातिर आफ्नै देशको माग बढी तथा अर्कातिर अन्य देशमा निर्यात गर्न अवरोधको अवस्था आउँदा प्रत्येक देश आफ्नै उत्पादनमा भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ। प्रत्येक देशमा मदिरा उत्पादक कम्पनीहरु भएका कारण त्यहि उत्पादित इथानोललाई प्रयोग गरेर स्यानिटाइजर बनाउने काम पनि सँगसँगै शुरु भएको छ। यसका लागि उनीहरुले केहि नीति नियममा संसोधन गर्नु पर्ने अवस्था भए त्यो गरेरै उत्पादन शुरु गरेका छन्। 

किन माग अनुसार आपूर्ती हुन सकेन नेपालमा ?
दिनानुदिन महामारीकै रुपमा फैलिएको कोरोना संक्रमणलाई फैलिन नदिन नाक मुख आखाँ जस्ता संवेदनशिल ठाउँमा हातले छुनु अघी ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले सचेत गराएको छ। धेरै मानिसहरुको आवात जावत हुने व्यापारिक मल, सपिङ सेन्टर, बैंक, फाइनान्स, अस्पताल, उद्योग, सेना प्रहरीका व्यारेक, सार्वजनिक संस्थानहरु, जेल, सरकारी कार्यालयहरुमा अनिवार्य रुपमा ह्याण्ड सेनिटाइजरको प्रयोग गर्न सरकारले निर्देशन जारी गरेको छ। तर बजारमा भने अनुसारको आपूर्ती हुन सकेको छैन भने कतिपय स्यानिटाइजर पनि नक्कली आउन थालेको छ। विदेशबाट आयात हुने स्यानिटाइजर आपूर्ती व्यवस्थामा आएको अवरोधका कारण प्रभावित छ। यो बेलामा देशभित्रै उत्पादन गर्नुको विकल्छ छैन। अन्यथा माग अनुसारको आपूर्ती हुन सक्दैन भने अनावश्यक कालोवजारीले प्रश्रय पाउनेछ, जुन कालोबजारी अहिले हुँदै पनि आएको छ। 

यस किसमिको ह्याण्ड स्यानिटाइजर स्प्रिटको सम्मिश्रणबाट बन्ने भएपनि सरकारी निकाय भने नेपालमा रहेका स्पिरिट उत्पादन गर्ने डिस्टीलरी कम्पनीहरुलाई बोलाएर यस बारेमा काम अघी बढाउन लाग्नु पर्नेमा त्यस्तो देखिएको छैन। उद्योग मन्त्रालयको कार्यक्षेत्रमा पर्ने यस काममा उसले अन्य सरकारी निकायहरुलाई पनि द्रुत निर्णय लिन सक्रियता देखाउन जरुरी छ। नीजि क्षेत्रकै एक कम्पनी हिमालयन डिस्टीलरीले ह्याण्ड स्यानिटाइजर उत्पादनका सम्वन्धमा गरेको प्रस्तावमा समेत मन्त्रालयले काम भने अनुसार अघी नबढेको मन्त्रालय स्रोतले बताएको छ। सो कम्पनीले स्वास्थ्य मन्त्रालय र आन्तरिक राजस्व विभागमा पनि यस बारेमा प्रस्ताव गरेको बताइएको छ। ति निकायहबाट पनि उत्पादन स्विकृत दिलाउने सन्दर्भमा छलफल मात्र भएपनि निर्णय प्रक्रियालाई सहजिकरण गर्न ढीलाई भएको बुझिएको छ। 

संसारका चर्चित र उत्कृट कम्पनीहरुले आआफ्नो देशमा संक्रमण बिरुद्धको अभियानमा योगदान दिइरहँदा संकमण प्रतिरोधात्मक बस्तु उत्पादनमा यस्ता कम्पनीहरुलाई प्रोत्साहन दिएर तत्काल काम लगाउन ढीला गर्न नहुने मन्त्रालयकै कतिपय अधिकारीहरु बताउँछन्। प्रस्ताव लिएर आएका कम्पनीहरुलाई काम गर्न स्विकृती दिन ढीलाई भए कर्मचारी र मजदुरहरु पनि कोरोनाकै कारण कामबाट छुट्टीमा जाने अवस्था आउन सक्छ। यो अवस्था हाम्रालागि थप जटील हुनसक्छ। कर्मचारी र कामदार क्वारेन्टाइनमै जाने अवस्था हुँदा पनि अहिले उत्पादन भएको स्यानिटाइजर पछि प्रयोग हुन सक्छ। यसकारण पनि मन्त्रालयले नै अग्रसर भइ तत्काल निर्णय हुनुपर्ने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन्।  

मन्त्रालयमा पेश भएको हिमालयन डिस्टीलरीको प्रस्तावमा उत्पादन गर्दा उपयोग हुने स्थानको अवस्था र मागलाई हेरेर ५ देखि १० लिटरको प्याकमा र आवश्यकता हेरेर १ सय दखि २ सय लिटरसम्मको प्याक वा ड्रममा प्याकेजिङ गरि सहुलियत मूल्यमा आपूर्ती गर्ने उल्लेख गरिएको स्रोतले जानकारी दिएको छ। अहिलेको व्यवस्थाले स्पिरिट उत्पादन गर्ने यस्ता कम्पनीले आफैले उत्पादन गरेको स्पीरीट पनि आफैले स्यानिटाइजर उत्पादनका लागि स्विकृत लिनुपर्ने हुन्छ। उत्पादन स्विकृत उद्योग मन्त्रालयले दिने गर्दछ। उद्योग मन्त्रालयले उत्पादन स्विकृत दिदै गर्दा सोको जानकारी अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागलाई पनि गराउनु पर्छ। उनीहरुको पनि यो निर्णय प्रक्रियामा संलग्न रहन्छन। 

सरकारको एक निर्णयले बजारमा अभाव हुँदै आएको ह्याण्ड सेनिटाइजर नेपाली उपभोक्ताले प्रशस्तै पाउन सक्ने सम्भावना रहेको छ। यो कम्पनी विशेषलाई गुन लगाउने भन्दा पनि आम नागरिकलाई ठूलो गुन हुनेछ। विश्वव्यापी महामारीले राष्ट्रिय विपदको रुप लिइरहँदा अब स्यानिटाइजरको उत्पादनमा भने उद्योग मन्त्रालयले आफै सक्रिय भएर काम गर्छ की मन्त्रालयमा आएका प्रस्तावको फाइलमा धुलो लागेर बस्ने हो त्यो हेर्न बाँकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ