arrow

सांसद ‘अपहरण’ को उजुरी प्रहरीले नलिएपनि जसपासँग दुई विकल्प अझै बाँकी

ओलीतन्त्रमा राज्यको अपराधिकरण भएको बाबुरामको आरोप

logo
प्रकाशित २०७७ वैशाख १४ आइतबार
janata-samajwadi-party.jpg

काठमाडौं। दुई घण्टाको प्रयासमा पनि प्रहरी परिसर टेकुले आरोपित अपहरणकारीहरुको बिरुद्धमा उजुरी लिन नमानेपछि जनता समाजवादी पार्टी (जसपा) का नेताहरुले आफूहरुसँगै बाँकी रहेका दुई विकल्पहरु उपयोग गर्दै उजुरीको प्रयास गर्ने बताएका छन्। 

अपहरणमा परेका भनिएका डा सुरेन्द्र यादव सहितका नेताहरु सहित पुगेका जसपाका नेता डा बाबुराम भट्टराईले आफूहरू जाहेरी लिएर राज्यका अन्य निकायमा जाने बताएका छन्। उनले भने, ‘धेरै तर्कवितर्कभन्दा पनि सम्बन्धित निकायमा हामी जान्छौं।’ 

प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जसपाका शीर्ष नेताहरूसँग छलफल गरे पनिर जाहेरी लिन नमानेपछि वाहिरिएका नेताहरु रुष्ट देखिन्थे।

‘सांसद अपहरण गरेको यो घटना सरकारवादी मुद्दा बन्नुपर्ने हो। कुनै जाहेरी नलिइकन पनि राज्यले नै मुद्दा अघि बढाउनुपर्ने हो,’ भट्टराईले संवाददाताहरुसँग भने, ‘उहाँले जाहरी ठाडै अस्वीकार गर्नुभयो। हामी प्रहरीलाई दोषारोपण गर्न चाहँदैनौं। उहाँका बाध्यता छन्। माथिको आदेश छ। देशमा ओलीतन्त्र छ यसले मूल्य मान्यता, विधिविधान, कानुन सबै लत्याएको छ। राज्यको अपराधिकरण गरेको छ।’

भट्टराईले प्रधानमन्त्री आफैं अपहरणजस्ता काण्डमा मुछिएका कारण पनि सम्पूर्ण कर्मचारी, प्रहरी र प्रशासनलाई पनि आतंकित पारेर उजुरी लिन भनिएको बताए। 

३ वजे परिसर पुगेका नेताहरु अपरान्ह पाँच बजेपछि परिसरबाट बाहिरिदा रहेका भट्टराईले एसएसपी ज्ञवालीले माथिकै आदेशमा जाहेरी ठाडै अस्वीकार गरिदिएको बताए।

जसपाका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओली अपहरणकारीहरुलाई बचाउन लागिपरेको बताए। ओलीले नै उजुरी नलिन भनेपछि प्रहरीले उजुरी नलिएको उनको आरोप थियो। 

परिसरले उजुरी नलिएपछि जसपाका नेताहरू सोमबार सरकारी वकिल कार्यालयमा जाहेरी लिएर जाने तयारीमा छन्। सरकारी वकिलले पनि जाहेरी नलिए अदालत जाने पनि उनीहरूको भनाइ छ।

उजुरी दिन गएका सांसद यादवले कानुन बमोजिम छानबिन गरी दोषीउपर कारबाही गर्नुपर्ने बताए। ‘हामीले दिएको जाहेरी लिन प्रहरीले मानेन,’ उनले भने, ‘जाहेरी लिएर प्रहरीले अनुसन्धान गर्नुपर्छ। दोषीलाई कारबाही गर्नुपर्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ