arrow

बन्दाबन्दीमा अनलाइन कक्षा

logo
रासस,
प्रकाशित २०७६ चैत २९ शनिबार
see-elearning-class.jpg

सुर्खेत। लकडाउन (बन्दाबन्दी) लम्बिँदै गएपछि वीरेन्द्रनगरका दुई विद्यालयले अनलाइनबाटै पठनपाठन शुरु गरेका छन्। मङ्गलगढी चोकस्थित सैनिक आवासीय महाविद्यालय र खजुरास्थित चिल्ड्रेन्स प्याराडाइज माध्यमिक विद्यालयले अनलाइन कक्षा शुरु गरेका हुन्। कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउनको नीति अपनाएपछि विद्यार्थीलाई पुनर्ताजगी गराउन अनलाइन कक्षाको शुरुआत गरेको ती विद्यालयले जनाएका छन्। सैनिक आवासीय महाविद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख एवं शिक्षक बेतेन्द्रकुमार दाहालले कक्षा १०, ११ र १२ का विद्यार्थीलाई लक्षित गरेर अनलाइन कक्षा शुरु गरिएको बताए।

“लकडाउन अवधिसम्म विद्यार्थीले पढेको भुल्ने, घरमै बस्दा दिक्क मान्ने समस्या थियो”, उनले भने, “नियमित पढाइदेखि परीक्षाको तयारी गर्नलाई यसले सहज बनाएको छ, विद्यार्थी क्रमशः अनलाइन नेटवर्कमा जोडिँदैछन्।” हालसम्म १०० विद्यार्थी सहभागी अनलाइन कक्षामा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको छ।

विद्यालयले ‘जुम क्लाउड मिटिङ’ एप्स डाउनलोड गरेर अङ्ग्रेजी, विज्ञान, गणित र अनिवार्य नेपाली विषय पढाउन शुरु गरेका छन्। चिल्ड्रेन्स प्याराडाइजका माविका प्रबन्ध सञ्चालक यदुप्रसाद ज्ञवालीका अनुसार एप्स डाउनलोड गरेपछि शिक्षकले नेटवर्कमा आवद्ध हुन विद्यार्थीलाई आइडी नम्बर दिन्छन्। सोही आइडी नम्बरबाट आ–आफ्नो घरमा रहेका शिक्षक-विद्यार्थी अनलाइनमा जोडिन्छन्। शिक्षकले व्याख्यान विधिबाट पढाउने र विद्यार्थीले केही नबुझे हात उठाएर सोध्न सक्छन्।

चिल्ड्रेन्स प्याराडाइजले मङ्गलबारदेखि अनलाइन पठनपाठन शुरु गरेको हो। अनलाइन कक्षाबाट विद्यार्थी सिकाइप्रति उत्साही छन्। “लामो समय स्कूल बन्द हुँदा पट्यार लागिरहेको थियो, घरमै बसेर शिक्षकबाट पढ्न पाउँदा खुशी लागेको छ”, कक्षा ९ मा अध्ययनरत भरत थापाले भने। प्रबन्ध सञ्चालक ज्ञवालीले आफ्ना विद्यार्थीलाई बिहान ९ बजेदेखि ११ बजेसम्म दुई तथा दिउँसो ३ बजेदेखि तीन विषय पढाउने गरिएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ