arrow

कोरोना भाइरस: जमातीको भ्रम र यथार्थ

logo
मिकाइल आलम, 
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
mikali-alam.gif

विश्व समुदाय अहिले कोरोना भाइरस (कोभिड १९) का कारण आक्रान्त छ। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म करिब २ लाख व्यक्तिले ज्यान गुमाएका छन् भने लाखौं संक्रमित छन्। संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ । कोरोना संक्रमित भई उपचारपछि करिब छ लाख व्यक्ति पूर्णरूपमा निको हुँदै घर फर्किएका पनि छन् । जुन तपाईं हामीलाई कोरोना महामारीबाट लड्न प्रेरणादिने सकारात्मक खबर हो । 

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले करिब एक महिना यता देशैभर लकडाउन जारी राखेको छ । सरकारले लकडाउन गर्दा जो जहाँ थिए त्यहीँ फसेका छन् । राजधानी काठमाडौसहित देशका विभिन्न क्षेत्रमा रोजिरोटीका लागि काम गर्न गएका मजदुर भोकभोकै सडकमा अलपत्र परेको समाचार हेर्नु र सुन्नु भएकै होला ! कहाँ बस्ने?, के खाने ? कहाँ जाने? घर कसरी जाने? भन्ने प्रश्न उनीहरूको मनमा उब्जिएकै होला नि ? उनीहरूले भोग्नुपरेको समस्याबारे तपाईं हामी कल्पना मात्र गर्न सक्छौ । 

कोरोना भाइरसले विश्वभर निम्त्याएको विपदको दौरान कोरोना संक्रमण र लकडाउनसँग सम्बन्धित मुस्लिम समुदायसँग जोडिएर अनेकौं किसिमका कुराहरु आइरहेका छन् । लकडाउन अगाडि नै मस्जिदहरुमा आएर बसेका केही जमातीमा कोरोना पोजिटिभ पाइएपछि कतिपय कवणबाट सारा मुस्लिम समुदायलाई जोडेर प्रचारबाजी समेत भएको छ। ज्यान र जहाँन सबैलाई प्यारो हुन्छ । यसर्थ कसैले जानीजानी कोरोना फैलाए भनेर भनिनु गलत छ । जमात मुस्लिम समुदायको एउटा मत मात्र हो, सिङ्गो मुस्लिम समुदाय होइन। जमातीहरु धर्म प्रचारक नै होइनन। न त कुनै जमातीले धर्म प्रचार गर्छ न यसले ईस्लाम धर्म अपनाउन गैरमुस्लिमलाई आग्रह नै गर्छ । 

को हुन जमाती ?

ईस्लाम धर्मका आधारभूत विषयहरुका बारे प्रशिक्षित हुन निस्किने एउटा समूहलाई जमात भनिन्छ । यसरी आफ्नो घरपरिवार, कारोबार छाडेर निस्किने जमाती सिक्ने र सिकाउने नियतले हिंड्छन् । यसरी निस्किने जमातीहरुको पनि छुट्टाछुट्टै समूहहरु हुन्छन् । जमातमा पुरुषहरु पाँच किसिमको समूहमा निस्किने गरेपनि नेपालमा धेरैजसो व्यक्ति तीन दिने, ४० दिने र चारमहिने यात्रामा हिड्ने गरेका छन् । ४० दिने यात्रालाई एक चिल्ला भनिन्छ भने चार महिनेलाई तीन चिल्ला । जमातीको आफ्नै एउटा समूह हुन्छ र उक्त समूहलाई नेतृत्व गर्ने एकजना नेतासमेत छनोट गरिएको हुन्छ । यात्राकै क्रममा विभिन्न स्थानमा जादा त्यस्ता जमाती र स्थानीयबीचमा कुनै सम्बन्ध हुँदैन । स्थानीयबाट मस्जिदमा बस्ने अनुमतिमात्र माग्ने गरिन्छ । जमात निस्केका व्यक्ति अधिकांश समय मस्जिदभित्र नमाज र जिक्र सिक्ने सिकाउनेमा व्यस्त रहन्छन् । उनीहरूले आवश्यक भाडाकुडा, स्टोभ र खाद्यान्न साथमै लिएर हिंड्छन् । तर, प्रायःजसो त्यस्ता जमाती व्यक्तिलाई आफै खाना पकाउनु पर्दैन किनकि जुन गाउँमा जादा ति गाउँका व्यक्तिले पालैपालो प्रत्येक दिन उनीहरूको लागि खानपिनको व्यवस्था गरेको पाइन्छ । त्यसरी जमातीको खानपिनको व्यवस्था कुनै व्यक्तिले आफूखुसी गर्ने गर्छन् । 

यसरी निस्किने जमातीहरुले पवित्र ग्रन्थ कुआनमा उल्लेख गरिएअनुसार सहि, सत्य र अहिंसाको मार्गमा जीवन व्यतीत गर्न ईस्लाम धर्मावलम्बीलाई उपदेश दिदै हिंड्छन् । तीन दिनको लागि निस्किने जमातीहरु कुनै एक स्थानमै बसेर फर्किने गरेका छन् भने ४० दिन वा चारमहिने यात्रामा निस्केका जमातीहरु विभिन्न स्थानमा जाने र समय अवधि पुरा गरेरमात्र फर्किने गरेका छन् । 

सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिकाको जाँजरमा गएको फाल्गुन पहिलो साता सम्पन्न तीनदिने इज्तेमा नेपाल, भारत सहित विभिन्न देशका गरी लाखौं मुस्लिम धर्मावलम्बीहरु सहभागी भएका थिए । सोही इज्तेमाबाट सयौंको समूहमा जमातीहरु निस्किए । कोभिड १९ को प्रकोप बढेपछि जमातको नयाँ समूह निस्किएका छैनन् । तर, उक्त इज्तेमा वा लकडाउन हुनुअघिसम्म जमातमा निस्किएका जमातीहरु लकडाउनमा फसेका हुन् । सरकारले लकडाउन गरेपछि जसरी दुई छाक टार्न हिडेका मजदुर फसे त्यसरी नै नेपालका आन्तरिक तथा विदेशी जमातहरु जो जुन मस्जिदमा थियो त्यहीँ फस्यो । यस्ता जमातीहरुका बारे लुकेर बसेका भन्नु, पक्राउ परे भन्नु अशोभनीय भाषा हुन । 

अवज्ञा गर्नेलाई कारबाही गरियोस् 

केही स्थानमा आदेश विपरीत भिडभाड गरेका कारण प्रहरीले बल प्रयोग गरेको पनि पाइएको छ । पटकपटक सम्झाउँदा समेत अटेरी गरेपछि मात्र प्रहरीले बल प्रयोग गरेको हुनुपर्छ । सरकारले लकडाउन किन गर्‍यो ? मस्जिदमा भिडभाड गर्दै नमाज नपढौं किन भनिएको हो? भन्ने कुरा मुस्लिम समुदायसहित सबैले बुझ्नुपर्छ । सरकारले घरबाट ननिस्कन निर्देशन दिएको छ । जसलाई पूर्णरूपमा पालना गरौं । घरमै नमाज पढौं । यदि कुनै जमाती मस्जिदमा फसेको वा भारत अथवा तेस्रो मूलकबाट कोही आएका छन् भन्ने तुरुन्त स्थानीय प्रहरी प्रशासनलाई खबर गरौं । क्वारेन्टाइन पठाउन सहयोग गरौं । यति हुँदाहुँदै पनि यदि कहिँकतै जमाती होस् वा कुनै व्यक्ति जानीजानी लुकाउन खोजिएकै छन् भन्ने त्यस्ता व्यक्तिलाई कारबाही गरियोस् । प्रहरी प्रशासनको आग्रहलाई अवज्ञा गर्नेलाई पहिचान गर्दै कडा कारबाही होस् । कसैलाई रोग लाग्नु अपराध होइन न त पाप नै । त्यसैले कोही कोरोना संक्रमित भएभने कुनै धर्मसँग जोडेर पनि नबुझौं । आपसी सद्भाव र भाइचारा कायम राखौं । कुनै कोम (समुदाय) सँग नभई समाजका भाइरसहरुको पहिचान गरी दण्डित गर्दै सामूहिक रूपमा कोरोनासँग मिलेर लडौं । जात, धर्म, लिङ्ग, धनी, गरिब भन्ने भेदभाव बिना केवल मानव जाति रक्षाको लागि एकजुट हौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ