arrow

पीपीई सेट खरिदका लागि बल्ल बोलपत्र, स्वास्थ्यकर्मी जोखिममै काम गर्न वाध्य

logo
राजु रिमाल,
प्रकाशित २०७६ चैत १३ बिहिबार
corona-virus-medical.jpg

काठमाडौं। संघीय सरकारले कोरोना संक्रमणका विरामीको उपचार तथा रेखदेखमा संलग्न स्वास्थ्यर्मीहरूले प्रयोग गर्ने सुरक्षा सामाग्री (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) पर्याप्त मात्रा प्रदेश र स्थानीय तहमा नपठाउँदा स्वास्थ्यकर्मीहरू जोखिममा परेका छन्।काठमाडौंमा कार्यरत स्वास्थ्यकर्मीहरूले केही हदसम्म पीपीई सेट पाउने भए पनि काठमाडौं बाहिर कार्यरत स्वास्थ्यकर्मीहरूले पीपीई सेट चाहिए जति  पाउन सकेका छैनन।

संघीय सरकारले अहिलेसम्म ६ वटा प्रदेशलाई प्रति प्रदेश ५०/५०को दरले पीपीई तथा ३०/३० हजारको दरले  मास्क पठाएको छ। बाँकि रहेको गण्डकी प्रदेशमा पनि चाँडै पठाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। तर केन्द्रीय सरकारले पठाएको ५० पीपीई  सेट निकै कम भएको प्रदेश सरकारहरुले गुनासो गरेका छन्। संघीय सरकारले स्थानीय तहलाई पीपीई पठाएको छैन। स्थानीय तहले सम्बन्धित प्रदेशबाटै मगाँउनु पर्ने संघीय सरकारको भनाइ छ।  

नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरिले स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने पीपीई सेट पर्याप्त मात्रमा  संघीय सरकारले उपलब्ध नगराउँदा स्वास्थ्यकर्मीहरु जोखिममा परेको गुनासो गरे। खासगरी काठमाडौ बाहिरका ठाउँमा पीपीई प्रयोग नगरेर पनि स्वास्थ्यकर्मीहरुले काम गर्नु परको बाध्यता उनले सुनाए।

पीपीई सेट कोरोना भाइरस संक्रमण भए नभएको परिक्षण तथा एवं घाँटीको र्याल संकलन गर्ने क्रममा  स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) हो। पीपीईभित्र स्वास्थ्यकर्मीले प्रयोग गर्ने गाउन, हेल्मेट, इमर्जेन्सी आइवास, चश्मा, मास्क, पञ्जा, बुट लगायतका सामग्रीहरू पर्छन। कोराना भाइरस सक्रमणका विरामीको उपचार तथा रेखदेखमा  संलग्न डाक्टर,नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुले पनि पीपीई प्रयोग गर्नुपर्छ।

हाल देशभर विभिन्न विभाग, सरकारी अस्पताल, स्वास्थ्य चौकी तथा सरकारको मातहतमा करिब २८ हजार स्वास्थ्यकर्मी कार्यरत छन्। यी सबै स्वास्थ्यकर्मी हाल परिचालित अवस्थामा रहेको  घिमिरिले जानकारी गराए। यसबाहेक नीजि अस्पताल तथा निजी क्षेत्रमा करिब ५० हजार स्वास्थ्यकर्मी कार्यरत छन्। निजी र सरकारी निकायमा कार्यरत स्वास्थ्यकर्मीहरु जोड्दा करिब ७५ हजार स्वास्थ्यकर्मीहरु हाल परिचालित रहेको उनले हाम्राकुरालाई बताए। 

सरकारले खटाएको ठाउँमा ७५ हजार स्वास्थ्यकर्मी परिचालित हुन तयार रहेको उनले बताए । उनले भने, ‘तर हामीलाई पर्याप्त मात्रा पीपीई सेट उपलब्ध गराउनु पर्छ।’

स्वास्थ्य सेवा विभाग स्रोतका अनुसार स्वास्थ्य सुरक्षा सामाग्री (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) केन्द्र सरकारसँग भएको स्टक पनि सिद्धिन थालेको छ। दुई महिना यता एक हजार २सय भन्दा  बढी पीपीई सेट प्रयोगमा आइसकेको छ। थप पीपीई तथा मास्कको माग धेरै ठाउँबाट भइरहेको छ। केन्द्रमा पीपीई सेटको अभाव हुन थाले पछि स्वास्थ्य मन्त्रालयले ३३ हजार पीपीई सेट खरिदको लागि बोलपत्र आब्हान गरेको छ। यसकोलागि लागि मन्त्रालयले अघिल्लो  हप्ता बल्ल बोलपत्र आब्हान गरेको छ।  

थप सेट आएमा ७ वटै प्रदेशमा पठाउने मन्त्रालयको भनाइ छ। तर  विभागका एक कर्मचारीले हाम्राकुरालाई भने,‘पहिले नै पर्याप्त सेट खरिद गरेको भए अहिले यस्तो अभाव हुने थिएन।’ स्वास्थ्य सेवा विभागले २८ हजार सेट खरिदकोलागि २८ करोड रुपैयाँ छुट्टयाएको छ।

स्वास्थ्य सेवा विभागका अर्का एक अधिकारी भन्छन,‘स्वास्थ्यकर्मीहरूलाई नभइ नहुने पीपीई सेटको व्यवस्था गर्न  संघीय सरकारलाई पर्याप्त समय थियो तर पहिले नै यसको व्यवस्थापन गर्न संघीय सरकार चुकेको छ ।’ चीनमा कोरानाको संक्रमण सुरु हुने वित्तिकै नेपालमा पनि यसको सम्भावित जोखिम हेरेर पीपीई सेटको व्यवस्थापन गरेको भए अहिले यस्तो अवस्था नआउने उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ