arrow

एकै दिन थप १० जना नेपालीमा कोरोना संक्रमण

logo
सिबी अधिकारी,सञ्चिता घिमिरे
प्रकाशित २०७७ वैशाख २१ आइतबार
bhanubhkta.JPG

काठमाडौं । नेपालमा एकै दिन थप १० व्यक्तिमा कोभिड–१९ को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत थप १० जनामा कोभिड–१९ का संक्रमित पुष्टि भएको जनाएको हो । 

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सामा एक र बाँकेको नेपालगञ्जमा नौजनामा कोभिड संक्रमण देखिएको बताए । नेपालगञ्जमा भेटिएका कोभिड संक्रमितमध्ये पाँच पुरुष र चार महिला रहेका छन् । उनीहरुमध्ये सात वर्षदेखि ५८ वर्ष उमेरका छन् । 

पर्साका ३६ वर्षीय पुरुषमा कोभिड संक्रमण देखिएको छ । उनलाई रुपन्देही अस्पतालमा उपचारका लागि लगिएको छ भने बाँकी नौ जनालाई नेपालगञ्जस्थित कोरोना अस्पतालमा ल्याउने क्रममा रहेको प्रवक्ता देवकोटाले बताए ।

योसँगै नेपालमा कोभिड–१९ संक्रमितको सङ्ख्या ६९ पुगेको छ । सङ्क्रितमध्ये हालसम्म १६ जना उपचारपछि स्वस्थ्य भएर घर फर्किसकेका छन् । बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

त्रिसट्ठी  हजारको स्वास्थ्य परीक्षण
सरकारले ६३ हजारभन्दा बढी सम्भावित कोभिड–१९ का संक्रमितको स्वास्थ्य परीक्षण गरेको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पिसिआर र आरडिटीमार्फत हालसम्म ६१ हजार १०२ को स्वास्थ्य परीक्षण गरिएको छ । त्यसमध्ये पिसिआर विधिबाट १३ हजार ४१४ र आरडिटीमार्फत ४९ हजार ६८८ व्यक्तिको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ४६७ को परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार प्रदेश नं १ मा पाँच हजार ४९९, प्रदेश नं २ मा पाँच हजार ७०९, वाग्मती प्रदेशमा आठ हजार ५१५, गण्डकी प्रदेशमा पाँच हजार ८३४, प्रदेश नं ५ मा चार हजार ४९२, कर्णाली प्रदेशमा पाँच हजार ५६७ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७२ आरडिटी परीक्षण गरिएको छ । हाल काठमाडौँमा चार र उपत्यकाबाहिर ७३ गरी ७७ शङ्कास्पद व्यक्तिलाई आइसोलेशनमा राखेर निगरानी भइरहेको छ । 

आज मुलुकभर २१ हजार ९५१ व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश नं ५ मा १० हजार ६६७ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश नं १ मा दुई हजार ६१८, प्रदेश नं २ मा एक हजार ३३७, वाग्मती प्रदेशमा ४४०, गण्डकी प्रदेशमा ६२६, कर्णाली प्रदेशमा तीन हजार ७८ व्यक्ति क्वारेन्टाइनमा रहेका मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।

मन्त्रालयले कल सेन्टरमा एक हजार ११९ कलको सम्बोधन गरिएको जनाएको छ । अहिले स्वमूल्याङ्कन विवरण बुझाउनेको सङ्ख्या २९ हजार ९८४ पुगेको छ । हाल ३२१ जना रेड जोनमा रहेका र उनीहरूलाई ट्रेसिङ गर्ने कार्य जारी रहेको छ । कोभिड नियन्त्रणमा सञ्चारमाध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै मन्त्रालयले आगामी दिनमा पनि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । 

यसैबीच सेभ द चिल्ड्रेन र रोटरी क्लब महाबौद्धले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । ती सामग्री आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । यीमध्ये सेभ द चिल्ड्रेनले पिपिई एक हजार ७४३ र रोटरी क्लबले ५० थान पिपिई हस्तान्तरण गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ