arrow

लालीगुराँस गोल्ड कपकाे उपाधि काठमाडौँलाई

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
laliguras-gold-cup.jpg.jpeg
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुरमा भएको दोश्रो लालीगुराँस गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि काठमाडौँका दोर्जे गियर प्रालिले चुमेको छ । बिराटनगरको यातायात मजदुर युवा क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै दोर्जेले यो संस्करणको गोल्ड कप जित्नुका साथै एक लाख ११ हजार रुपैयाँ हात पारेको छ । हारसँगै उपविजेता बनेको बिराटनगरले नगद ५५ हजार ५ सय रुपैयामा चित्त बुझाएको छ । उपाधिकालागि भएको फाइनल निकै प्रतिष्पर्धात्मक र आक्रामक थियो । 
 
खेलको ६०औँ मिनेटमा दोर्जेका गणेश खड्का र मजदुर क्लबका सन्जय राई एक साथ रातो कार्ड पाएर बाहिरिएपछि खेलको माहोल बदलियो । अन्ततः दोर्जेकालागि खेलको ६३औँ मिनेटमा जर्सीं ८ राजु पौडेलले गरेको गोल नै निर्णायक बन्यो । प्रतियोगितामा दोर्जे गियर प्रालि काठमाडौँका मुस्सा बल्लभ प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । 
 
दोर्जेकै राज नगरकोटी बेस्ट किपर र विदेशी खेलाडी मार्टिन बेस्ट मिडफिल्डर घोषित भए ।  प्रतियोगिता अवधिभर सर्वाधिक गोल कर्ताको रुपमा सिंहदेवी युवा क्लब धनकुटाका कर्ण लिम्बु र बेस्ट डिफेन्डरको रुपमा दोर्जे गियर प्रालिका सुसन लामा पुरस्कृत भए । प्रतियोगितामा इमान्दार खेलाडीको रुपमा यातायात मजदुर युवा क्लब विराटनगरका राजन लिम्बु पुरस्कृत भएका छन् । 
 
गुराँस पर्यटनको प्रवर्धनकालागि २०५६ सालबाट राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समितिको संयोजनमा सुरु भएको प्रतियोगितालाई स्थानीय पाथीभरा युवा सामुदायिक क्लबले यो वर्षबाट निरन्तरता दिएको हो । पुर्वी पहाडी जिल्ला तेह्रथुमकै सर्वाधिक राशीको प्रतियोगितामा काठमाडौँसहित पुर्वान्चलका आठ टिम सहभागी थिए । विजयी टिम तथा खेलाडीलाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुरस्कार विरतण गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ