arrow

कोरोना संक्रमित किशोरीसँगै आएका बागलुङका युवक ‘होम क्वारेन्टाइनमा’

१९ वर्षीया किशोरीसँगै फ्रान्सबाट फर्किएका उनीमा हाल कुनै लक्षण छैन

logo
प्रकाशित २०७६ चैत ११ मंगलबार
corona-virus-recovery.jpg

बागलुङ । नेपालमा दोस्रो पटक कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएका किशोरीसँगै आएको बागलुङ ढोरपाटनका युवामा हालसम्म कुनै संक्रमणका लक्षणहरु नदेखिएको पाइएको छ । 

गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरी फर्किएको जहाजमा जिल्लाको ढोरपाटन नगरपालिका–५ का एक युवा फर्किएका थिए । उनी फर्किएर आफ्नै गाउँमा पुगेको थाहा भएपछि मंगलबार ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा मिलन मल्ल सहितको टोली उनकै घरमा पुगेको थियो । 

घरमा पुग्दा उनी आफ्नै घरमा बसेका थिए । जहाजमा सँगै आएपनि उनिमा कोरोना सम्बन्धी कुनै लक्षण नदेखिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा मिलन मल्लले बताए । उनी घरमा आएको एक साता वितिसकेको छ ।

‘हामी  किशोरीसँगै आएका युवाको घरमा नै पुग्यौ,' डा मल्लले भने, 'उनिसँग कुनै लक्षण भएको पाईएन । उनिसँगै सवै कुरा गयौं, उनको आफ्ना दुई घर भएका कारण छुट्टै घरमा बस्नका लागि आग्रह गरेका छौं र कुनै समस्या देखिएमा खबर गर्नु भनेर समेत भनेका छौं । अहिलेसम्मको अवस्था हेर्दा त्यस्तो कुनै शंका गर्नुपर्ने अवस्था छैन ।' उनलाई अझै एक साताका लागि घरमै ‘सेल्फ क्वारेन्टाइनमा’ राखिएको डा मल्लले बताए । युवालाई यदी आउँदो दिनमा कुनै केही लक्षण देखिएमा पुन जिल्लातहको टोली पुगेर थप स्वास्थ्य जाँच गर्ने बताईएको छ ।
  
‘विदेशबाट आएका ती युवा गाउँमै रहेको सुचना आएको थियो । हामी नगरपालिकाबाट डाक्टर सहितको टोली उनको घरमा पुग्यौ नगरप्रमुख नेपालीले भने, उनीसँग सवै कुराकानी भयो, उनलाई अहिलेसम्म ज्वरो आउने, रुघाखोकी लाग्ने कुनै पनि लक्षण देखिएको छैन । उनी एकदमै स्वस्थ्य देखिन्छन। उनलाई हामी ‘होम क्वारेन्टाइनको व्यवस्था गरेर फर्किएका छौं । १४ दिनसम्म उनलाई क्वारेन्टाईनमा राखिएको छ । 

संक्रमित किशोरीको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ । उनीहरु  चैत ४ गते कतारको दोहा ट्रान्जिट हुँदै काठमाडौं आएका थिए । सरकारले युरोप, पश्चिम एसिया र खाडी क्षेत्रका सबै मुलुकबाट सीधा उडान र जुनसुकै मुलुकलाई ट्रान्जिट बनाई आउने सबै यात्रुलाई आगमनमा ७ चैतदेखि प्रतिबन्ध लगाएको   छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ