arrow

लकडाउन अटेर गरेर हुँइकिएका नेकपा खजुरा १ का अध्यक्ष सुमन मल्ल दुर्घटनामा

विवादास्पद मल्ल आमासमानकी किरण कोइरालाको आक्रमणका आरोपित पनि

logo
प्रकाशित २०७६ चैत १२ बुधबार
suman-malla-kiran-koirala.jpg

काठमाडौं। कैलालीको अत्तरीयामा मंगलवार राती दुर्घटनामा परि बाँके खजुरा गाउँपालिका वडा नं १को वडा अध्यक्ष सुमन मल्ल घाइते हुँदा खुट्टा भाँचिएको छ। भाँचिएको उनको खुट्टाको बुधवार नेपालगञ्ज मेडिकल कलेजमा शल्यक्रिया भइसकेको छ।

देशैभरी लकडाउन भएका बेला मल्ल कैलाली किन गए अनि उनलाई कुन प्रयोजनका लागि त्यहाँ जाने अनुमति दिइएको थियो भन्ने बारेमा आधिकारीक रुपमा कसैले जानकारी दिएको छैन। तर उनीसँगै कैलाली गएकाहरु समेत अत्तरीयामा दुर्घटनामा पर्दा घाइते भएका छन्।

मल्लसँगै नेपालगञ्ज गएकी रेणु कुमारी चौधरीको पनि नेपालगञ्ज मेडिकल कलेजमै उपचार भएको छ। चौधरी कुन प्रयोजनका लागि मल्लसँग थिइन भन्ने अनुत्तरीत छ।

गिटी बालुवाको कारोवारमा मल्लका व्यापारिक साझेदार पूर्व प्रहरी देव बहादुर बिष्ट पनि सोहि सवारी साधनमा थिए, जुन अत्तरीयामा दुर्घटनामा परेको थियो।

खजुरामा रहेको नेपाल प्रहरीको दंगा गणसम्म मल्ल आफैले चलाएर पुगेका थिए। त्यहाँबाट कैलालीसम्म जानको लागि मल्लसँग नेपाल प्रहरीकै जवान निम बहादुर शाही पनि गएका थिए।

गणबाट गएको चालक समेत दुर्घटनामा घाइते भएपछि उनलाई पनि शुरुमा नेपालगञ्ज मेडिकल कलेजमा राखेर उपचार गरिएकोमा पछि नेपालगञ्जकै प्रहरी अस्पतालमा उपचारका लागि लगिएको थियो।

प्रहरी स्रोतका अनुसार कैलालीबाट फर्किदा पनि स्वयं मल्लले नै चलाएका थिए। लकडाउनका कारण खाली रहेको सडकमा तेज रफ्तारमा सवारी चलाएका कारण उनको दुर्घटना भएको प्रहरीले बताएको छ।  

विवादास्पद छवीका मल्लसँग नेपाल प्रहरीका जवान भेटिएका बारेमा प्रहरीमा चर्चा भएको छ। यस बारेमा खजुरास्थित प्रहरी गणका प्रमुख एसपी माधव श्रेष्ठले व्यक्तिगत चीनजानको साथीभाइको हिसावले गएको हुनसक्ने बताए। घटनापछि यस बारेमा जानकारी पाएकोले थप अनुसन्धान आफूले पनि गरिरहेको श्रेष्ठले भने। उनी कुन प्रयोजनका लागि गएको भन्ने बारेमा मातहतका प्रहरी अधिकारीलाई बुझेर परिस्थितिलाई हेरेर कार्वाही समेत गर्न सकिने उनले बताए।

लकडाउनमा सवारी दुर्घटना भएपछि उनका निकटहरुले खजुरामा क्वारेन्टाइन बनाउनका लागि सामान लिन भएको भनेर मल्लको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। तर नेकपा स्रोतका अनुसार उनी लकडाउनको अनुभव लिन शयरमा निस्केको दावी गरेको छ।

नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालामाथि भएको आक्रमणमा नेकपाबाट खजुरामा निर्वाचित उनै मल्लको संलग्नता रहेको कांग्रेसले बताउँदै आएको छ। त्यस क्रममा कोइरालाको हात भाँचिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ