arrow

क्युबाली राजदूतावासमा गोली प्रहार

logo
एएफपी
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
gunfire.jpg

वासिङ्टन ।  संयुक्तराज्य अमेरिकाको वासिङ्टनस्थित क्युबाली राजदूतावासमा बिहीबार राति एक व्यक्तिले गोली प्रहार गरेका छन् । अमेरिकी अधिकारीहरुले उक्त गोली प्रहारबाट दूतावासमा सामान्य क्षति भएको तर कुनै पनि व्यक्तिलाई चोटपटक नलागेको बताएका छन् ।

प्रहरीले गोली प्रहार गरेको आशंकामा टेक्सास राज्यको अब्रेका ४२ वर्षीय अलेक्जान्डर अलाजोलाई पक्राउ गरेको छ । 

वासिङ्टन महानगरीय प्रहरीका प्रवक्ता ह्युज क्यारिउले एक वक्तव्य जारी गर्दै प्रहरीले तत्कालै उक्त शंकास्पद व्यक्तिलाई गिरफ्तार गर्नुका साथै उनको साथबाट एक थान बन्दुक समेत बरामद गरिएको बताए । 

उक्त गोली प्रहारको मनशाय भने अझै खुल्न बाँकी रहेको छ । 

स्थानीय संचार माध्यमहरुले ती व्यक्तिले दूतावासभित्र करिब ३० राउन्ड गोली प्रहार गरेका थिए । वासिङ्टनस्थित अडाम्स मोर्गनमा रहेको दूतावासको आसपास बार र रेष्टुराँहरु ठूलो संख्यामा रहेका र त्यहाँ मानिसको भिडभाड हुने गर्दछ । तर आजभोलि लकडाउनका कारण यो क्षेत्र सामान्यतया शान्त रहने गरेको छ । 

राजदूतावासले सार्वजनिक गरेका तस्वीरहरुमा गोलीले भवनका बाहिरी भित्ता, झ्यालमा प्वाल परेको देखिएको छ । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले क्युवाको हवानास्थित अमेरिकी कार्यवाहक राजदूत मारा टेकाजलाई विदेश मन्त्रालयमा आमन्त्रण गरेर क्युबाका तर्फबाट गोलीकाण्डको कडा शब्दमा भत्र्सना गरेका छन् । 

कार्यबाहक राजदूत टेकाजले सार्वजनिक गरेको विज्ञप्तिमा वासिङ्टनस्थित क्युबाली दूतावासमा भएको घटनाप्रति कडा शब्दमा निन्दा गरेका छन् । 

सन् २०१७ को अक्टोबरमा ट्रम्प प्रशासनले क्युबाली राजदूतावासमा कार्यरत अमेरिकी कर्मचारीहरुमा सामूहिक गम्भीर स्वास्थ्य समस्या देखिएपछि अमेरिकामा रहेका १५ जना क्युबाली कुटनीतिज्ञहरुलाई देश निकाला गरेको थियो ।

ओबामा प्रशासनले क्युबाप्रति अमेरिकी नीतिमा परिवर्तन गर्न थाले पनि ट्रम्प प्रशासनले क्युबामाथि व्यापार र यात्रामा कडा प्रतिबन्धहरु पुनः लगाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ