arrow

लकडाउनले दुःख पाएकालाई कोहलपुर चौराहामा दिनरात मानवीय सेवा

अलपत्र यात्री भन्छन् – ‘यो सरकारको असली रुप अहिले देख्न पाइयो’ 

logo
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
Untitled-120.jpg

कोहलपुर । कर्णाली र सुदुरपश्चिम प्रदेशको मुख्य प्रवेशद्धारको रुपमा रहेको कोहलपुर चौराहामा अचेल दिनहुँ देखिएको एउटा दृश्यले जो कोहीलाई भावुक बनाउँछ । 

कोरोना भाइरसको संक्रमणलाई लिएर सरकारले गरेको लकडाउनका कारण भोकै राजमार्गमा पैदल यात्रा गरिरहेका सर्बसाधारणका लागि खानपिन मात्र होइन, गाडी चढाएर बर्दिया र सुर्खेतको सिमासम्म पुर्याउने काममा दिनरात निरन्तर खटिरहेका छन् ।  

कोहलपुरस्थित प्रजातान्त्रिक व्यवसायी संघ र नेपाली काँग्रेस कोहलपुर वडा नम्बर ११ इकाइ समितिले दिनरात मानव सेवामा जुटेको हो । 

अलपत्र परेका पैदल यात्रीले खाना खुवाएर सिमासम्म पुर्याउने काम दिनहुँजसो गरिरहेको प्रजातान्त्रिक उद्योग ब्यापार संघका सहसचिव लक्ष्मणराज पौडेल बताउँछन् । 

राप्तीसोनारी गाउँपालिकाले कोहलपुरसम्म पुर्याएका यात्रीलाई खाना खुवाएर मानखोला र बबईसम्म पुर्याउने गरिएको उनले जानकारी दिए । 

अलपत्र ब्यक्तिको उद्धारका लागि कोहलपुर नगरपालिका, प्रहरी, कोहलपुर क्षेत्रमा रहेका बोर्डिङ स्कुल, खानेपानी उपभोक्ता समिति लगायतसँग समन्वय गरिएको उनले बताए ।

‘सरकारले गरेको लकडाउनका कारण देश अहिले ठप्प छ, अरुबेला हामीहरु कोही ब्यापार ब्यवसायमा त कोही राजनीतिमा ब्यस्त हुन्छौं,’ पौडेलले भने ‘सरकारले गर्नुपर्ने दायित्व बिर्सेपछि हामीहरु मानवीय सेवामा जुटेका हौं ।’ 

चारदिनदेखि निरन्तर खाना खुवाउने र गाडीको ब्यवस्था गरेर सिमासम्म पुर्याउने गरिएको उनले बताए । नेपाली कांग्रेस कोहलपुर वडा नम्बर ११ का इकाइ सभापति मोहन चापागाईका अनुसार चार दिनको अबधीमा एक हजार ४ सय ९० जना पैदल यात्रीलाई खाना खुवाएर घरतर्फ पठाइएको छ ।

‘राजमार्गमा जबसम्म पैदल यात्रीको लस्कर रोकिँदैन, तबसम्म हामीले खाना खुवाउने कामलाई निरन्तरता दिन्छौं,’ उनले भने । नेपाली कांग्रेस र प्रजातान्त्रिक उद्योग ब्यापार संघले थालेको मानवीय कार्यको सबैले खुलेर प्रशंसा गरिरहेका छन् । 

राजमार्गका यात्रीको सेवाका लागि आवश्यक सहयोग जुट्दै गएको छ । उक्त अभियानमा सक्रिय भइरहेका तरुण दलका केन्द्रीय प्रतिनिधि एवम् समाजसेवी लुटबहादुर केसीले राजमार्गमा सर्बसाधारण नागरिक भोकै पैदल हिँडिरहेको समाचार आउन थालेपछि मानवीय सेवामा जुटेको बताए ।

‘सरकार गैर जिम्मेवार भएपछि राजमार्गमा पैदल हिड्ने सर्बसाधारण भोकै हिँड्न बाध्य भए, उनीहरुको पीडामा मल्हम लगाउन हामीहरु यो मानवीय सेवामा जुटेका हौं,’ उनले भने । 

पैदल यात्रीलाई खाना खुवाउनुका साथै गाडीको ब्यवस्था गरेर हरेक दिन बाँकेको सिमाक्षेत्रसम्म पुर्याउने गरेको केसीले जानकारी दिए । भोकै हिडेका सर्बसाधारणले खाना खान पाउँदा राहत महसुस गरेका छन् ।

‘यो सरकार हामीजस्ता गरिब, असहाय र मजदुरको लागि बनेकै रहेनछ, महिनौंसम्म लकडाउन गरेर गरिब जनतालाई दुःख दिनुसम्म दियो,  न जनतालाई राहत दियो, न त घरसम्म जान दियो, यो सरकारको असली रुप त अहिले देख्न पाइयो,’ जुम्लाका लालबहादुर रोकायाले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ