arrow

उदयपुरमा कोराना संक्रमित भेटिएपछि अनुसन्धान र कन्ट्याक ट्रेसिङ

देशका १५ प्रयोगशालाबाट पिसिआर परीक्षण

logo
प्रकाशित २०७७ वैशाख ७ आइतबार
udayapur-jamati-corona.gif

काठमाडौं । पछिल्लो दिनमा संक्रमितको सङ्ख्या बढिरहँदा सरकारले कोभिड–१९ को परीक्षण दायरालाई बढाउँदै लगेको छ । 

उदयपुरमा कोरोना पोजेटिभ देखिएका १२ भारतीय जमाती र अन्य चार नेपाली सहित १६ जनालाई विराटनगरस्थित कोरोना अस्पतालको आईसोलेसनमा छन् । उदयपुरको केसको अनुसन्धान र कन्ट्याक ट्रेसिङ भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शनिबार गएको टोलीले शङ्कास्पद ६७ जनाको आरटी पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गरिसकेको छ । आइतबार सिसिएमसीमार्फत नेपाली सेनाको हेलिकोप्टरले नमूना सङ्कलनको काम भइरहेको र २५० भन्दा नमूना सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के स्थित मस्जीदमा एक महिना अघि आईपुगेका १२ भारतीय र चार विराटनगरका सहित १६ जनाको आरडीटी परिक्षण गर्दा नेगेटिभ पाईए पनि पिसिआर परिक्षणमा भने १२ जनामा कोरोना पोजेटीभ देखिएको थियो।

आइतबारदेखि भेरी अस्पताल नेपालगञ्जमा पनि पिसिआर विधिबाट परीक्षण शुरु भएको छ । जहाँ आइतबारै आठ नमूना परीक्षणका क्रममा रहेको छ । योसँगै नेपालका विभिन्न स्थानमा गरी जम्मा १५ वटा प्रयोगशालाबाट पिसिआर परीक्षण शुरु गरिएको हो ।

हालसम्म देशका विभिन्न प्रयोगशालामा भएका परीक्षण नतिजाको नमूनाको नतिजा पोजेटिभ आएमा पुनः परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला ल्याइने गरिएकामा अब पूर्वमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिममा भेरी अस्पतालमा अन्य स्थानबाट आउने पिसिआर प्रविधिको परीक्षणको नमूना पोजेटिभ आएमा ती प्रयोगशालामा परीक्षण गरी अन्तिम नतिजा घोषणा गरिनेछ । यसले प्रयोगशालाको दायरालाई फराकिलो बनाएको प्रवक्ता देवकोटाले बताए । 

मन्त्रालयको अद्यावधिक विवरणअनुसार हालसम्म पिसिआर विधिबाट परीक्षण भएका सङ्ख्या आठ हजार ८१ र र्‍यापिड डायग्नोष्टिक किटबाट परीक्षणबाट २१ हजार ४८६ गरी जम्मा २९ हजार ५६७ रहेको छ । गत २४ घण्टामा नयाँ परीक्षण दुई हजार १६८ भएका छन् । थप परीक्षणका लागि किटहरु सबै प्रदेशमा पुगिसकेकाले द्रुत परीक्षण बढ्ने मन्त्रालयले जनाएको छ ।

आइतबारसम्म पाँच हजार १८० व्यक्ति क्वारेन्टाइनमा छन् । आइसोलेशनमा रहेका बिरामी १०३ जना रहेका छन् । आइसोलेशनमा रहेकामध्ये उपत्यकाभित्र ५ र बाहिर ९८ जना छन् । मन्त्रालयमा रहेका दुई कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा दुई हजार २४१  प्राप्त भएकामा सबैको मन्त्रालयबाट सम्बोधन गरिएको जानकारी दिइयो । 

मन्त्रालयको मोबाइल एप्लिगेशन र वेबसाइडमा स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको सङ्ख्या २० हजार ८३४ पुगेको छ । गत २४ घण्टामा मात्रै थप ७०४ जनाले स्वमूल्याङ्कन गरेका थिए । उनीहरुमध्ये गत २४ घण्टामा थप छ सम्भावित संक्रमित जोनमा रहेका र त्यस्तो जोनमा पुग्नेको सङ्ख्या मुलुकभर हालसम्म २६० जना रहेको मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ