arrow

भुल्के, कोरोना र घट्दै गएको त्रास

logo
गोपाल पोखरेल,
प्रकाशित २०७७ वैशाख १३ शनिबार
corona-test-udayapur.gif

सुदुरपश्चिम क्षेत्रमा भारतबाट नेपालतर्फ आइरहेका सर्बसाधारणको हुल देख्दा कोरोना भाइरसको महामारी नेपालमा प्रवेश गरे सुदुरपश्चिमबाट प्रवेश गर्ने र, सुदुरपश्चिम क्षेत्रमा यसको संक्रमण सबैभन्दा पहिले देखिने अनुमान प्राय सबैले गरेका थिए । जनघनत्व, विदेशी पर्यटकको रुचीका स्थान र छिमेकी मुलुक भारतसँग जोडिएका सिमा क्षेत्रको विश्लेषण गर्नेहरुले पनि नेपालको प्रदेश नं १ लाई कोरोना भाइरसको कम जोखिम भएको प्रदेशका रुपमा लिने गरेका थिए । यो प्रदेशमा भाइरसको संक्रमण देखिए त्यो भारतसँग जोडिएका झापा,  मोरंग र सुनसरी जिल्लाबाट सुरु हुने अनुमान केहीले गर्ने गर्थे । 

प्रदेश नम्बर २ का सिरहा र सप्तरी जिल्लासँग सिमाना जोडिएपनि लकडाउनपछि एक जिल्लाबाट अर्को जिल्ला आउजाउ हुन नपाएपछि उदयपुरमा भाइरसको संक्रमण तत्काल देखा नपर्ने आशा र अनुमान आम उदयपुरबासीको थियो । तर, यी अनुमान र आशालाई गलत साबित गर्दै उदयपुरको सदरमुकाम गाईघाटबाट करिव ४ किलोमिटर दक्षिणतर्फ रहेको भुल्केस्थित मस्जिदमा बसेका मुस्लिम धार्मिक समूहका १२ जनामा कोरोना संक्रमण पुष्टी भएसगै सिंगो सदरमुकाम गाईघाटका साथै सिंगो उदयपुरबासी स्तब्ध बने ।

भुल्के, त्रियुगा खोला सिमाना भएको सदरमुकाम गाईघाट नजिकै रहेको करिव १ सय ६० घर परिवार बसोबास गर्ने गाउँ हो । यहाँका अधिकांस मानिस खेतिपाती र पशुपालन गर्छन् । सदरमुकाम गाईघाटमा यहाँ उत्पादन भएको तरकारी र दुध नियमित आपूर्ति हुने गर्छ । भुल्केमा मुस्लिम, बाहुन, क्षेत्रीलगाएतका जातजातिको मिश्रित बसोबास छ । नियमित सम्पर्क रहेको भुल्केमा एकै पटक १२ जनामा कोरोना संक्रमण देखिएपछि भुल्केसँगै सदरमुकाम गाईघाटबासी केही रात निदाउन सकेनन् । आसपासका क्षेत्रका सर्वसाधारणले समेत कोरोना संक्रमणको उच्च जोखिममा परेको अनुभव गरे । लकडाउनको कार्यान्वयन, कोरोना संक्रमितको व्यवस्थापन र थप संक्रमितको पहिचान गर्ने काम स्थानीय प्रशासनलाई एकै पटक आइलाग्यो । 

स्थानीय प्रशासनले तत्काल गाँउ सिल गरेर संघिय सरकार, प्रदेश सरकार र नेपाली सेनाको सहयोगमा मस्जिदसँगै रहेका मुस्लिम र अन्य समुदायका स्थानीयको कोरोना परिक्षण गर्ने काम तत्काल अगाडि बढायो । उदयपुरमा हालसम्म ५ सय १४ जनाको स्वाब टेष्ट गरिएकोमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । र, उनीहरुलाई उपचारका लागि धरान लगिएको छ । आजसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । 

परिक्षणका क्रममा भुल्केका अन्य समुदायका सर्वसाधारणमा कोरोना भाइरस नभेटिएपछि सदरमुकामबासीको डर विस्तारै हराउँदै गएको छ । साधन र स्रोतले भ्याएसम्म सरकारले रोग परिक्षण गर्ने काम अगाडि बढाइरहेको छ । प्रदेश सांसद हिमाल कार्की र विमल कार्कीका अनुसार रोग संक्रमणको आशंकामा स्वाब टेष्ट गरिएका सिवाइका ५८, मोथियाहीका २०, मैनामैनीका ५ र २७ जना स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको छ । यो रिपोर्टपछि स्थानीयको त्रास विस्तारै हटेर गएको छ। 

भुल्केलाई सिल गरिएपछि त्यहाँ दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन त्रियुगा नगरपालिकाले राहत बितरण गरेको छ भने त्रियुगा उद्योग बाणिज्य संघले घरमै बसेर रमजान पर्व मनाउन चाहेका उनीहरुलाई आवश्यक पर्ने थप सामग्री आपूर्तिको व्यवस्था मिलाएको छ । प्रदेश सरकारले त्रियुगा नगरपालिका क्षेत्रका १ हजार २ सय ४० परिवारलाई वितरण गर्ने गरी १२ हजार ४ सय केजी चामल, १ हजार ३ सय लिटर तेल, नुन, चाउचाउ, विस्कुट, दाललगाएतका दैनिक उपभोग्य सामग्री शनिवार त्रियुगा नगरपालिकालाई हस्तान्तरण गरेको छ । 

संघीय सरकार प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, नेपाली सेना राजनीतिक दल, संघीय सांसद, प्रदेश सांसद, स्वास्थ्यकर्मीलगाएत सरोकारवाला सबैको ध्यान केन्द्रित गर्ने गरी पहिलो चरणमै संक्रमित फेला परेका कारण सबैको सक्रियतामा उदयपुरमा रोग संक्रमण पहिचानको काम अझै जारी छ । यसले स्थानीयमा डर र त्रास कम गर्नुका साथै रोगसँग लड्ने मनोबल बढाएको छ। र, अझ सतर्क पनि बनाएको छ। 

भुल्केबाट सुरु भएको कोरोना संक्रमण अन्यत्र त पुगेन ? यतिबेला यहाँका सर्वसाधारणको सबै भन्दा बढी चिन्ताको विषय यही भएको छ । तसर्थ अब सरकारले थप कोरोना परीक्षणका लागि सदरमुकाममा अस्थायी परीक्षण केन्द्र स्थापना गर्नुपर्छ । भुल्केसँगै जोडिएका सदरमुकाम गाईघाट, मोतिगढा, जलजले, देउरी, बोक्सेलगाएतका सम्भावित कोरोना संक्रमित स्थानहरुमा तत्काल कोरोना परीक्षणको काम अगाडि बढाउनु पर्छ । र, यी क्षेत्रका कम्तिमा १ हजार सर्वसाधारणको स्वाब परीक्षण गरेर सरकार आफु पनि ढुक्क हुनुपर्छ । अन्यथा भुसको आगो सल्किए झैं महामारी सल्किए नियन्त्रण गर्न कठिन हुन्छ । 

लामो लकडाउनमा रहेका त्रियुगाका साथै उदयपुरका अन्य स्थानीय निकायमा रहेका अति बिपन्न परिवारलाई केन्द्रीय तहबाटै राहतको व्यवस्था मिलाउनु आवश्यक छ । कोरोनाले विश्वव्यापीरुपमा मानिसहरुलाई पिरोलिरहेको अबस्थालाई आम सर्वसाधारणले बुझ्न आवश्यक छ । यो अबस्थामा तपाइँ हामीले आफुले आफुलाई सुरक्षित राख्नुपर्छ । मनोवल उच्च बनाउनु पर्छ । अत्यावश्यक काम बाहेक अन्य समयमा घर भित्रै बस्नुपर्छ ।
(पोखरेल उदयपुरका पत्रकार हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ