arrow

गाउँ, नगरपालिकाबाटै सरकारको निर्णय उलंघन : कोरोना त्रासको समय छुट्टाछुट्टै कार्यक्रम

logo
प्रकाशित २०७६ चैत ११ मंगलबार
ghodaghodi.jpg

बौनिया । अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न सरकारले आग्रह गरिरहेका बेला बर्दगोरिया गाउँपालिकाले गाउँपरिषद गरेको छ । कैलालीको बर्दगोरिया गाउँपालिकाले यसअघि पालिकाबाट जारी गरिएको सूचना विपरीत आफैले सोमबार मिनिपरिषद गरेको हो ।

गाउँपालिकाको पाँचौ गाउँसभाबाट विनियोजन गरिएका बजेट योजना कार्यान्वयनको अवस्थाको समिक्षा गर्न गाउँसभा बोलाएको थियो । चालू आर्थिक वर्षमा संचालित बजेट योजनाको संशोधन र बजेट रकमान्तरको विषयमा छलफलका लागि छैटौं गाउँसभा गरिएको छ । वडा नम्बर-१ स्थित वडा कार्यालयमा बोलाइएको गाउँसभामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत, ६ वटै वडाका वडाअध्यक्ष, गाउँपालिका शाखा प्रमुख, कार्यपालिका सदस्य सहित जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको थियो ।

गाउँपरिषदमा गाउँपालिका उपाध्यक्ष भगवतीदेवी डंगौराले विनियोजित बजेट योजना तथा कार्यक्रमको ६० प्रतिशत काम सम्पन्न भैसकेको र ४० प्रतिशत कार्य कार्यान्वयनको चरणमा रहेकोे प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । गाउँपालिका अन्तर्गतका वडाबाट माग भइ आएका तर, गाउँपालिकाको स्रोत र साधनबाट सम्पन्न हुन नसकेका ठूला पूर्वाधार विभिन्न योजना संघीय सरकार, प्रदेश सरकार र तराई मधेस समृद्ध कार्यक्रमसंग माग गरिएको प्रतिवेदनमार्फत जानकारी गराइएको हो । पाँचौ गाउँसभाबाट विनियोजन गरिएको अझै सम्पन्न गर्न नसकिने अथवा योजना संशोधन गर्नुपर्ने भएमा चालूतर्फको योजनाहरुलाई चालूतर्फकै शीर्षकमा रकमान्तर र पुँजीगत योजनाहरुलाई पुँजीगत योजनाहरुमा खर्च गर्नेगरि बाडफाँड गरिएको उपाध्यक्षद्वारा प्रस्तुत गरिएको प्रतिवेदन उल्लेख गरिएको छ ।

नेपाल सरकार, छिमेकी पालिका र अन्य संघसंस्थाहरुले जनतामा कोरोना भाइरसबाट जोगिने उपाय गर्न सतर्कता अभियान गरिरहेका बेला गाउँपालिकाले भने सभा गरेको छ ।
गाउँपालिकाले एकातिर आफैले विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आम नागरिकमा जनचेतनामूलक सूचना र सन्देश प्रवाह गरिरहेको छ भने अर्कोतिर आफैले जनभेला हुने प्रकृतिका काम गरिरहेको भन्दै आलोचना हुन थालेको छ ।

गाउँपालिकाको गाउँसभाको रिपोर्टिङ गर्न त्यहाँ पुगेका पत्रकारलाई गाउँपालिका अध्यक्ष बलिराम डंगौराथारूले प्रवेश निषेध गरिएको र सामान्य कार्यक्रम भएकाले यसबारे केहीपनि नलेख्न मिल्ने बताए । 

संघ, प्रदेश र छिमेकी पालिकाका स्थानीय तहमा सरकारले अत्यावश्यक बाहेक सेवा बन्द गर्न निर्देशन दिइरहेका बेला बर्दगोरिया गाउँपालिकाले मिनिपरिषद गरेको हो । परिषद सकिएलगत्तै बर्दगोरिया गाउँपालिकाले अत्यावश्यक बाहेक सेवा बन्द गरिएको सूचना प्रवाह गरेको छ ।

घोडाघोडी नगरपालिकाबाट समेत उलंघन 
घोडाघोडी नगरपालिकाले निर्णय उलंघन गर्दै कर्णाली चिसापानीमा सोमबार कार्यक्रम गरेको छ । घोडाघोडी नगर कार्यपालिकाको बैठकले सोमबार बिहान कोभिड १९ को संक्रमणबाट सतर्क रहनका लागि कुनै पनि किसिमका सभा, समारोह, सम्मेलन जस्ता मानिस भेला हुने कार्यक्रम नगर्ने नगराउने र चैत्र २१ गते सम्मका लागि नगरपालिका तथा वडा कार्यालयहरुबाट अत्यावश्यक सेवा बाहेका कामकाज बन्द गर्ने निर्णय गरेको थियो ।

कार्यालयमा उक्त निर्णयको सूचना टाँस भएको केही समयमै चिसापानीमा नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी तथा सरोकारवाला स्थानीयहरुको जमघटसंगै केहीले मदिरा सेवन गरिरहेका फोटाहरु एकाएक सामाजिक संजालमा भाईरल बने । नगरपालिकाको यस्तो गतिविधिका बिरुद्ध स्थानीयवासीहरुले सामाजिक संजालमै चर्को आलोचना गरिरहेका छन् । घोडाघोडी पर्यटन बिकास बोर्डले आयोजना गरेको उक्त छलफल कार्यक्रममा करिव ३० जनाको सहभागिता रहेको श्रोतको भनाई छ ।

कोभिड १९ ले संकट निम्त्याई रहेको अवस्थाका बीच पर्यटन बोर्डले गर्नुपर्ने काम, छोट्याउनुपर्ने काम, आगामी योजना तथा नगर सरकारको गर्न सक्ने सहयोगका बिषयमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको पर्यटन बोर्डका उपाध्यक्ष डि आर चौधरीले बताए । सहभागिहरुलाई मदिरा सहितको ब्यवस्था रैछ नी ? भन्ने हाम्रो प्रश्नमा उनले भने त्यसो हैन । खाना र चिसोको ब्यवस्था गरिएको थियो । बाँकी कस्ले के गरे मलाई पनि थाहा छैन । कोभिड १९ को असरले पर्यटन बोर्ड तथा घोडाघोडीको गुरुयोजना निर्माणलाई समेत निकै समस्या पार्ने देखिएपछि योजना परिवर्तन तथा छाँटकाटका लागि भएपनि सोमबारको कार्यक्रम गर्नै पर्ने अवस्था आएको पर्यटन बोर्डको भनाई छ ।

यता, नगर सरकारका प्रवक्ता मनराज शाहीले गैरसरकारी संस्था जुलोजिकल सोसाईटी अफ लण्डन (जेट.एस.एल) ले घोडाघोडीको गुरुयोजना निर्माणका लागि ठूलो सहयोग गरेको र मार्च महिनाभित्रै उस्ले माथिल्लो निकायमा रिपोर्टिङ्ग गर्नुपर्ने भएकाले उस्ले भनेकै समयमा कार्यक्रममा सहभागि हुनुपर्ने अवस्था आएको प्रतिक्रिया दिएका छन् । नगर सरकार कोभिड १९ को संक्रमणको लागि चनाखो बन्नुपर्ने अवस्थामा बेवास्था गरी मनमर्जी रुपमा अघि बढीरहेको भन्दै कोभिड १९ का बिषयमा कुरा मात्रै गर्नु भन्दा काम समेत यथाशिघ्र अघि बढाउन आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ