arrow

संकटमा परेका पत्रकारलाई प्रेस युनियनको सहयोग, परिचय गोप्य

logo
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
Press-Union.jpg.jpeg.jpeg

भरतपुर । नेपाल प्रेस युनियन चितवनले ३ लाख बराबरको पत्रकार राहत कोष स्थापना गरेको छ। कोरोना महामारीलाई लक्षित गरी युनियनले आन्तरिक कोषबाट रकम व्यवस्थापन गरी राहत कोषमा जम्मा गरेको हो । सोमबार दिउँसो बसेको ‘अनलाइन बैठक’ ले राहत कोष संचालन गर्ने निर्णय गरेको हो। 

युनियन चितवनका अध्यक्ष अनिल ढकालको संयोजकत्वमा कार्यदल गठन गरि आवश्यक परेका पत्रकारहरुलाई सहयोग गरिने छ। अध्यक्ष ढकालको संयोजकत्वमा गठित कार्यदलमा निवर्तमान अध्यक्ष नारायण अधिकारी, केन्द्रीय सदस्य तथा पूर्वअध्यक्ष बसन्त पराजुली रहेका छन् । 

बैठकले पत्रकार सहयोग समिति समेत गठन गरेको छ । कार्यसमिति सदस्य राजु चौधरीको संयोजकत्वमा बनेको समितिमा शुशिल पन्त, हरि पौडेल रहेका छन् । 

कोषाध्यक्ष विप्लव काफ्लेको संयोजकत्वमा गठित राहत कोष अभिवृद्धि समितिमा सचिव प्रस्ताव सुवेदी, सहसचिव आशा खरेल रहेका छन् । 

अध्यक्ष ढकालले कोरोना महामारीका बेला समस्यामा परेका पत्रकारलाई सहयोग गर्न राहत कोष बनाइएको जानकारी दिए । “पत्रकारलाई खान, बस्न केही समस्या भए तत्कालै राहत दिने गरी तयारी गरेका छौँ”, उनले भने, “समस्या छन् भने खबर गर्नु, आवश्यक पहल गरिनेछ ।” 

उनले सहयोग लिने पत्रकारको विवरण गोप्य राखिने भएकाले समस्याबारे जानकारी दिन आग्रह गरे । अध्यक्ष अनिल ढकालले अतिआवश्यक रिर्पोटिङमा मात्र फिल्डमा जान अनुरोध गरे ।

“सकेसम्म प्रविधिको सहयोग लिएर रिर्पोटिङ गरौँ, जानै परेपनि उच्च सावधानी सहित फिल्डमा जाउँ”, ढकालले भने, “मिडिया हाउसले पनि आवश्यक सुरक्षाका सामाग्री उपलब्ध गराइदिने अपेक्षा लिएका छौँ ।” समस्यमा परेका पत्रकारले युनियन चितवनका पदाधिकारीलाई खबर गराउन सक्नेछन् । 

निवर्तमान अध्यक्ष नारायण अधिकारीले पत्रकारलाई समयमै तलब दिन समेत मिडिया हाउस समक्ष आग्रह गरेका छन् । “यो संकटको बेला हो, सकेसम्म तलब दिन विलम्व नगरौँ”, उनले भने, “पत्रकारको सुरक्षामा चासो दिनुपर्छ, आवश्यक सुरक्षा सामाग्री विना फिल्डमा नपठाउँ ।” 

सचिव प्रस्ताव सुवेदीले जिल्लाभित्र समस्यामा परेका पत्रकारको मूल्यांकन गरी आवश्यक सहयोग दिने गरी तथ्यांक लिने काम समेत सुरु भएको बताए । संकटमा परेका पत्रकारलाई सबैखाले सहयोग हुने युनियनले जनाएको छ। 

यसैबीच प्रेस युनियन चितवनले राहत कोषमा आर्थिक सहयोग सहित खाद्यान्न, सुरक्षाका सामग्री लगायतका सहयोगको अपेक्षा गरेको छ । 

अति आवश्यक रिर्पोटिङमा खटिने पत्रकारलाई आवतजावतमा सहज वातावरण बनाउन समेत युनियनले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ