arrow

सडकपुर बौनियामा स्थानीय सरकारद्वारा कोरोना ‘हेल्प डेस्क’ स्थापना

logo
गोविन्द बीसी, 
प्रकाशित २०७६ चैत १२ बुधबार
corona-nepal-health-desk.jpg

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा स्थानीय सरकारले कोरोना भाइरस (कोभिड–१९) को जाँचका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ । 

मंगलबार साँझ सडकपुर बौनिया चोकमा स्थापना गरिएको ‘हेल्प डेस्क’ मा स्थानीय र विदेशबाट नेपाल आएका नागरिकमा कोरोना भाइरस छ कि छैन भनेर ज्वरो, रुघा र खोकी जाँच गरिनेछ ।

छिमेकी देश भारत नजिक रहेकाले भारतीय नाका भएर दिनहुँ नेपाल प्रवेश गर्ने नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण हुन नदिन सुरक्षा सतर्कता अपनाइएको हो । 
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशीले दुईजना स्वास्थ्यकर्मी रहने गरी ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याइएको जानकारी दिए । सो कार्यमा सुरक्षाकर्मीले समेत आवश्यक सहयोग पुर्याउने छन् ।

‘हेल्प डेस्क’मा विभिन्न मुलुकबाट नेपाल प्रवेश गर्ने नागरिकमा कोरोना भाइरसको संक्रमण भएको शंका भएमा खटिएका स्वास्थ्यकर्मीले चेकजाँच गरि अभिलेख राख्ने गरेको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । 

त्यस्तै, नजिकै रहेको महुन्याल मावि बाँस्कोटीमा क्वारेन्टाइन स्थापना गरि स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था मिलाइने भएको छ । स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण नभएकाले समस्या भएको र सामान्य रूपमा ज्वरो, रुघाखोकी जाँच गर्न सकिने बताइएको छ । 
मंगलबार टीकापुरको खक्रौला नाका भएर भारतबाट नेपाल प्रवेश गरेका १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई बर्दगोरिया गाउँपालिका वडा नम्बर(१ स्थित महुन्याल मावि बाँस्कोटीमा राखिएको जोशीले जानकारी दिए । 
 
गाउँपालिका अध्यक्ष प्रमुख बलिराम डंगौराथारुको नेतृत्वमा ‘हेल्प डेस्क’ र क्वारेन्टाइनको व्यवस्था गरि विशेष निगरानी गरिने जनाइएको छ । ‘हेल्प डेस्क’ सुरुवातका क्रममा गाउँपालिका प्रमुख बलिराम डंगौराथारुले खुल्ला सीमानाका भएकाले भाइरसको संक्रमण बढ्ने हुँदा नाकामा उच्च सतर्कता जरुरी भएको बताए । 

गाउँपालिकाको स्वास्थ्य शाखाले कोरोना भाइरस सम्बन्धि जानकारीमूलक पर्चा, पम्प्लेट समेत वितरण गरिरहेको छ । कोरोना भाइरस कसरी सर्छ, यसका लक्षणहरु के के हुन् र भाइरसबाट कसरी बच्ने ? यस सम्बन्धि स्वास्थ्य सुरक्षामा ध्यानदिने उपायहरु लेखिएको पर्चा, पम्प्लेटमार्फत जानकारी दिन थालिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ