arrow

कोरोनासँग लड्ने विकल्पका बारे कांग्रेसका एक दर्जन नेताको संयुक्त अपिल, गराए सरकारको ध्यानाकर्षण

logo
प्रकाशित २०७६ चैत २७ बिहिबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं। नेपाली कांग्रेसका एक दर्जन केन्द्रीय सदस्यहरुले सरकारलाई ध्यानाकर्षण गराउँदै अपिल जारी गरेका छन्। कोरोनाको संक्रमणबाट बच्न सरकारको प्रयासमा साथ र समर्थन जनाउँदा जनाउँदै पनि गर्नुपर्ने र प्राथमिकतामा राख्नुपर्ने कतिपय विषयहरु हुन नसकेपछि कांग्रेसका नेताहरुले अपिल निकालेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रका नाममा गरिएको सम्वोधनमा कतिपय कुरा सम्वोधन हुन नसकेको पृष्ठभुमीमा कांग्रेस नेता गगन थापाले बिहिवार प्रधानमन्त्रीलाई प्रश्नको पेटारो तेर्साएका थिए। अपिलमा पनि थापा सहित थप ११ जना कांग्रेसका केन्द्रीय नेताहरुको नाम रहेको छ।

कांग्रेस नेता डा चन्द भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदिप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ, किरण यादवको अपिलमा नेपालले अवलम्बन गर्नु पर्ने केही बिकल्पहरुका बारेमा सरकारको ध्यानाकर्षण गराइएको छ। कांग्रेस नेता भण्डारीले संकटको बेलामा अहोरात्र खटिने प्रहरी स्वास्थ्यकर्मीहरुको पारिश्रमिक कटौती गर्न नहुने, स्वास्थ्य सामग्री खरीदमा अनियमतता र भ्रष्टाचार गर्नेलाई उन्मुक्ती दिन नहुने लगायतका बिषयमा ध्यानाकर्षण गराउँदै अपिल जारी गरेको बताए।  

अपिल 
२०७६ ।१२ ।२७ 
यतिबेला बिश्व कोरोना भाइरस (कोबिड-१९) को जघन्य महामारीबाट आक्रान्त बनेको छ। संसारका लगभग शतप्रतिशत देशहरु यसको प्रकोपमा परेका छन्। यो मानव सभ्यता माथिकै दुर्लभ संकट हो। सरकार भनेको जनताको अभिभावक हो। नेपाल जस्ता विकासशिल राष्ट्रका लागि त यस्ता महामारी गम्भिर चुनौती र खतरा हुन। अहिले हामी यहि संकट झेलिरहेका छौं। कोरोनाले विश्वव्यापी रुप लिएसँगै हामीसँग लकडाउनको बिकल्प थिएन र निकै अघिबाटै देखाइनु पर्ने तदारुकता ढिलै भएपनि अवलम्बन गर्नु सराहनिय कदम थियो। जनतालाई जस्तासुकै संकटबाट पनि जोगाउन र बचाउन सक्ने सामर्थ्य सरकारसँग हुनु पर्दछ। अहिलेको संकटबाट नेपाली जनतालाई बचाउनु र अभिभावकत्व दिनु बर्तमान सरकारको दायित्व हो। लकडाउन मात्र सम्पूर्ण समस्याको समाधान होइन। त्यसैले नेपालले अवलम्बन गर्नु पर्ने केही बिकल्पहरुका बारेमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं। 

१-अहिले सम्म भइरहेको परिक्षणको गति अत्यन्त सुस्त छ। यस्तो गतिमा गरिने परिक्षणले भाइरस संक्रमित ब्यक्तिको तिब्रगतिमा पहिचान हुन सक्दैन। तसर्थ सरकारले परिक्षणको दायरा र गति बढाउनु पर्दछ। यसका लागि परिक्षण केन्द्रहरू अविलम्ब थपिनु पर्दछ। साथै कोरोना भाइरसबाट संक्रमित ब्यक्तिको पहिचानका लागि आबश्यक पर्ने परिक्षणका लागि चाहिने परिक्षण किट, पिपिइ लगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको बन्दोबस्त गरिनुपर्छ, जसका कारण कोरोना नियन्त्रण अभियानमा कुनै पनि कारणले अबरोध उत्पन्न नहोस्। 

२-यस माहामारी कै कारण बिदेशबाट नेपाल आउन चाहने नेपालीहरुलाई सहजै आउनदिने ब्यवस्था मिलाइनु पर्छ।सिमामा आइपुगेका नेपाली दाजुभाई दिदी बहिनीहरुलाई नेपाल प्रवेश गराइ क्वारेन्टाइनमा राखिनुपर्छ। आबश्यक स्वास्थ्य परिक्षणको प्रकृया पुरा भएपछि मात्र घर जाने व्यवस्था मिलाइनु पर्दछ। 

३-विश्वव्यापी कोरोना संक्रमणको महामारीबाट राष्ट्र आक्रान्त बनेको समयमा आफ्नो जीवनलाई उच्च जोखिममा राखेर जनसेवामा अहोरात्र खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतका सम्बन्धित सबै ब्यक्तिहरुको बारेमा सरकार गम्भीर र जिम्मेवार बन्नुपर्दछ। सुरक्षाकर्मीहरुको तलब कटाउने कार्य सर्वथा अनुचित छ। सरकारको यो निर्णयले यस अभियानमा लागेका सुरक्षाकर्मीलाई निरुत्साहित तुल्याएको छ। 

४-स्वास्थ्यकर्मी लगायतका सम्बन्धित सबैको आर्थिक सुरक्षा र प्रोत्साहन स्वरुप बिमा र यथेष्ठ भत्ताको व्यवस्था गरिनुपर्छ। 

५-यस सड्कटको समयमा खर्च कटौति गर्नको लागी सांसद बिकास कोषको रकम कोरोना भाइरस नियन्त्रण कोषमा राखिनु पर्दछ। साथै पुर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षा समेत कटौंति गर्दै जनताको हितमा लगाउनु पर्दछ । 

६ -दैनिक ज्याला मजदुरी गरेर बाँच्ने गरिब नेपालीहरु तथा बृद बृद्दा हरुका लागि यथोचित राहतको व्यवस्था गरिनु पर्दछ। 

७-संसारभर रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाका बारेमा विदेशस्थित नेपाली दूतावास र अन्य कुटनीतिक माध्यमबाट जानकारी हासिल गरि आबस्यक सहयोग गर्नु पर्दछ। 

८-यस महामारीका कारण नेपालीहरुको दैनिक जनजीवन अस्तब्यस्त बन्दै गएको छ।किसान हरुका पशुचौपाया समेत खाद्यान्न को अभावमा परेर मर्ने खतरा बढेको छ। सरकारले यस विषयलाई समेत गम्भिरतापूर्वक लिई उपयुक्त कदम चाल्नु पर्दछ। 

९-इतिहासमा बिरलै आइपर्ने यस्ता महामारी र घनघोर संकटसँग हामी सबै नेपाली एकजुट भएर जुझ्नुको बिकल्प छैन। यस्तो बिपदको बेलामा सरकार चलाउने मुख्य ब्यक्तिले टर्रो र गैरजिम्मेवार अभिव्यक्ति दिनु हुदैन। 

१०-राष्ट्र संकटबाट गुज्रिरहेको यस संवेदनशील घडीमा भष्ट्राचारको कल्पना गर्नु र त्यसमा संलग्न हुनु निम्नकोटीको अपराध हो। यस्ता अपराधीहरुलाई राष्ट्रले माफ गर्न सक्तैन। अहिले कुनै कारणबाट त्यस्ता पात्र र प्रवृत्तिले उन्मुक्ति पाएपनि उचित समयमा उनिहरु दण्डित हुने छन्। हामी नेपालीहरूले आफ्नो देशको मात्र होइन, संकट परेको बेला विश्वलाई नै योगदान दिन सक्छन् भन्ने सन्देश दिदै आफ्नो कुशल नेतृत्व र भूमिका प्रदर्शन गर्न सक्नु पर्दछ। 

नेपाली काग्रेसका केन्द्रिय सदस्यहरु - डा चन्द भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदिप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ, किरण यादव। जय नेपाल ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ